कर्णालीमा पहिलो पटक प्रदेश आयुर्वेदले उत्पादन गर्यो अमलाबाट च्यवनप्राश

सुर्खेत:  प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अमलाबाट कर्णालीमै पहिलो पटक च्यवनप्राश उत्पादन गर्न सुरु गरेको छ ।
अमलाबाट च्यवनप्राश उत्पादन गर्ने योजना एक वर्ष अघिदेखि बनेपनि उत्पादन गर्नका लागि पुसदेखि फागुनसम्मको समयमा अमला परिपक्क हुने भएकोले यो महिनादेखि उत्पादन गर्न थालिएको प्रदेश आयुर्वेद कार्यालयका प्रमुख डाक्टर शंकर रिजालले बताए ।
‘एक वर्ष अघिदेखि अमलाबाट च्यवनप्राश उत्पादन गर्ने योजना थियो, तर पुसदेखि फागुनसम्ममा अमला परिपक्क हुने भएकोले यो महिनाबाट उत्पादन सुरु गरेका छौं,’प्रमुख डाक्टर रिजालले भने, ‘बाहिरी कम्पनीहरुले भने फाइदाका लागि जहिले पनि उत्पादन गर्ने र बिक्री वितरण गर्ने गरेका छन् ।’
ताजा अमला भिटामिन सीको प्रमुख स्रोत भएको र च्यवनप्राश उत्पादनको मुख्य स्रोत नै अमला भएको डाक्टर रिजालको भनाई छ ।
कर्णाली बहुमूल्य जडीबुटीको भण्डार भएपनि औषधि उत्पादनमा भने निकै कमजोर छ । औषधी उत्पादन भने शून्य नै छ । कर्णालीको जडीबुटी चोरी निकासीका माध्यमबाट बाहिर जाने गरेको छ । आयुर्वेद कार्यालयले भने पहिलो पटक जंगलमा खेर गइरहेको अमलालाई प्रयोगमा ल्याई च्यवनप्राश उत्पादन गरेको छ । च्यवनप्राश उत्पादनमा आयुर्वेद कार्यालयका एलएन तिवारी, यादव उपाध्याय लगायतका डाक्टरहरु खटिएका थिए ।
                                      दुई पटक गरी २५० केजी च्यवनप्राश उत्पादन गरिएको प्रमुख रिजालले जानकारी दिए । बाहिरी कम्पनीले उत्पादन गरेको च्यवनप्राशको बजार मूल्य प्रतिकेजी ५ सय रुपैयाँसम्म पर्ने भएपनि आयुर्वेद केन्द्रबाट उत्पादित च्यवनप्राश सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन थालिएको छ ।
अहिले प्रदेश सरकारले उत्पादित च्यवनप्राश बेच्ने अनुमति नदिँदा समस्या परेको प्रमुख डाक्टर रिजालको गुनासो छ । उनका अनुसार यदि बेच्ने अनुमति पाएर व्यावसायिक उत्पादन थालेमा बजारमूल्यभन्दा सस्तोमा आफूहरुले उपलब्ध गराउन सकिनेछ ।
च्यवनप्राश रोगी र निरोगी दुवै व्यक्तिका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्ने एक शक्ति प्रदान औषधि हो ।
डाक्टर रिजालका अनुसार खोकी, दम भएका मान्छेले प्रयोग गरेको खण्डमा यसले शक्ति प्रदान गर्छ । स्मरणशक्ति कम भएका व्यक्तिका लागि पनि यो लाभकारी रहने उनले बताए । प्रदेश सरकारले आयुर्वेद कार्यालयलाई समेत बेवास्ता गर्ने गरेको आयुर्वेद डाक्टर यादव उपाध्यायले बताए ।
‘कर्णालीमा प्रशस्त स्रोत साधन छ, तर त्यसको प्रयोग भइरहेको छैन । सरकारले नै प्रयोग गर्न नीति कार्यक्रम अनुरुप आयुर्वेदलाई प्राथमिकतामा राख्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन,’उनले भने, ‘यहाँका जंगलमा पाइने बहुमूल्य जडीबुटी खेर गइरहेको अवस्था छ ।’
प्रदेश सरकारले आयुर्वेद चिकित्सालाई प्राथमिकतामा नराखेपनि कोरोनापछि आयुर्वेद चिकित्सामा विश्वास गर्नेहरुको संख्या दिनदिनै बढिरहेको आयुर्वेद कार्यालयको  तथ्याङ्कले देखाउँछ ।
वार्षिक रुपमा जडीबुटी संकलन गर्ने र उत्पादन कार्य गर्न सके स्थानीयको आयआर्जन सँगै प्रदेशको राजस्वमा वृद्धि हुने डाक्टर उपाध्यायको भनाई छ ।