विदेशको जागिर त्यागेर स्वदेशमै चिया बेच्दै हिँड्छन् दलबहादुर !

सुर्खेत : जाजरकोटको बारेकोट–८ सेपुखोलाका ४१ वर्षीय दलबहादुर सिंह ६ वर्ष अगाडि ‘कलिङ्ग’ भिसामा मलेसिया उडे। आठ कक्षासम्मको औपचारिक शिक्षा ग्रहण गरेका सिंहले आफन्तमार्फत मलेसिया जान ५० हजार रुपैयाँ खर्च गरेका थिए।
उनले त्यहाँ दुई वर्षसम्म दैनिक ११ घण्टा कृषि क्षेत्रमा काम गरे। ३० हजार रुपैयाँ मासिक तलबमा क्विन्टलका क्विन्टल मलका बोरा बोक्ने र बेल्चा चलाउनुपर्ने जस्ता काम उनले गर्थे।
तर त्यो कमाइ पनि बचाउन धौ–धौ हुने भएपछि उनको मनमा लाग्यो ११ घण्टा यहाँ दुःख गर्नुभन्दा बरु नेपालमै संघर्ष गरे यहाँभन्दा बढी कमाउन सकिन्छ। विदेशमा गएपछि उनले समयको महत्व बुझे। त्यही समयलाई नेपालमा खर्चने उद्देश्यले मलेसियाको रोजगारी त्यागेर दलबहादुर गाउँ फर्किए।
केही महिनाको गाउँ बसाइपछि सुर्खेत झरेका उनले वीरेन्द्रनगर–८ मा ‘अटल खाजाघर’ खोले। तीन वर्षसम्म खाजा घर चलाएका उनले नयाँ व्यवस्थापनसहित वीरेन्द्रनगर–१० मा ‘देती रेष्टुरेण्ट’ खोले।

तर त्यसको लगत्तै कोरोना महामारी आएपछि साहुलाई मासिक २० हजार भाडा तिर्न समेत उनलाई हम्मे–हम्मे भयो।
जेनतेन रेष्टुरेण्ट चलाएका दलबहादुरले २०७८ माघको अन्तिम साता सुर्खेतमा चलिरहेको महोत्सवमा भने गजबको ‘आइडिया’ सिके।
महोत्सवमा काठमाण्डौंबाट आएका व्यापारीसँग उनको भेट भयो। उनले आफ्नो व्यवसायमा देखिएको समस्या दर्साएपछि उनीहरुले उनलाई बजारमा चिया बेच्ने ‘आइडिया’ दिए।
महोत्सवमै दुईवटा थर्मस र केतली किनेर त्यसको भोलीपल्टैदेखि चिया बेच्न सुरु गरेका दलबहादुरले पाँच दिनसम्म राम्रो कमाइ गरे। उनले दैनिक १५ सय रुपैयाँका दरले नाफा कमाए।
त्यसपछि उनले बजारमा गएर चिया बेच्ने थाले। अहिले आफूले बेच्ने चिया नै ग्राहकको लागि ब्रान्ड भएको दलबहादुर बताउँछन्।
‘विदेशमा पनि दुई वर्षसम्म दुःख गरियो, नेपालमै केही गर्छु भनेर आएर यहाँ सानो खाजाघर चलाएँ। कोरोना आएपछि त्यो पनि राम्ररी चलेन, महोत्सवबाट चिया बेच्न सुरु गरेको छु,’दलबहादुरले भने, ‘बिहानभरी होटेलमा व्यापार गर्छु। दिनभर वीरेन्द्रनगर बजारमा चिया बेच्छु। अहिले मेरो चिया खान ग्राहक आफैंले फोन गरेर बोलाउनुहुन्छ। मैले बनाएको चिया त ‘ब्रान्ड’ नै बनिसक्यो।’
आर्थिक मन्दीका कारण रेष्टुरेण्ट पनि राम्रो नचल्दा यही चियाबाटै आफ्नो परिवारको जिविका चलेको दलबहादुर बताउँछन्।
उनले दैनिक पाँच सय रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन्। रेष्टुरेण्टबाट थर्मस भरी चिया बनाएर ल्याउँछन्। हातमा थर्मस, झोलामा कागजका गिलास राखेर प्रत्येक व्यक्ति र पसलमा गएर उनले चिया बेच्ने गरेका छन्। प्रत्येक गिलास चियाको २० रुपैयाँका दरले बेच्छन्। उनले महिनामा सबै खर्च कटाएर ३० हजार रुपैयाँ खुद नाफा गर्दछन्।
‘अहिलेको जमानामा मान्छेहरु धेरै व्यस्त छन्। व्यापारीलाई त झनै व्यस्तताले छुन्छ। उनीहरुले चाहेर पनि चिया खान पाइरहेका हुँदैनन्। ठूला साहुजीले डेलीभरी गदैनन्। ग्राहकहरु खानका लागि होटलसम्म जान भ्याउँदैनन्,’ उनले भने, ‘म त प्रत्येक व्यक्तिको टेबुलमै पुगेर चिया दिन्छु, त्यसैले पनि सुरुवातीभन्दा अहिले मेरा ग्राहक बढिरहेका छन्।’
अस्पताल, सुनचाँदी पसल, बटुवा र व्यापारीहरु चियाका लागि फोन गरेरै माग गर्ने गरेको दलबहादुर सुनाउँछन्।
‘अहिले जताततै आर्थिक मन्दी छ। मलाई भने भ्याइ-नभ्याइ छ। चिया लिएर बजार जान ढिला भए ग्राहकले आफैं फोन गरेर मगाउँछन्, त्यो भनेको मैले दिने चियाको ‘क्वालिटी हो,’ उनी थप्छन्, ‘यसले मलाई सबैसँग चिनजान गर्ने मौका पनि मिलेको छ भने नगदी व्यापार पनि भइरहेको छ।’
दुई छोरा, एक छोरी र श्रीमतीसहित पाँच जनाको परिवार आफूले यसरी व्यापार गर्दै पालेको उनी बताउँछन्। उनका जेठा छोरा कक्षा १२ मा पढ्छन्। कान्छो छोराले एसईई दिए भने छोरीले कक्षा आठ पास गरेकी छन्।
अहिले दूध चिया मात्रै बेचेका उनको विस्तारै कागती चिया, जडीबुटी चिया, कफीसँगै अर्गानिक बिस्कुट र नम्किनसमेत बजारमा बिक्री गर्ने उनको योजना रहेको छ। उकेरा