अब पश्चिम सुर्खेतका नागरिकले सडक सास्ती भाेग्नु पर्दैन : मन्त्री बुढाक्षेत्री

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बड्डीचौर-खम्बागाडे सडक कालोपत्रेका लागि शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बुढाक्षेत्रीले वर्षौदेखी कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका पश्चिम सुर्खेतका नागरिकहरुलाई अब राहत हुने बताए ।
उनले बड्डीचाैर- बेनीघाट सडककाे विभिन्न खण्डहरु बनाएर काम अगाडि बढिसकेकोले विस्तारै पश्चिम सुर्खेतमा सडक सास्तीकाे अन्त्य हुने बताए ।
                                                          ‘स्थायी नेकपाको सरकारले काम गर्न सकेन्, डीपीआरको बेला तमझमका साथ शिलान्यास गर्याे । निर्माणका लागि चासो देखाएन्,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘गठबन्धनको सरकारले पश्चिमका नागरिकहरुलाई सहज आवतजावतका लागि सडक कालोपत्रे गर्न प्रदेशबाट बजेट विनियोजन गरेर कामको शुभराम्भ गरेका छौं । विभिन्न खण्डहरु बनाएर याे सडककाे कामहरु भइरहेका छन् । अब पश्चिम सुर्खेतले सडक सास्ती पाउने दिन थाेरै छन् ।’ मन्त्री बुढाक्षेत्रीकाअनुसार सडक निर्माणका क्रममा निर्माण व्यवसायीलाई साथ दिएर समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
सडक ट्र्याक खोलीको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रेको काम शुरु गरिएको छ । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको यो सडकको पहिलो खण्डअन्तरगत वड्डीचौरदेखी कालोपत्रे गर्न बिहिवार शिलान्यास गरिएको हो ।

सडक निर्माणका क्रममा देखिने समस्याहरु समाधान गर्नमा गाउँपालिका प्रतिवद्ध रहेको बराताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए । पहिलो खण्डमा निर्माण भइरहेको सडकको धेरै भाग गाउँपालिका भित्र पर्ने भएकाले यसमा देखिने समस्याहरु समाधान गर्न आफू कटिवद्ध रहेको भण्डारीले जानकारी दिए ।
बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो । पहिलो चरणमा बड्डीचौर–खम्बगाडे सडक कालोपत्रे गरिनेछ ।
त्यसका लागि ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जेभीसँग असार १४ गते सम्झौता गरेको हो । आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नुपर्नेछ । पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्म जोडिने राष्ट्रिय राजमार्गअन्तर्गत सुर्खेतका काल्चे, मालारानी, बेनिघाटको २ सय ३२ किलोमिटर सडकलाई पर्दछ । सडक २०५१ सालमा ट्रयाक खोलिएको हो ।