कर्णाली संवाद क्लबको केन्द्रीय कार्यसमिति गठन, अध्यक्षमा दीपक रावल चयन

सुर्खेत: पत्रकारिताको विकास, सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण तथा सामाजिक रूपान्तरणलाई प्राथमिकता दिने उद्देश्यसहित कर्णाली संवाद क्लबको केन्द्रीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा दीपक रावल चयन भएका छन्।

क्लबको वरिष्ठ उपाध्यक्षमा गोविन्द बिक, उपाध्यक्षमा मन्जु रिजाल, महासचिवमा जित बहादुर तिरुवा, सचिवमा सञ्जीव कुमार बि.सी. र कोषाध्यक्षमा सुशिला कार्की चयन भएका छन्।

त्यस्तै, केन्द्रीय कार्यसमिति सदस्यहरूमा प्रज्वल चुनारा, दिलसरा बुढाक्षेत्री, सरोधा कुमारी शाही, शुशिल कार्की र पूर्ण बहादुर वली रहेका छन्।

कर्णाली क्षेत्रमा पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने, निष्पक्ष तथा जिम्मेवार पत्रकारितालाई प्रोत्साहन गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउन सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्य क्लबले लिएको छ।

नवगठित कार्यसमितिले पत्रकारहरूको व्यावसायिक क्षमता विकास, सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण, पत्रकारिताको मर्यादा र आचारसंहिताको पालना तथा सामाजिक उत्तरदायित्वका विषयमा काम गर्ने अपेक्षा गरिएको छ।

कर्णाली संवाद क्लबले आगामी दिनमा पत्रकारिता क्षेत्रको संस्थागत विकास, जनसरोकारका मुद्दाको उठान र समाज रूपान्तरणका लागि रचनात्मक भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ।