गुर्भाकोटमा कांग्रेस प्रवेशको जनलहर, आजै थप २५ जनाले गरे पार्टी प्रवेश

गुर्भाकोट, २१ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गुर्भाकोट नगरपालिकामा कांग्रेसतर्फ जनलहर बढेको छ । आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर पाटीले आफ्ना गतिविधि सञ्चालन गर्दै गर्दा उनिहरु कांग्रेसतर्फ आकर्षित भएका हुन् ।

बुधवार मात्र नगरपालिकाको वडा नम्वर १० का माओवादी परित्याग गरि २५ जना काँग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको उम्मेदवार र उनिहरुको एजेण्डाप्रति आकर्षित हुँदै आफुहरु अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको काँग्रेसका नगर सचिव रुपक पौडेलले जानकारी दिए । ‘प्रत्येक दिन वडामा हुने चुनावी कार्यक्रममा अन्य पार्टीबाट परित्याग गरि काँग्रेसमा आउनेको लर्काे छ’ पौडेलले भने, ‘काँग्रेसले गरेका विकास निर्माण र नगरमा सञ्चालन गरेका कार्यक्रमका कारण काँग्रेसमा सबैको आर्कषण बढेको छ ।’

गएको सोमबार गुर्भाकोट–११ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष र सदस्यसहित ६० जना कांग्रेसमा प्रवेश गरेका थिए । चुनावी सरगर्मी बढेसँगै हालसम्म गुर्भाकोटमा एमाले र माओवादीका पाँच सय बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । ‘गुणस्तरिय शिक्षा, सर्वसुलभ उपचार, गुर्भाकोट नगरमा फेरि पनि काँग्रेसको सरकार’ भन्ने नारासहित गुर्भाकोटमा कांग्रेस स्थानीय चुनावमा होमिएको छ ।

गुर्भाकोट नगरपालिकाको नगरप्रमुखमा हस्त पुनः र उपप्रमुखमा मैना विक उम्मेदवार रहेका छन् । अधुरा रहेका विकास निर्माणका योजनाहरु पुरा गर्नुका साथै समृद्ध नगरपालिका निर्माण गर्ने योजना सहित काँग्रेसका उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई अगाडी बढाएका छन् ।

त्यसैगरी , नगरपालिकालाई आर्थिक र सामाजिक रुपमा विकास गर्ने, आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा उपलब्ध गराउने, स्वरोजगार नीतिमा जोड दिने लगायतका प्रतिवद्धता जनाएका छन् । आफ्ना घोषणापत्रको साथमा नगरका सबै वडाहरुमा घरदैलो कार्यक्रममा उम्मेदवारहरु पुगेका छन् ।