नेकपाले किन निष्कासन गर्दैछ पूर्वमुख्यमन्त्री शर्मालाई ?

सुर्खेत: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाही प्रक्रिया अघि बढाएको छ । कर्णाली प्रदेशसभा सदस्य रहेका शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को चुनावी प्रचारमा संलग्न भएको जानकारी केन्द्रीय कार्यालयमा पुगेपछि नेकपाले सांसद पदबाट हटाउँदै पार्टीबाट निष्कासनको प्रक्रिया अघि बढाएको हो ।
नेकपा प्रदेश कमिटीले शर्मा प्रलोपाको चुनावी गतिविधिमा संलग्न रहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो । उक्त सिफारिस अनुरूप गत माघ २२ गते नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मासँग लिखित स्पष्टीकरण मागेका थिए । पूर्वमुख्यमन्त्री शर्मालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिए पनि आइतबार (माघ २५) सम्म जवाफ नआएपछि पार्टीबाटै निष्कासनको कारबाही गर्ने तयारी भएको हो । शर्मालाई ‘पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधिएको थियो । शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिमबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपाका एक केन्द्रीय सदस्यले शर्मा चुनावमा प्रलोपाको प्रचारप्रसारमा हिँडेकाले शर्मालाई कारबाहीको तयारी भएको बताए ।
‘कारबाहीका लागि पहिले नै स्पष्टीकरण सोधिएको थियो । यता, प्रदेश कमिटीबाट पनि कारबाहीको सिफारिस भएर आएको थियो,’ति केन्द्रीय सदस्यले भने, ‘अब कारबाही गर्न मात्र बाँकी छ । एक दुई दिनमै हुन्छ ।’
रुकुमपश्चिम (२) बाट निर्वाचित शर्मा ०७९ पुस १३ गते तत्कालीन माओवादी केन्द्रबाट सर्वसम्वत कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा चुनिएका थिए । शर्मा एकीकृत समाजवादीसहित १० घटकसँगको एकता सम्मेलनमा पनि सहभागी भएका थिएनन् । उनी पार्टी एकताको विपक्षमा उभिएका थिए । रुकुमपश्चिमका जनार्दशन शर्माले नेकपाबाट अलग भएर प्रलोपा पार्टी खोलेपछि राजकुमार जनार्दनतिर लागेको थिए । त्यसलगत्तै सम्पर्कविहिन भएका उनलाई पार्टीले आन्तरिक रुपमा स्पष्टिकरण सोधेको थियो । उनीमाथि पार्टीले दबाव दिन थालेपछि शर्माले ०८२ मंसिर १७ गते संसदीय दलको नेताबाट राजीनामा दिए । पछि झण्डै डेढ महिनादेखि संसदीय दलको नेतृत्व रिक्त थियो ।
त्यसपछि ०८२ माघ ३ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भए ।
माघ ३ गते बसेको संसदीय दलको बैठकले मुगु १ (२) बाट निर्वाचित शाहीलाई दलको नेता चयन गर्याे । संसदीय दलको बैठकमा ध्वनि मतका आधारमा बहुमत सदस्यले समर्थन गरेपछि शाही प्रदेशसभा संसदीय दलको नेतामा चयन भए ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १३ सांसद छन् । शर्मासहित १४ जना सांसद थिए । शर्मा ०७९ पुस २७ गते तत्कालिन एमाले, माओवादी, समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यस बेला एमाले र माओबादीबिच केन्द्रमा गठबन्धन थियो । शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सदस्यले समर्थन गरेका थियो । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको थियो । पछि एमाले–माओवादी गठबन्धन टुटेपछि काँग्रेस–एमालेको गठबन्धन बनेपछि एमाले संसदीय दलका नेता यामलाल कँडेल काँग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।