सुर्खेत: कर्णालीमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राष्ट्रपतिको उम्मेदवारीसँगै केन्द्रको आठ दलीय समीकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो । बिहीबार प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले समर्थन फिर्ताको पत्र बुझाएकी छन् ।
क्ेन्द्रीय राजनीतमा आएको अस्थिरताले जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निणर्यलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीले बताइन् ।
कर्णालीमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो सत्तासमीकरण अनुसार कर्णालीमा कांग्रेससँग १४, माओवादीसँग १३ र समाजवादीसँग १ सिट छ । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सिट आवश्यक पर्छ । तर, वर्तमान अवस्थाको गठबन्धनमा मुख्यमन्त्री राजकुमार शर्मासँग २८ सिट छ । उनलाई एक स्वतन्त्र सांसदको समेत को समर्थन छ । केन्द्र सरकारबाट बाहिरिएको एमालेले अझै पनि प्रदेश सरकारबारे कुनै निर्णय नलिँदा कर्णाली सरकारबाट एमाले बाहिरिएको छैन ।
खुलानजर । १८ फाल्गुन २०७९, बिहीबार २०:३६