सुर्खेत: इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वडा कार्यालयसँगको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाको नम्बर १ मा शुक्रबार लैङ्गिक हिंसा तथा जातीय विभेद विरुद्ध कानूनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
वडाका कार्यवहाक वडा अध्यक्ष हरिप्रसाद पौडेलले विभिन्न दृष्टिकोणबाट वडालाई वडाको तुलनामा पछाडि परेको बताउँदै यस्ता कानूनी सचेतना कार्यक्रमले समुदायका व्यक्तिको क्षमता अभिवृद्धि हुनेमा विश्वास व्यक्त गरे ।
विभिन्न कारणले समाजमा हिंसा सहेर बस्ने गरेको बताउँदै इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी आर्थिक अवस्था कमजोर भई कानूनी प्रक्रियामा जान नसकेका पीडितलाई इन्सेकले संचालन गरेको मानव अधिकार सहायता कक्षबाट सहयोग गर्ने जानकारी दिए । आर्थिक अवस्था कमजोर भएर न्यायिक पक्रियामा जान नसकेका पीडितका लागि नेपाल सरकारले जिल्ला तथा उच्च अदालतमा वैतनिक कानून व्यवसायीमार्फत सेवा दिने प्रदेश संयोजक सुवेदीले प्रष्ट पारे ।
लैङ्गिक हिंसा तथा जातीय विभेदका विषयमा जिल्ला बार एशोसियसन, सुर्खेतका सचिव अधिवक्ता खगेन्द्र खनालले लैङ्गिक हिंसा तथा जातीय विभेद भनेको के हो ?, कानूनमा के कस्तो व्यवस्था छ ? यस्ता घटना भएमा कहाँ उजुरी दिन सकिन्छ, हदम्याद कति हुन्छ लगायतका विषयमा सहजीकरण गरेकाे परियोजनाका संयोजक किरण पौडेलले जानकारी दिए ।
कार्यक्रममा सहभागी कल्पना विसीले समाजमा विभिन्न विकृति विसंगति बढदै गएकोमा चिन्ता व्यक्त गर्दै यस्ता खालका सचेतना मुलक कार्यक्रम नियमित रुपमा संचालन गर्नुपर्ने सुझाव दिइन् ।
खुलानजर । ८ भाद्र २०८०, शुक्रबार १९:३१