ग्यास अभावको हल्लाले उपभोक्ताले थुपारे सिलिन्डर, बजारमा कृत्रिम संकट!

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का टीकाराम सारु आइतबार खाना पकाउने ग्यास लिन नजिकैको बिक्रेता पसल पुगे। खाना पकाउँदै गर्दा ग्यास सकिएपछि सिलिन्डर साट्न उनी पसलमा पुगेका थिए। तर, नियमित रूपमा सिलिन्डर साट्ने पसलमै ग्यास नपाएपछि उनी दिनभर लाइन बसेर भेरी ग्यासको डिलरबाट बेलुका मात्रै सिलिन्डर लिएर घर फर्किन बाध्य भए।

सारु मात्र होइन, पछिल्ला केही दिनयता वीरेन्द्रनगरका आधिकारिक ग्यास बिक्रेता डिलरहरूमा उपभोक्ताको बाक्लो भिड देखिन थालेको छ। कर्णालीका अन्य जिल्लामा पनि ग्यास बिक्रेताकहाँ उपभोक्ताको भीड बढेको छ। यसको मुख्य कारण मध्यपूर्वमा चर्किएको युद्ध र त्यसबाट इन्धन आपूर्तिमा असर पर्न सक्ने आशंका हो।
मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति हुने स्ट्रेट अफ होर्मुज क्षेत्रमा असुरक्षा बढेपछि विश्वव्यापी आपूर्ति शृंखलामा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। यसैबीच नेपालमा पनि सम्भावित समस्या मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिन्डरमा बिक्री गर्ने व्यवस्था लागू गरिएको छ।
यद्यपि, हाल नेपालमा इन्धन आपूर्तिमा प्रत्यक्ष समस्या भने देखिएको छैन। तर, वीरेन्द्रनगरमा सम्भावित अभावको हल्ला फैलिएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेका कारण बजारमा कृत्रिम अभाव देखिएको हो।
वीरेन्द्रनगरमा दैनिक करिब १ हजार २ सय सिलिन्डर खाना पकाउने ग्यास खपत हुने गरेको छ। तर, नेपाल आयल निगमले आधा सिलिन्डर वितरण सुरु गरेपछि शुक्रबार मात्रै २ हजार ६७ वटा सिलिन्डर वितरण भएको तथ्यांक छ।
स्थानीय ग्यास बिक्रेताहरूका अनुसार सम्भावित अभावको आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राख्न थालेपछि बजारमा ग्यास छिट्टै सकिन थालेको हो। पहिले दैनिक सीमित संख्यामा बिक्री हुने सिलिन्डर अहिले केही घण्टामै सकिने गरेको उनीहरू बताउँछन्।
नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपक घिमिरेले बजारमा ग्यास अभाव भएको भन्ने हल्ला निराधार भएको बताए। उनका अनुसार नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको इन्डियन आयल कर्पोरेसनबाट नियमित रूपमा आपूर्ति भइरहेकाले उपभोक्तालाई हल्लाको पछि नलाग्न आग्रह गरिएको छ।
उनका अनुसार कर्णालीमा मनकामना, राप्ती, भेरी, रेडियन्ट र नेपाल ग्यास कर्णालीमार्फत नियमित रूपमा खाना पकाउने ग्यास आपूर्ति भइरहेको छ।
घिमिरेका अनुसार भेरी ग्यासका उपभोक्ता अन्य कम्पनीको तुलनामा बढी छन्। सम्भावित अभावको हल्लाबीच सम्पन्न व्यक्ति तथा व्यावसायिक घराना, विशेषगरी होटलहरूले एकभन्दा बढी सिलिन्डर खरिद गरेर भण्डारण गर्न थालेपछि विपन्न वर्ग र विद्यार्थीहरू समस्यामा परेका छन्।
उनले आइतबारदेखि वीरेन्द्रनगरमा आधा सिलिन्डर ग्यास वितरणलाई निरन्तरता दिइने भएकाले समस्या क्रमशः समाधान हुने बताए। साथै, सम्भावित संकटका बेला विद्युतीय चुल्होको प्रयोग बढाउन पनि उनले आग्रह गरे।
घिमिरेले भने, ‘एलपी ग्यासको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको छ र आगामी दिनमा पनि जारी रहनेछ। तर, मध्यपूर्वको तनावले विश्व बजारमा असर पार्न सक्ने भएकाले आवश्यक परिमाणमा मात्र इन्धन तथा ग्यास खरिद गरौँ, अनावश्यक भण्डारण नगरौँ।’
यसैबीच नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले पनि इन्धनको आयात नियमित रूपमा भइरहेकाले तत्काल अभावको अवस्था नरहेको बताए। उनका अनुसार भारतमा आयात सन्तुलन बिग्रिएको अवस्थामा मात्रै समस्या देखिन सक्छ।
पौडेलले भने, ‘इन्धन अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डार गर्न खोजेकाले बजारमा अभाव देखिएको हुन सक्छ।’

कृत्रिम अभाव सिर्जना गरे कारबाही

जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्रशासनले जारी गरेको सूचनामा बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) तथा इन्धन सहज रूपमा उपलब्ध गराउन सबैलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गरिएको छ।
साथै, अनावश्यक रूपमा सिलिन्डर होल्ड गर्ने, बढी मूल्य लिएर ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गर्ने वा नयाँ सिलिन्डरको कालोबजारी गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।