उम्मेदवारलाई सुरक्षा चुनौति देखिए सुरक्षा समितिलाई लिखित जानकारी दिनुपर्ने

सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले उम्मेदवार बनेकाहरुलाई कुनै सुरक्षा चुनौती देखिएमा सुरक्षा समितिलाई लिखित जानकारी दिन अनुरोध गरेको छ । उम्मेदवारलाई सुरक्षामा कुनै प्रकारको चुनौति देखिएमा अग्रीम रुपमा जिल्ला सुरक्षा समितिलाई लिखित जानकारी दिन अनुरोध गरेको हो ।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बनेका उम्मेदवारहरु तथा राजनीतिक दललाईसमेत सुरक्षा चुनौति देखिएमा पहिला नै जिल्ला सुरक्षा समितिलाई लिखित जानकारी गराउन अनुरोध गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद अर्याल, जिल्लामा क्रियासिल राजनीतिक दलका प्रमुख उम्मेदवार, प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुको सहभागीमा बैठक बसेको थियो ।
बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि आयोगबाट जारी निर्वाचन आचारसंहिता २०७९ को कार्यान्वयनको पालना गर्नु पर्ने निर्णय गरेको छ ।
यस्तै, यही कार्तिक १७ गतेबाट बृहत रुपमा जनसभा तथा प्रचार प्रसारलाई तिव्रता दिन सक्नेहुँदा सबै राजनीतिक दल तथा उम्मेदवारले मित्रवत व्यवहार गरी प्रतिस्प्रर्धा गर्नुपर्ने, दुष्प्रचार नगर्ने र सभा जुलुस गर्ने क्रममा स्थानको तय समेतका विषयमा आपसी समन्वय गरि सञ्चालन गर्नुपर्ने जस्ता निर्णय गरेको छ ।