सुर्खेत: वीरेन्द्रनगर सुर्खेतमा बुधबार नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ। सहयोगापेक्षीत मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुल्लामञ्चमा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रममा संरक्षितहरुको दीर्घकालिन मानवोचित व्यवस्थापन एवम् स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न नेपथ्य लाइभ कन्सर्ट गर्न लागिएको कर्णाली मानवसेवा आश्रम प्रदेश संयोजक सजिता गौतमले जानकारी दिइन्।
आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, सालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ।
नेपथ्य व्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन्। लाईभ कन्सर्ट भव्य र सफल बनाउन विभिन्न क्षेत्रका मानवताप्रेमी व्यक्तिहरु सम्मिलित मूल समिति र उप–समितिहरु निर्माण गरि व्यापक तयारी गरिएको छ। कन्सर्टका लागि आश्रमका अभिभावक टिकाराम चपाईको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने विभिन्न विषयगत उपसमितिहरु निर्माण गरिएका छन्।
आश्रमका अभिभावक गणेश कार्कीको संयोजकत्वमा मिडिया तथा प्रचार–प्रसार व्यवस्थापन समिति, डा। नवराज केसीको संयोजकत्वमा स्वास्थ्य व्यवास्थापन समिति, सुमन कार्कीको संयोजकत्वमा अतिथी सत्कार व्यवस्थापन समिति, महेन्द्रकुमार थापाको संयोजकत्वमा टिकट बिक्री व्यवस्थापन समिति, गणेश वस्नेतको संयोजकत्वमा प्रायोजक समन्वय समिति, संजिता गौतमको संयोजकत्वमा आवास व्यवस्थापन समिति, रामबहादुर बुढाको संयोजकत्वमा सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति, नबराज बोहोराको सर्वोजकत्वमा स्वयम सेवक व्यवस्थापन समिती निर्माण गरिएको छ।
यस्तै, सचिवालय व्यवस्थापन समितिको संयोजकमा अनिता ज्ञावली, संघसस्था समन्वय समिति पनि गठन गरिएको छ। टिकट खरिद एक हजार रुपैयाँ तोकिएको छ। हाल आश्रमको संरक्षणमा ४२ पुरुष २९ महिला ४ बच्चा गरि जम्मा ७५ संख्यामा सहयोगापेक्षी व्यक्तिहरुले आश्रम लिएका छन्।
खुलानजर । ५ पुष २०७९, मंगलवार १२:०३