
सुर्खेत: सुर्खेतका दुई निर्वाचन क्षेत्रमा नेकपा एमालेले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएको छ । आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ माघमा उम्मेदवारी दर्ता गरेसँगै एमालेले प्रचार–प्रसारलाई तीव्र बनाएको हो । शुक्रबार नेकपा एमाले प्रचार विभाग सुर्खेतद्वारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला निर्वाचन परिचालन कमिटीकाक संयोजक नवराज रावतले उम्मेदवारी दर्तापछि निर्वाचन अभियानअन्तर्गत पार्टीका आन्तरिक भेला तथा बैठकहरू सम्पन्न गरिसकेको बताए । उनका अनुसार जिल्लाका नौ वटै स्थानीय तहअन्तर्गतका पालिका कमिटी, ९९ वडा कमिटी तथा दुई सयभन्दा बढी टोल कमिटीले प्रारम्भिक निर्वाचन परिचालन गतिविधि पूरा गरिसकेका छन् । ती गतिविधिमा पार्टीका १० हजारभन्दा बढी संगठित सदस्य परिचालित भएको उनले बताए ।
भदौ २३ र २४ गतेपछिको राजनीतिक घटनाक्रमले मुलुकमा संवैधानिक संकट र प्रतिनिधिसभा रिक्तताको अवस्था सिर्जना गरेको उल्लेख गर्दै एमालेले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा आवधिक निर्वाचन नै लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख मेरुदण्ड भएको स्पष्ट पारेको छ । एमाले केन्द्र र सुर्खेत जिल्ला कमिटीले केही दिनमै निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । घोषणापत्रअघि नै गाउँ–बस्तीमा पुगेर जनताका आवश्यकता, विकास निर्माण र समृद्धिका सवालहरू संकलन गरिरहेको पार्टीले ती विषयलाई घोषणापत्रमा व्यवस्थित रूपमा समेटिने बताएको छ ।
घोषणापत्रमा जिल्लाका सडक सञ्जालको स्तरोन्नति, विद्युत् विस्तार, सिँचाइ, खानेपानी, स्वास्थ्य र शिक्षा सुधार, कृषि उत्पादन वृद्धि, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, औद्योगिक ग्राम स्थापना तथा ठूला उद्योग सञ्चालनलाई प्राथमिकता दिइने सुर्खेत एमालेले जनाएको छ । विशेषगरी सुर्खेतको पश्चिम क्षेत्रमा दुई ठूला उद्योग स्थापना गर्ने विषयलाई एमालेले मुख्य एजेन्डाका रूपमा अघि सारेको छ । यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै स्टार्टअप व्यवसाय, स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ । प्रदेश राजधानी सुर्खेतलाई व्यवस्थित, सुरक्षित र आधुनिक सहरको रूपमा योजनाबद्ध विकास गर्ने लक्ष्य पनि घोषणापत्रमा समावेश गरिने एमालेले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार ध्रुवकुमार शाहीले समावेशी विकास, रोजगारी सिर्जना, युवा र कृषक केन्द्रित कार्यक्रम तथा सुशासनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सुर्खेतलाई आर्थिक र शैक्षिक केन्द्रका रूपमा विकास गर्न संघीय सरकारबाट अधिकतम बजेट र योजना ल्याउने दावी गरे । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणी देवकोटाले पश्चिम सुर्खेतको पूर्वाधार विकास, औद्योगिकीकरण, कृषि आधुनिकीकरण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिने बताए । उनले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै रोजगारी सिर्जना र दिगो विकासमार्फत सुर्खेतको समृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । एमाले सुर्खेतले आगामी निर्वाचनलाई लोकतन्त्र, संविधान र विकासको पक्षमा जनमत संग्रहका रूपमा लिँदै दुवै निर्वाचन क्षेत्रमा स्पष्ट बहुमतसहित विजय हासिल गर्ने दाबी गरेको छ ।

खुलानजर । २४ माघ २०८२, शुक्रबार १९:१०