समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

सुर्खेत: स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक मंगलबार सम्पन्न गरिएको छ । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेत र इएलपी परियोजनाद्वारा बराहताल गाउँपालिकामा गठित मानव अधिकार समूहको आयोजनामा सम्पन्न बैठकमा बराहतालमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरिएको हो ।
पहिचान गरिएको समस्यामा शिक्षा क्षेत्रमा विद्यालयमा शिक्षकहरुको अनियमितता र लापरवाही, प्रयोगशाला कम्प्युटर भएपनि त्यसको उपयुक्त सदुपयोग नभएको, विद्यालयमा दिइने सेनेटरी प्याडको नियमित नदिएको, निशुल्क शिक्षा भनिए पनि कार्यान्वयनमा नभएको, अपाङ्गमैत्री शौचालय र व्यवस्थित नभएको छलफलमा पत्ता लागेको हो ।
स्वास्थ्यमा बराहताल गाउँपालिकाको वडा नम्बर १, ३ र ८ मा आधारभूत स्वास्थ्य केन्द्र एक ठाउँमा तर, सेवा अर्को ठाउँमा दिएको, सरकारले तोकेको ९८ प्रकारका निशुल्क औषधी उपलब्ध नभएको, दक्ष जनशक्ति नभएको र वडा नम्बर ३ को आधारभूत स्वास्थ्य केन्द्र गाइनेगाँडा भएको र सेवा दिनुपर्ने नर्सीगडामा भएकोले भौगोलिक विकटताले स्वास्थ्य सेवा समस्या भएको छलफलमा बताइएको छ ।


यस्तै वातावरण संरक्षण सम्बन्धी धेरै पटक ध्यानाकर्षण गरिएको भएपनि त्यसको सुनुवाई नभएको, अझैपनि बड्डीचौर बजार क्षेत्र व्यवस्थित गर्न कार्यान्वय गर्न नसकेको, कुहिने र नकुहिने फोहोर व्यवस्थापन नहुनु र बंगुर र कुखुरा पालनले गर्दा वातावरण दुर्गन्धित भइरहेको छ ।
त्यसैगरी विभेदको सवालमा छाउपडी प्रथा जनप्रतिनिधिकै घरमा पनि छाउपडी रहेको, जातिय विभेद, बालविवाह, घरेलु हिंसा जस्ता विभेद रहेको छलफलमा आएको थियो । समस्या पहिचान तथा कार्ययोजना बैठकको उद्देश्यसँगै बैठक सहजीकरण इन्सेक कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापाले गरेका थिए ।
बैठकबाट पहिचान भएका समस्याहरुलाई मानव अधिकार समूहले जुन निकायसँग सम्बन्धित समस्या हो । त्यो निकायलाई जवाफदेहि बनाउन ध्यानाकर्षण गर्नेछ । बैठकमा मानव अधिकार समूहका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि र सम्बन्धित शाखा प्रतिनिधित्वहरुको सहभागिताबाट समस्या पहिचान गरिएको थियो । इन्सेक सुर्खेत जिल्ला सहजकर्ता ललिता विकले बैठक सञ्चालनको सहजीकरण गरेकी थिइन् ।