मृगौला रोगसँग लड्दै जनताको सेवा गरिरहेका वडा अध्यक्ष !


बुवा छविलाल सिजापति र आमा लाटीदेबी सिजापतीको कोखबाट २०३९ साल पुस २६ गते पञ्चपुरी नगरपालिका – ६ मा जन्मिएका नरबहादुर सिजापती नेपाली सेनाबाट अवकाश लिएपछि उनले आफ्नो बाँकी जीवन समाज सेवामा लगाए । सिजापती एकदमै कमजोर माओवादी पकड भएको वडाबाट निर्वाचित भएका जनप्रतिनिधी हुन् । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका जम्मा १५० को हाराहारीमा मात्रै मतदाता थिए । उनी २०७९ सालमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट पञ्चपुरी नगरपालिकाको वडा नम्बर ६ को उम्मेदवार बनेर ४७४ मतले विजयी भए । उनको पूरै नगरपालिकामा नेपाली काँग्रेसको बहुमत भएको ठाउँमा उनी एक्ला नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् । आज उनी नियमित रूपमा हप्ताको दुई पटक डायलासिस गरिरहेका छन् । मृगौलाको पीडाले थलिएका उनी जनताको सेवामा होमिएका छन् । उनै सिजापतिसँग अंगराज परियारले गरेको कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल सामान्य बित्यो । म मध्यम वर्गीय परिवारमा हुर्किएको हुँ । हाम्रो परिवार धनी त थिएन, तर माया, अनुशासन र इमान्दारीको धनी थियो । बुबा गाउँको हेल्थ पोस्टमा स्वास्थ्य स्वयंसेवकका रूपमा अस्थायी काम गर्नुहुन्थ्यो । हामी तीन दाजुभाई मध्ये म माइलो हुँ । म कक्षा १ देखि १० सम्म मैले विद्याज्योती माध्यमिक विद्यालय बाबियाचौरमै पढें ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
सानैदेखि मलाई फौंजीमा लाग्ने रहर थियो । नौ–दश कक्षामा पढ्दा नै नेपाली सेनामा जागिर खानुपर्ने भन्ने सोच मनमा बलियो बनिसकेको थियो । एसएलसी दिएपछि म वीरेन्द्रनगरमा आएँ । शिक्षा क्याम्पसमा प्लस टु पढें । दुई वर्षसम्म प्लसटुमा आर्मी बन्ने ग्याप भयो । मेरो पढाइ सकिएपछि नेपाली सेनाको तयारीमा लागेँ । २०६९ साल साउन ३० गते मेरो नेपाली सेनामा नाम पनि निस्कियो । आर्मी बन्ने चाहना पनि पुरा भयो ।
आर्मी बन्ने रहर कि बाध्यता ?
साँच्चै भन्ने हो भने पहिलो कुरा त मेरो आर्मी बन्ने ठुलो रहर थियो । बाध्यता होइन । म अरु क्षेत्रमा नभएर नेपाली सेनामै जागिर खान चाहन्थेँ । मलाइ फौजी बन्न, राष्ट्रिय पोशाकमा टल्किन, देशको सेवा गरेर जागिर खान मेरो बचपनको चाहना थियो । यसमा मलाई कुनै पछुतो छैन । सायद त्यो बेलाको पल्टनमा म सबैभन्दा बढी अध्ययन गर्ने मान्छे म होला । म नेपाली सेनामा रहँदा नर्सिङ सम्बन्धी तालिम लिएर मेडिकल काममा समेत अनुभव हासिल गरेको छु । सेनाको पल्टन चेंज भएसँगै मलाई थप अफिसरको साथमा तालिम दिन र तालिम सञ्चालनको जिम्मा पनि पाएँ । बाँचुन्जेल समाजको लागि केही गर्नुपर्छ भन्ने भावना त्यहीँबाट पलायो । २०७५ को रिटायर्ड पछि समाजसेवामा लागें ।
समाजसेवामा लाग्नुको उद्देश्य के हो ?
