मन्त्री पोखरेलको सचिवालयले भन्यो –‘सरकारी सम्पति तोडफोड गर्न कसैलाई छुट छैन’

सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क पोखरेल सवार गाडी र मोटरसाईकल ठोक्किएको विषयलाई सचिवालयले स्पष्ट पारेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत कर्मचारी सुरेन्द्र पुनले चलाएको कर्णाली प्रदेश ०१००२०४९ प ६२८२ नम्बरको मोटरसाइकल र मन्त्री पोखरेल सवार कर्णाली प्रदेश–०२, ००१ झ ०००१ नम्बरको स्कारपियो गाडी शनिबार ठोक्किएको थियो । सल्यानको बनगाड कुपिण्डेदह-१ देवस्थानमा सिम्ता गाउँपालिकादेखि वीरेन्द्रनगर आउँदै गरेको मन्त्री पोखरेलको गाडीमा नेपालगञ्जदेखि जाजरकोट जाँदै गरेको मोटारसाइकल ठोक्किदा मन्त्रीको गाडीको अगाडी पट्टीको भाग टुटफुट भएको थियो । स्थानीय प्रहरीको रोहवरमा गाडी मर्मत गर्ने सहमति भएको थियो । यी दुबै सवारी साधन सरकारी हुन् ।
सोही अनुसार मोटरसाइकल चालक पुनले गाडी मर्मतको लागि मन्त्रीका चालक छत्र बान्तोलाको खातामा हाल्दा नगएपछि मन्त्री पोखरेलका स्वकीय सचिव सञ्जय पोखरेलको खातामा १५ हजार रुपैयाँ पठाइएको थियो । सोही बाफत लागेको खर्चको विवरण समेत सचिवालयले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै सरकारी सम्पत्तिको तोडफोड गर्न कसैलाई छुट नभएको उल्लेख गरेको छ । उता कर्मचारी पुनले गाडी ठोक्निुमा आफ्नो गल्ती भएपनि सरकारी खर्चबाटै मर्मतको व्यवस्था मिलाउनुको साटो आफुलाई रुपैयाँ तिराइएको भन्दै गुनासो गरे ।

यस्तो छ स्वकीय सचिव सञ्जय  पोखरेलको स्टाटस :

सरकारी सम्पति ताेडफाेड गर्न कसैलाई छुटकरा छैन् !
नियाेजित तरिकाले सामाजिक सञ्जालमा कसैकाे मानमर्दन गर्न लेखिएका समाचार प्रति स्पष्ट पार्न चाहान्छु । जाजरकोटको बारेकोट गाउँपालिकाको नाममा रहेको मोटरसाइकल व्यक्तिगत रूपमा रातो नम्बर प्लेट राखि शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत कर्मचारी सुरेन्द्र पुनलाई पनि छानविन गर्न सम्बन्धित निकायलाई जानकारी गर्दछु ।
नियोजित तरिकाले सामाजिक सञ्जालमा कसैको मानमर्दन गर्न लेखिएका समाचारप्रति स्पस्ट पार्न चाहान्छु ।
माननीय सामाजिक विकास मन्त्री चढेको गाडी वीरेन्द्रनगर सुर्खेत फर्कने क्रममा बनगाड कुपन्डे नगरपालिका–१ देवस्थल नजिक विपरित दिशाबाट आएको मोटरसाइकल चालक बारेकोट गाउँपालिका–१ कोटेली जाजरकोटका सुरेन्द्र पुनले मोटरसाईकल ‘रङ्ग’ साईड प्रयोग गरी तिब्र गतिका कारण गाडीमा ठोक्किएर गाडीको अगाडिको भाग फुट्न गएको थियो । त्यस पछि मोटरसाइकलको क्षति नभएको र मोटरसाइकलमा चालक सुरेन्द्र पुन र उनीसँग सवार महिलालाई कुनै पनि चोटपटक नलागेको र उनी आफैले केही पनि नभएको बताएपछि कानुन अनुसार प्रकृया अगाडी बढाउनु भनि हामी ट्राफिक प्रहरीको जिम्मा लगाएर अगाडि बढ्न खोज्याैं उनै पुनले अनुरोध गरी हामीलाई ट्राफिकमा नबुझाउनुस् भनेर अनुरोध गरिरहेपछि हामीले दुई वटा चालकले सहमति गर भन्याैं र गाडी चालक छत्रबहादुर बान्तोला र मोटरसाइकल चालक सुरेन्द्र पुन दुबैले चलाएको सवारी साधन सरकारी भएकोले क्षतिको बारेमा छलफल चलाई प्रहरीको रोहवरमा दुबैले लिखितम् समझदारीसहित हस्ताक्षर गरी मोटरसाइकलको गल्ती र दुबै सरकारी गाडी भएकोले गाडी फुटेको जिम्मेवारी चालक पुनले आफैले लिन स्वीकारे ।
१५ हजार मर्मत क्षतिपुर्ति तिर्ने गरी चालक छत्रबहादुर बान्तोलालाई दिने भनियो । बान्तोलाको बैंक खाता बिग्रिएको रहेछ । त्यसपछि मेरोमा हाल्दिन आग्रह गरेपछि मैले मेरो खाता नम्बर दिएको थिएँ । त्यसपछि म लगायत सिंगो रास्ट्रसेवक प्रहरी र मन्त्रीज्यूप्रति लगाएको मिथ्या आरोपप्रति घोर आपत्ति व्यक्त गर्दछु ।
घटना सम्बन्धी हामीसँग कुनै पनि सोधखोज नगरी सुनियोजित, एक पक्षिय तरिकाले मन्त्रीज्यू समेतको मानमर्दन हुनेगरी लेखिएको समाचारप्रति आपत्ति व्यक्त गर्दछु ।
कसैको मानमर्दन गर्नको लागि यस्ता तथ्य र प्रमाणहिन सुनियोजित तरिकाले लेखिने समाचारहरूप्रति हामी सबै सजग रहन अनुरोध गर्दछु ।