नजिककालाई जागिर दिन क्याम्पस प्रमुख एकोहोरो लागिरहेको आरोप


सुर्खेत : सुर्खेत बहुमुखी क्याम्पस प्रशासनले एकलौटी निर्णय गरेको आरोप लागेको छ । क्याम्पस प्रशासनले व्यवस्थापन संकायमा करारमा प्राध्यापक भर्ना गर्न लागेको र शिक्षा शिास्त्र संकायका आंशिक प्राध्यापकहरुलाई वेवास्ता गरेको भन्दै क्यामपस प्रशासनले गरेको कार्यप्रति प्राध्यापक संघ, क्याम्पस कर्मचारी संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले यस्तो आरोप लगाएका हुन् ।
गत जेठ ३१ गते उनीहरुले एक ध्यानाकर्षण पत्र क्याम्पस प्रशासनलाई बुझाएका छन् । उक्त पत्रमा भनिएको छ, ‘सुर्खेत बहुमुखी क्याम्पसल सु्र्खेतमा मिति २०८१।२।३१ गतेको क्याम्पस कार्यसमिति बैठकले व्यवस्थापन संकायमा आंशिक प्राध्यापकलाई करार गर्ने भनि गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त मितिको कार्यसमिति बैठकले व्यवस्थापन संकायमा आंशिक प्राध्यापकलाई करार गर्ने भनि गरेको निर्णय क्याम्पस प्रशासनको एकलौटी निर्णय भएकाले उक्त निर्णयलाई यथासिघ्र रद्द गरी छलफल, सहमति र सहकार्यको नयाँ शिराबाट विभिन्न समयमा क्याम्पस प्रशासनले पेशागत संघ संगठनका मागहरु पूरा गर्नुपर्दछ ।’
आफना नजिककालाई मात्र जागिर दिनका लागि क्याम्पस प्रमुख एकोहोरो लागिरहेको आंशिक प्राध्यापकहरुको आरोप छ । शिक्षा संकायमा झण्डै १६ वर्षदेखि सेवा गरेकाहरुलाई चासो नदिनु क्याम्पस प्रमुखको गैरजिम्मेवारीपना भएको उनीहरुले बताएका छन् । क्याम्पस प्रमुखको पदावधि सकिदै गर्दा आफ्ना नजिकका मान्छेलाई जागिर दिन क्याम्पस प्रमुखले यस्तो गरेको आंशिक प्राध्यापक संघका अध्यक्ष कृष्ण रास्कोटीले बताए । केही समय अगाडि उक्त क्याम्पसमा आर्थिक हिनामीना भएको भन्दै ठूलै लफाडा भएको थियो भने अहिले आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । आंशिक प्राध्यापकहरुले तलब नपाएको भने एक वर्ष भइसकेको छ । क्याम्पस प्रमुख माधव प्रसाद खनालको पदावधि यही असार २३ गते सकिदैछ ।