नागरिक सहभागिता र सामाजिक जवाफदेहिता सम्बन्धी निर्देशिकामा छलफल

दैलेख: नागरिक सहभागिता र सामाजिक जवाफदेहिता सम्बन्धी निर्देशिका २०८३ मस्यौदा माथी छलफल कार्यक्रम दुल्लु नगरपालिका दैलेखमा सम्पन्न भएको छ । युरोपियन युनियन र युएन ओमेनको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको शसक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत प्रो पब्लिक अगुवाई र निडस नेपाल र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको सहकार्यमा आयोजनामा भएको सो छलफल कार्यक्रम दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजालको अध्यक्षता र उपमेयर विना कार्की, निमित्य प्रमुख प्रशाकीय अधिकृत तिलक परियार, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र विभागीय प्रमुख गरी २२ जनाको सहभागिता रहेको थियो ।
लैगिंक समानता, समाजिक न्याय, निर्णय प्रकिया, योजना तर्जुमा, बजेट विनियोजनमा नागरिक विशेष महिला पछाडि पारिएको वर्ग दलित, जनजाती र अपांगता भएका व्यक्तिहरुको नीतिगत तहमा पहुँच तथा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो मस्यौदा माथि गहन रुपमा छलफल गरिएको थियो । शुसासन विज्ञ प्रणव भट्टराईले नागरिक सहभागिता र सामाजिक जवाफदेहिता सम्बन्धी निर्देशिका २०८३ मस्यौदामा समेटेका प्रमुख प्रावधानहरुको वारेमा संक्षेपमा प्रस्तुतीकरण गरेका थिए। निर्देशिकालाई हरेक तहमा नागरिक विशेष गरेर महिला तथा पछाडि पारिएको वर्गको सहभागिता कानुनी रुपमा अगाडी बढाउन कोषे ढुंगा हुने कुरामा जोड दिँदै पालिकाबाट पारित भएपछि दुल्लुबासीको सम्पति हुने बताए।
कार्यक्रममा नगर प्रमुख भरत रिजालले नगरपालिको अनुरोधमा सो मस्यौदा निर्माण भएको हुनाले प्रो पब्लिक र वाईजीजीपी सुर्खेत, युन ओमेनलाई धन्यावाद दिँदै यस्ता विशेषज्ञता भएका सस्था र व्यक्तिलाई दुल्लु नगरपालिकाले सम्मान गर्ने बताउँदै आगामी कार्यपालिका बैठकबाट संशोधनसहित पारित गरेर १५ दिन भित्रमा राजपत्रमा प्रकाशित गर्ने प्रतिवद्धता व्यक्त गरे । दुल्लु नगरपालिकाका श्रोत व्यक्ति रमेशप्रसाद उपाध्यायले सहजीकरण गरेको कार्यक्रममा प्रो पब्लिकका टिम लिडर पोष्ट केसीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै जनमुखी नीति र विधि अनुसार स्थानीय सरकार संचालन हुने सके जनप्रतिनीधि र कर्मचारीको छविमा सुधार र स्थानीयहरुको पनि हरेक विकास निर्माण स्वामित्व र अपनत्व हुदै समावेशी तथा लैगिंकमैत्री शासन व्यवस्थालाई सवलीकरण गर्ने कुरा बताए ।