
जाजरकोट: किशोरीहरूको नेतृत्वमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–४ मा सिफ्ट अभियान सफलतापूर्वक सञ्चालन गरिएको छ। सेभ द चिल्ड्रेनको सहकार्य, पाँचतारा युवा संरक्षक मञ्च तथा सुशासन प्रवर्द्धनका लागि युवा YGGP संस्थाको आयोजनामा किशोरी समूहको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
उक्त अभियानको मुख्य उद्देश्य किशोरीहरूलाई सशक्त बनाउँदै समुदायमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सचेतना अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा किशोरीहरूले स्वास्थ्यसम्बन्धी चेतनामूलक गीत, देउडा नृत्य तथा कम उमेरमा विवाह गर्दा हुने जोखिम र असरसम्बन्धी नाटक प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले सहभागीहरूलाई गहिरो सन्देश दिनुका साथै समुदायमा सकारात्मक सोच विकास गर्न मद्दत पुगेको छ।
कार्यक्रममा छेडागाड नगरपालिकाका उपमेयर चन्द्र बहादुर थापाले महिला तथा किशोरीहरूको सशक्तीकरणका लागि नगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमहरूको जानकारी दिए। साथै, आगामी दिनहरूमा पनि किशोरीहरूले नेतृत्व गर्ने यस्ता अभियानहरूमा आवश्यक साथ र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमबारे थप जानकारी सुशासन प्रवर्द्धनका लागि युवा YGGP का परियोजना संयोजक सुवास गिरीले दिए। उहाँले यस्ता अभियानहरूले किशोरीहरूमा नेतृत्व विकासका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यस अभियानले स्थानीय तहमा किशोरीहरूको सक्रिय सहभागिता बढाउनुका साथै सामाजिक रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

खुलानजर । ७ बैशाख २०८३, सोमबार १०:३२