मानव अधिकार संरक्षणमा सामूहिक पहल आवश्यक: आयोग


सुर्खेत: राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतले आयोगको २६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुधबार आयोजित कार्यक्रममा वक्ताहरूले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्य, नागरिक समाज तथा सरोकारवाला निकायबीच सामूहिक पहल आवश्यक रहेको बताएका छन्। उनीहरूले आयोगले हालसम्म गरेका कामकारबाहीको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले मानव अधिकारको संरक्षण लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै आयोगले नागरिकका अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।
कार्यक्रममा कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्री, प्रदेश सभा सचिव डा। अर्जुन बहादुर खड्का, ऊर्जा विकास मन्त्रालयका सचिव डा• योगेन्द्र मिश्र, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव चेतनकुमार तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख ठाकुरप्रसाद पोखरेल, नेपाल कानून व्यवसायी परिषद् कर्णाली प्रदेशका पार्षद् मातृकाप्रसाद खनाल, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकाल तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष घनश्याम केसीलगायतले आयोगको भूमिका प्रभावकारी बनाउन सुझाव दिएका थिए। कार्यक्रममा आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापा ले चालु आर्थिक वर्षमा कार्यालयले गरेका गतिविधि तथा उपलब्धिबारे जानकारी गराएका थिए। विभिन्न मन्त्रालय, सरकारी कार्यालय, पेसागत संघसंस्था, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार निकाय, कानुन व्यवसायी, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रमको स्वागत मानव अधिकार अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले गरेका थिए।