जोखिम व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न

गगन खडका
सुर्खेत: स्थानीय सरकारको क्षमताअभिवृद्धिका लागिविपद् जोखिमव्यवस्थापन सम्बन्धी तीन दिने तालिम बराहतालमा सम्पन्न गरिएको छ ।
असोज ११ गते सुरु भएको तालिम १३ गतेसम्म सञ्चालन भएको हो । युएसएआईडीको आर्थिक सहयोग, मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी कार्यक्रम अन्तर्गत तालिम चौकुने गाउँपालिकामा सञ्चालन गरिएको हो ।
तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारको नीतिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था, जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको हो । सहभागीहरुले सिकाईसँगै गाउँपालिकाको विपद् व्यवस्थापनका लागि कार्य योजना समेत तयार पारेको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गरिएको र आउन सक्ने विपद् तथा जोखिमका लागि पूर्व तयारीका आवश्यक सामग्रीको पनि तय गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।
विपद्को बेला कसैलाई पनि भेदभाव नगरी सहयेग गर्नुपर्ने बताए ।
साथै उक्त तालिम कार्यक्रमबाट चौकुने गाउपालिकाले आफ्नो क्षेत्र भित्रविपद्बाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्दै आफ्नो समुदायको अमुल्य जनजीवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मानवीय सिद्धान्त, लैंगिक समानता र सामाजिक समावेशितालाई समेत आत्मसात गर्दै तत्काल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १० बुँदे नेपाल विपद् व्यवस्थापन घोषणा पत्र समेत जारी गरेको छ । साथै गाउँपालिकाले प्रतिवद्धाता गरेको १० बुदे पूर्ण रुपमा लागु गर्ने प्रतिवद्धाता जाहेर गरे । कार्यक्रम माथि प्रकाश पार्दै भकारी परियोजना संयोजक जनक नारायण आचार्यले स्थानीय तहको सहयोगबाट नै जोखिम न्यूनीकरण गर्न सकिने र कार्यक्रम पनि सफल हुन सक्ने विश्वास व्यक्त गरे ।
सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना बराहतालगाउँपालिकाका २ ,४, ५, ६ र ८ गरी ५ वटा वडाका २३ वटा समुदाय लगायत चौकुने गाउँपालिकाका ५ वडाका १२ समुदाय र पञ्चपुरी नगपालिकाका ४ वटा वडाका १२ समुदाय गरी ३ वटा पालिकाका १४ वटा वडामा ४७ समुदायलाई समेटेर सन् २०२० अक्टोबर देखि परियोजना लागू भएको हो । परियोजनाले कृषि, प्राकृतिक विपद् न्युनिकरण , उत्पादनमूलक पानी, लैंगिक समानता र समावेशीकरण, आकस्मिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत तुलसी प्रसाद आर्चाय र दिनेश प्रकाश बरालले सहजीकरण गरेकोे कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक, उपाध्यक्ष नर बहादुर बान्तोला लगायत सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँपालिकामा तह तहका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, रेडक्रस सोसाइटीका प्रतिनिधि, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका प्रतिनिधि, समितिका प्रतिनिधिहरु लगायत २५ जना सहभागीहरुको सहभागिता रहेको थियो ।