मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन : नेविसंघ र अखिल क्रान्तिकारीबिच तालमेल, कसले मार्ला बाजी ?


सुर्खेत: राजनीति पहलिो खुट्किला मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिएसँगै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पनि रौनक बढेको छ । विद्यार्थीको चुनाव भए पनि राजनीतिक दलका नेताहरुले समेत स्ववियु निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइ विषेश महत्वका साथ हेरेका छन् ।
पार्टीका शिर्ष नेताहरुको ‘इन्ट्रेष्ट’ मा विद्यार्थी संगठनभित्र उम्मेदवार चयन समेत भइसकेको छ । आइतबार ९ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकोमा नेविसंघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ । चैत ३ गते हुने गइरहेको स्ववियु निर्वाचनमा अध्यक्ष र सचिव पदमा तालमेल भएको अखिल क्रान्तिकारीका नेता एवं स्ववियु निर्वाचन परिचालन कमिटीका कर्णाली प्रदेश इन्चार्ज अमरजंग शाहीले जानकारी दिए । केन्द्रको निर्देशन अनुसार विश्वविद्यालयमा बिहिबार दुई संगठनबिच तालमेल गरिएको शाहीले बताए । तालमेलपछि अखिल क्रान्तिकारीले सभापतिको र नेविसंघले सचिवको उम्मेदवारी फिर्ता लिएको छ । सभापतिमा क्रान्तिकारीले नेविसंघका उम्मेदवारलाई र नेविसंघले क्रान्तिकारीका सचिवलाई सघाउनेछ ।
अध्यक्षमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट ममता अधिकारीले, नेविसंघबाट रोशन बस्नेतले उम्मेदवारी दिएकोमा तालमेलपछि अधिकारीले उम्मेदवारी फिर्ता लिएर बस्नेतलाई समर्थन गरेकी छन् ।
अन्य विद्यार्थी संगठनहरु भने एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । स्ववियुको अध्यक्ष र सचिवमा ८÷८ जनाको उम्मेदवारी रहेको छ । कोषाध्यक्षमा ६ र सदस्यमा ३० जनाको उम्मेदवारी रहेको छ ।
यस्तै अनेरास्ववियुका प्रकाश रिजाल, एकीकृत समाजवादी निकट अनेरास्ववियूका मिलन विसी सभापतिका लागि चुनावी मैदानमा छन् ।
त्यस्तै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनबाट योगेश कुमार शाही उम्मेदवार छन् भने चार जनाले स्वतन्त्र उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारमा पारस सिंह, भूपेन्द्र बम, महेन्द्रकुमार थापा र महेश धिताल छन् ।
अहिले राष्ट्रिय राजनीतिमा भएको गठबन्धन अनुसार अखिल क्रान्तिकारी र नेविसंघले निर्वाचनमा तालमेल गरेको बताएका छन् ।
पहिला नै संगठनहरुबीच गठबन्धन गरेर जाने विषयमा छलफल नभएका कारण सबैले आ–आफ्नो संगठनबाट उम्मेदवारी दिएपनि केन्द्रमा भएको पछिल्लो सहमति अनुसार नेविसंघसँग तालमेल मिलेको हो ।
‘पहिला देशको राजनीतिक परिस्थिति अनुसार त्यस्तो केही छलफल हुन पाएन, बिहिबार मात्रै केन्द्रीय नेतृत्वको सहमति अनुसार नेविसंघसँग तालमेलको सहमति भयो,’शाहीले भने ,
नेविसंघ र अखिल क्रान्तिकारीले तालमेल गरेपनि आफुहरुले निर्वाचन जित्ने दावी अन्य संगठनहरुले पनि गरेका छन् । स्ववियु निर्वाचनमा कसले बाजी मार्छ भन्ने कुराको परिणाम चैत ३ ले नै देखाउनेछ ।
४ हजार २९ जना मतदाता रहेको विश्वविद्यालयमा ६ वटा संघ संगठनले समानुपातिक सूची समेत पेस गरेको विश्वविद्यालयका निर्वाचन अधिकृत वेदप्रकाश ढकालले जानकारी दिए । मध्यपश्चिम विश्वविद्यालयमा दोस्रो पटक स्ववियु निर्वाचन हुन लागेको हो । यस विद्यालय अन्तर्गत्का १० वटा आंगिक क्याम्पसमा समेत स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनबाट विद्यार्थी नेताहरुले उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् ।