सुर्खेत : राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्यले दलितका हक अधिकार संविधानमा लेखेपनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।
बिहिबार नवराजसहित ६ जनाको रुकुमपश्चिममा हत्या गरिएको चार वर्ष पुगेको अवसरमा दलितका लागि दलित अभियानले सुर्खेतमा आयोजना गरेको अन्तरजातिय विवाहित जोडीलाई सम्मान तथा जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलितको शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, विभेद विरुद्धको अधिकार र भूमिको अधिकारलाई संविधान अनुरुप अक्षरंश कार्यान्वयन गर्नुपर्ने बताए ।
‘दलितका लागि नीति बने, कानुन बने तर, त्यसको कार्यान्वयन हुन सकेको छैन,’अध्यक्ष विश्वकर्माले भने, ‘शिक्षा, स्वास्थ्य र भूमिको अधिकारबाट दलित बञ्चित भएका छन् । त्यसतर्फ सरकारको ध्यानाकर्ष हुन जरुरी छ ।’
उनले सुर्खेतका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालयका प्रमुखहरुसँग दलित समुदायका मुद्दाका विषयमा छलफल र समन्वय गरेको भन्दै सेवा सुविधानमा आवश्यक समन्वय गरिदिन अनुरोध गरेको बताए ।
अध्यक्ष विश्वकर्माले समाजमा जातिय विभेदले अझै पनि जरा गाडेको भन्दै अन्तरजातिय विवाह गर्ने जोडीलाई अपमान होइन सम्मान दिनुपर्नेमा जोड दिए ।
अन्तरजातिय विवाहित जोडीलाई हरेक पालिकाले सम्मान गर्न सकेकेही हदसम्म विभेद न्यूकिरण हुने उनको भनाई छ ।
त्यस्तै वरिष्ठ लोकदोहरी गायक राजु परियारले समाजमा जरा गाडेर बसेको जातिय विभेदलाई सचेतना र जागरका माध्यमबाट अन्त्य गर्नुपर्ने बताए । त्यस्तै अर्का वरिष्ठ गायक बद्री पंगेनीले विभेदको जरा उखेल्न युवा पीढिहरु जागरुप हुनुपर्ने बताए । उनले के कति कारण पानी नचल्ने ? किन हामी अछुत भन्ने जस्ता प्रशनहरु समाजलाई गर्दै जागरणको अभियान चलाउनुपर्ने सुझाव दिए ।
त्यस्तै दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले आफ्ना लागि आफै भन्ने अभियानका साथ कर्णालीबाट दलित जागेको बताए । उनले दलितको समान सहभागिता र हकअधिकार सुनिश्चितताका लागि सबै दलित एकजुट भएर आवाज उठाएको बताए । वरिष्ठ सञ्चारकर्मी सन्तोष देउजाले विभेद विरुद्ध मिडियाले पनि सशक्त आवाज उठाउनुपर्ने बताए ।
त्यस्तै देशका विभिन्न जिल्लाबाट आएका दलित अधिकारकमीहरुले विभेदको अन्त्य गर्न सबै प्रदेशहरुमा जागरण अभियानलाई तिब्रता दिनुपर्ने बताएका थिए । त्यस्तै कार्याक्रममा अन्तरजातिय विवाह गर्ने कर्णालीका दुई दर्जनभन्दा बढी जोडीलाई सम्मान गरिएको छ । रुकुमपश्चिममा हत्या गरिएका नवराज विकसहितका आमा बुवालाई समेत कार्यक्रममा अभिनन्दन गरिएको थियो । कार्यक्रममा दुई हजारभन्दा बढी दलित अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता रहेको दलितका लागि दलित अभियनकी जिल्ला संयोजक माया बस्यालले जानकारी दिइन् । कार्यक्रमको उद्घोषण राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष टेकेन्द्र विश्वकर्माले गरेका थिए ।
अध्यक्ष विश्वकर्माले गरेकाे सम्बाेधन भिडियाेमा :https://www.facebook.com/share/v/AVEJedYDTC4Qtcnr/?mibextid=qi2Omg
जगतदल । ११ जेष्ठ २०८१, शुक्रबार १२:०३