समाजसेवामा लाग्ने उद्देश्य भन्दा पनि सेनाबाट अवकाश पाएपछि घरमै बसेर आराम गर्ने सोच कहिल्यै आएन । अवकाशपछि समाजमा केही गरौं भनेर म समाजसेवामा लागेँ । जागिर खाँदै गर्दा पनि वडामा कोही बिरामी परेका मान्छेहरूलाई अस्पताल पु¥याउने कसैलाई सल्लाह दिँदै हौसला दिने र बुढापाकाको कुरा शान्त भएर सुन्ने भएकाले म सबैको प्रिय पात्र भएँ । अनि जति सकिन्छ त्यती नै सहयोग गर्थें । सेना हुन्जेलसम्म देशको सेवा गरेँ अबको बाँकी उमेर समाजसेवामा समय बिताउने योजना बनाएँ ।
समाजसेवी भएर काम गर्न गाह्रो कि सजिलो ?
सजिलो त बिलकुलै छैन । समाजसेवा भन्ने शब्द मिठो लाग्छ, तर काम गर्न गाह्रो नै हुन्छ । सबैलाई खुशी पार्न सकिँदैन । अफ्ठ्यारो परेको बेला सहयोग गर्न खोजिन्छ कहिलेकाहीँ भनेको जस्तो काम गर्न सकिदैन काम गर्दा कठिनाइ पनि सहनुपर्छ । कसैले धन्य छ तपाईंको गुन कहिल्यै बिर्सने छैन भनेर हौसला संगै धन्यवाद दिँदा त्यो सानो खुशीले सबै गाह्रो कुरा बिर्सिन्छ । त्यसैले म भन्छु समाजसेवा सजिलो होइन, तर आत्मसन्तुष्टि चाहिने मान्छेका लागि यो नै असली बाटो हो ।

राजनीतिमा कसरी लाग्नुभयो ?
आर्मीमा जागिर खाँदै गर्दा पुःन अध्ययन गर्ने रहर लाग्यो । म बर्दियाको गुलरियामा श्री सिद्धबाबा गणमा कार्यरत रहँदा नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसमा आइए र बिए गरें । लाइब्रेरीमा राखेका किताबहरु सबै पढेर भ्याउँथे । त्यो अध्यननले सामाजिक राजनीतिक अध्ययन र चासोले पोख्त भैसकेको थिएँ । २०७५ साल कार्तिक २० गते नेपाली सेनाबाट अवकाश पाएपछि सामाजिक कार्यमा म निरन्तर सक्रिय भएर लागें । मैले राजनीति भन्दा पहिला समाज हेरेँ । जनताको मन जितेर काम गरें । समाजका केही नयाँ पुस्तालाई गाइड गरिराखेको थिएँ । यसरी नीति बनाउन सक्ने ठाउँमा पुगुलाजस्तो लागेको थिएन । समाजमा मैंले राम्रो काम गरेको हुनाले राम्रो प्रभाव परेको थियो । तपाईंजस्तो राम्रो मान्छे वडाको बिकासको लागि राजनीतिमा आउनुपर्छ भनेर जनताले बढी हौसला दिएपछि म राजनीतिमा आएको हुँ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ६ को मा नेकपा माओवादी केन्द्रका जम्मा १५० को हाराहारीमा मात्रै मतदाता थिए । खासमा भन्ने हो भने मेरो वडा माओवादी पकड एकदम कमजोर हो । तर पनि म माओवादीबाटै उम्मेदवार बनेर ४७४ मतले विजयी भए । पूरै नगरपालिकामा माओवादीले जितेको एउटै वडामा म मात्रै निर्वाचित जनप्रतिनिधी हुँ ।

निर्वाचन जित्ने आधार के थियो ?
निर्वाचन जित्ने आधार भनेको म नेपाली सेनामा जागिर खाँदा मेरो घरबिदा भएको बेला म सबैलाई भेटघाट गर्ने मेरो इमान्दार त्यो बेलादेखि समाजमा राम्रै प्रभाव परेको रहेछ । त्यो कुरा त मान्छेले मुल्याङकन गर्ने हुन् । अवकाशपछि म समाजमा केही गरौं भनेर लागेको सिपाही हुँ । त्यसकारण म समाजसेवामा निरन्तर लागेँ । अरुले निर्वाचनमा धेरै खर्च गरे । मैंले दारुपाटीका लागि मैंले खर्च गरिनँ पनि मलाई त्यस्तो हिसाबले बुझ्दैथे । म औपचारिक रूपमा निर्णय गर्ने कुर्सीमा नहुँदा पनि, जनताको भरोसाको केन्द्र बनेको थिएँ । वडामा समस्या हुँदा पनि सबैभन्दा पहिले नरबहादुरलाई नै सम्झिन्थे । मेरो पार्टीको मतभन्दा जनताको भरोसा ठुलो हो । जनातको लागि राम्रो काम गर्ने हो जनता जर्नादन हुन् । मलाई जनताले चुनाव जिताएर पठाईदिए । मैले जित्नु भनेको माओवादीले जित्नु मात्रै होइन, समाजले अनुशासन, त्याग र इमान जितेको हो भन्ने लाग्छ ।
निर्वाचन जितेपछी वडामा के गर्नुभयो ?
