सुर्खेत: कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस २०८३ लाई सम्बोधन गर्दै मन्त्री मल्लले यस्तो बताएका हुन् । उनले बदलिँदो समयअनुसार शिक्षण सिकाइको पद्धति परिवर्तन गर्दै विद्यार्थीलाई ज्ञानसँगै सीप र उद्यमशीलतामा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
‘शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम बन्नु हुँदैन,’ मन्त्री मल्लले भने, ‘विद्यार्थीले विद्यालयबाट प्राप्त गरेको ज्ञान र सीपलाई आफ्नो जीवन, समाज र उत्पादनसँग जोड्न सक्ने वातावरण निर्माण गर्नुपर्छ ।’
उनले प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधार, विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको बताए । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न स्थानीय तह, विद्यालय र अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयको व्यवस्थापनसँगै शिक्षक, अभिभावक र विद्यार्थीको भूमिकासमेत महत्वपूर्ण हुने बताइन् । उनले नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउँदै विद्यालयको आवश्यकता र विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् ।
नगर प्रमुख ढकालले विद्यार्थीको रुचि र क्षमताअनुसार शिक्षा दिन नसकिएसम्म शैक्षिक उपलब्धिमा अपेक्षित सुधार ल्याउन कठिन हुने बताइन्। ‘विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति, सिकाइको वातावरण र शिक्षकको जिम्मेवारीलाई सँगसँगै प्रभावकारी बनाउनुपर्छ,’ उनले भनिन् ।
वीरेन्द्रनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र शर्माले शिक्षा दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी विद्यालयको सिकाइ उपलब्धि र शैक्षिक सुधारको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । उनले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न शिक्षकको क्षमता विकास, नियमित अनुगमन तथा विद्यालय र अभिभावकबीचको समन्वय आवश्यक रहेको बताए ।
नगर शिक्षा समितिका सदस्य गंगाराम तिमिल्सेनाले विद्यालय सञ्चालनसँग सम्बन्धित व्यावहारिक समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माणमा नगरपालिकाले महत्वपुर्ण काम गरेको बताए ।
निजी तथा संस्थागत विद्यालयका प्रतिनिधिहरुले शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी विद्यालयबीच सहकार्य आवश्यक रहेको बताउँदै निजी विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई राज्यले समेत संस्थागत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
दिवसका अवसरमा एसईई र कक्षा १२ मा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी, शिक्षक, विद्यालय र पत्रकारहरुलाई पुरस्कारसहित सम्मान गरिएको छ ।
शिक्षाका विषयमा निरन्तर कलम चलाउँदै आएका ७ जना क्रियाशील पत्रकारलाई समेत सम्मान गरिएको छ। जस अनुसार केशव ढकाल, ललित बुढा, बिष्नुप्रसाद न्यौपाने, दिपकजंग शाही, जगतदल जनाला वि.क., तृप्ती शाही, चाँदनी कठायतलाई शिक्षा क्षेत्रका गतिविधि, समस्या, उपलब्धि तथा सुधारका विषयलाई सञ्चार माध्यममार्फत सार्वजनिक बहसमा ल्याउन योगदान पुर्याएको भन्दै नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षक, विद्यार्थी, विद्यालय तथा पत्रकारलाई सम्मान गर्दै आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी शिक्षाका लागि निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।
राष्ट्रिय शिक्षा दिवस हरेक वर्ष शिक्षा क्षेत्रमा भएका उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे समीक्षा गर्ने अवसरका रूपमा मनाइँदै आएको छ ।

खुलानजर । २ आश्विन २०८३, शुक्रबार १९:१८