सुर्खेत: उच्च अदालत बार एशोसिएशन सुर्खेत र सुर्खेत जिल्ला अदालत बार एशोसिएशनले कानून व्यवसायीमाथि सुर्खेत प्रहरीबाट दुर्व्यवहार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। आइतबार संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमार्फत बार एशोसिएशनहरूले विधिको शासन, न्यायिक स्वतन्त्रता, लोकतन्त्र तथा मानव अधिकारको संरक्षणप्रति आफूहरू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रहरीबाट भएको दुर्व्यवहारकाे घटनाप्रति चासाे व्यक्त गरेका छन् ।
विज्ञप्तिमा राज्यलक्ष्मी रावल समेतको जाहेरीले नेपाल सरकार वादी भई सुर्खेत जिल्ला अदालतमा चलेको अभद्र व्यवहार मुद्दाका प्रतिवादीमध्येका नाबालक/नाबालिकाको हकमा मिति ०८२ माघ १३ गते थुनछेक बहस भई अभिभावकको जिम्मा लगाउने आदेश भएको जनाइएको छ । सोही मुद्दाका एक फरार प्रतिवादी माघ २१ गते अदालतमा उपस्थित भई धरौटीमा रहेको अवस्थामा माघ २२ गते पुनः प्रहरीले बिना कारण पक्राउ गरेको बारको आरोप छ । उक्त घटनापछि प्रतिवादीको तर्फबाट खटिएका कानून व्यवसायी अधिवक्ता प्रकाश बाबु ऐडी जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगेर कागजात देखाउँदा समेत करिब दुई घण्टासम्म राखिएको, एकान्त कोठामा लगेर आरोपितलाई कुटपिट गरिएको तथा सादा पोशाकका प्रहरी कर्मचारीले कानुन व्यवसायीलाई उल्टै धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । साथै कानून व्यवसायीकै सामुन्ने हातपात गरिएको र विभिन्न बहानामा लामो समयसम्म बस्न बाध्य बनाइएको दाबी गरिएको छ । यस किसिमको व्यवहारले आम नागरिकमा न्यायप्रणालीप्रतिको विश्वास कमजोर पार्ने बार एशोसिएशनको भनाई छ ।
बार एशोसिएशनले कानून व्यवसायीको आचारसंहिताभित्र रही पक्षको प्रतिनिधित्व गर्नु कानूनी अधिकार र पेशागत धर्म भएको स्मरण गराउँदै नेपालको संविधानको धारा २० अनुसार पक्राउ परेका व्यक्तिलाई आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा दोष प्रमाणित नभएसम्म निर्दोष मानिने व्यवस्था रहेको उल्लेख गरेको छ ।
प्रहरी प्रशासनबाट यस्ता गतिविधि बन्द गर्न र न्यायिक प्रक्रियामा सहयोग गर्न सम्बन्धित निकायसँग हार्दिक अपिल गरिएको विज्ञप्तिमा जनाइएको छ । संयुक्त विज्ञप्तिमा सुर्खेत जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रामबहादुर भण्डारी र उच्च अदालत बार एशोसिएशन सुर्खेतका अध्यक्ष अधिवक्ता दुर्गा प्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।


खुलानजर । २६ माघ २०८२, आईतवार १७:४२