
सुर्खेत: २०७९ कात्तिक १७ गते आएको विनाशकारी भूकम्पपछि बस्न अयोग्य बनेको जाजरकोटको ऐतिहासिक सेतो दरवार दुई वर्षसम्म पनि पुनर्निर्माण नहुँदा भित्ताभित्ताबाट झाडी र रुख उम्रिन थालेका छन् । देशका १०० प्रमुख पर्यटकीय गन्तव्यमा सूचीबद्ध यो दरबार पुनर्निर्माणमा सरकारले ध्यान नदिँदा स्थानीय नागरिक चिन्तित भएका छन् ।
१६औँ राजा इन्द्रनारायण शाहकालमा निर्माण सुरु भई २०औँ राजा नरेन्द्रविक्रम शाहको शासनमा १८२५ मा बनेको यो दरबार भूकम्पपछि ओझेलमा परेको हो । राजधानीबाट निर्णय नहुँदा, स्थानीय तहले पहल नगर्दा र पुरातत्व विभाग तथा सहरी विकास मन्त्रालयबीचको समन्वय अभावले पुनर्निर्माण रोकिएको छ ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले गत वर्ष सहरी विकास मन्त्रालयले ड्रोइङ–डिजाइन तयार गरी १५ करोड रुपैयाँ विनियोजन गरे पनि पुरातत्व विभागले तुरुन्त काम अघि नबढाउन भनेपछि निर्माण रोकिएको बताए । दुई निकायबीच समन्वय नहुँदा काम अलपत्र परेको उनले बताए । उनका अनुसार, विभागहरूले वास्तविक अवस्थाको अध्ययन नगरी हतारमा काम अघि बढाउन खोजेपछि प्रक्रिया रोकिएको हो ।
भित्र पस्नै डर लाग्ने अवस्था
अघिल्ला भूकम्पपछि मर्मत गरिएको दरबारलाई २०७९ कात्तिकको ठूलो भूकम्पले पुनः धुजाधुजा बनाइदिएको थियो । अहिले दरबारको भित्तामा ठूलो चिरा छन्, कतिपय भाग ढलेका छन् र भित्तामै रुख–झाडी उम्रिएको देखिन्छ ।
‘इतिहास बोकेको दरबार अहिले भित्र पस्नै डर लाग्ने स्थिति छ,’ जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी भन्छन् ।
सेवा सञ्चालनमा समस्या
जाजरकोट दरबार भूकम्पअघि जिल्ला प्रशासन कार्यालयकै कार्यालय भवन थियो । दरबार क्षतिग्रस्त भएपछि हाल प्रशासनले छेउमै युएनडिपीको सहयोगमा बनेको साँघुरो भवनबाट सेवा दिनुपरिरहेको छ । यसले सेवा प्रवाहमा ठूलो चुनौती आएको छ । नागरिकहरु काउन्टरमा लामो समय बस्न बाध्य, कागजात व्यवस्थापन, गोपनीयता सुनिश्चित गर्न कठिनाई, मौसम अनुसार वर्षा, चिसो र तातो तापक्रमले सेवा प्राप्त गर्ने र दिने दुबै प्रभावित, पार्किङ र प्रतिक्षालयको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
स्थानीयवासी रामप्रसाद शाही भन्छन्, ‘यति ठूलो जिल्लाको प्रशासन साँघुरो प्रि–फ्याबबाट चल्दा नागरिकले निकै सास्ती भोगिरहेका छन् । दरबार मर्मत नभएसम्म यो समस्या झन् बढ्दै जाने देखिन्छ ।’
पहिले वर्षेनी पर्यटक आउने जाजरकोट दरबार अहिले ओझेल पर्दै गएको छ । भित्तामा उम्रिएका रुख–झाडी, सुरक्षा जोखिम, संरचनाको जीर्ण स्थिति, कारणले पर्यटक आगमन घटेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।
स्थानीयहरूका अनुसार तीन तहका सरकार—संघीय, प्रदेश र स्थानीय—साथै पुरातत्व विभागले गम्भीरतापूर्वक नलागे ऐतिहासिक सम्पदा जोगिन सक्दैन । ‘इतिहास बचाउन नसके सभ्यता हराउँछ,’ अध्यक्ष केसी भन्छन्, ‘तर सरोकारवाला निकायले निरन्तर बेवास्ता गर्दा दरबार भत्किन बेर छैन ।’
सेतो दरबारअघि पश्चिमतिर रहेको रातो दरबार पनि भूकम्पले गम्भीर रूपमा क्षतिग्रस्त बनेको छ । गत वर्ष बर्खामा हालिएको त्रिपाल अहिले पनि नउखेलिएको छ । रुख–बिरुवा वरिपरि उम्रिँदै गएका छन् तर सम्बन्धित निकाय अनभिज्ञजस्तै व्यवहार देखाइरहेका छन् ।
जाजरकोट दरबार केवल प्रशासनिक भवन मात्र होइन—यहाँको इतिहास, संस्कृति, बाईसे–चौबिसे कालको पहिचान बोकेको महत्वपूर्ण सम्पदा हो । तर सरकार, पुरातत्व विभाग र मन्त्रालयबीचको समन्वयहीनता, दीर्घकालीन योजना अभाव र स्थानीय सरोकारवाला निकायको कमजोरीकै कारण दुई वर्षमै दरबार बिनासको चौतारोमा उभिएको छ । नागरिक र स्थानीय सरोकारवालाहरूले अब ढिलाई नगरी पुनर्निर्माण प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

जगतदल जनाला विक । १० मंसिर २०८२, मंगलवार ०९:२८