मैंले यो गरें त्यो गरें भनेर फूर्ति गर्नुभन्दा पनि वडामा आएको बजेटलाई म एउटा पैसासम्म पनि खेर नजाने गरी सदुपयोग गरेको छु । हामीसँग सधैं धेरै स्रोत छैन तर जिम्मेवारी भने ठूलो छ । मेरा वडाबासीहरुलाई कसरी आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम र बजेट छुट्याएको छु । वडाका जनताहरु बिरामी भएर टाढा अस्पताल जान नसक्नेहरूको लागि उपचार खर्च जुटाइदिने र ठुलो रकमका लागि सिफारिस र सहयोग जुटाउने काममा आफैं दौडधूप गरेर गरिरहेको छु । म विगतमा आर्मी थिएँ, आज समाजसेवक हुँ । भोलि के हुने थाहा छैन । मेरो स्वास्थ्य अवस्था दिनदिनै नाजुक बन्दै गएको छ । डायलासिस गराउन हप्तामा दुईपटक अस्पताल धाउनु पर्छ । शरीर कमजोर छ । औषधी र अस्पतालको खर्च महँगो छ । मेरो शरीर कमजोर भए पनि सबै वडा बासीले हौसला दिनुभएको छ । मलाई साथ दिने जनताहरूका लागि म भरोसाको ऋणी छु ।
मृगौला रोगसँग लडिरहनु भएको छ जनताको काम गर्न गाह्रो हुन्न ?
मान्छेको प्राणी हो गाह्रो किन नहोला र ? म तीन बर्षदेखि मृगौला रोगसँग लडिरहेको छु । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने अवस्था छ । तर यस्तो कठिनाईमा पनि मेरो जनप्रतिनिधिको जिम्मेवारी रोकेको छैन । म आफू बिरामी छु, तर अरूको पीडामा म झन् नजिक हुन चाहन्छु । हुनत समस्या मलाई पनि छ पीडा मलाई पनि छ । तर म अरूको आँसु पुछ्नका लागि मनले मान्दैन । किनकी म यही समाजसेवाबाट राजनीतिमा आएको सिपाही हुँ । तर कहिलेकाहीँ स्वास्थ्य बिग्रँदै जाँदा दुःख लाग्छ । अब धेरै गर्न सक्दिन कि जस्तो लाग्छ । म अहिले आराम गरिरहेको छु । जनताहरुलाई वडा कार्यालय बाट हुने कामहरु रोकिन दिएको छैन । घरमै बोलाएर भएपनी जनाताका आधारभुत समस्याहरु सकेजतीको सहयोग गरिराछु । मेरो एउटै वाचा के छ भने म बाचुन्जेल समाज र वडाका जनताका लागि सकेसम्म राम्रो काम गर्छु । मेरो सेवा पनि यही हो । मेरो धर्म पनि यही हो ।
भावी योजना के छ ?
अबको भावी योजना भनेको स्वास्थ्य जति सकिन्छ सम्हाल्नै पर्यो । अनि बाँकी जीवन जनताको सेवामा समर्पित गर्ने हो । म अहिले मृगौला रोगसँग लडिरहेको छु । तर यो अवस्थाले मेरो हिम्मत कम भएको छैन । अबको बाँकी जीवनलाई अझ अर्थपूर्ण बनाउन सकिन्छ या सकिदैन त्यो मलाई थाहा छैन ? तर मेरो सोचमा हाम्रो वडाको मुहार फेरिएको हेर्न पाउनु मेरो सपना ठुृलो सपना छ । यसका लागि वडालाई अझ व्यवस्थित बनाउने, युवाहरूलाई आत्मनिर्भर बनाउने र विकासका अधुरा कामहरू पूरा गर्ने योजनमा छु ।