वीरेन्द्रनगरले सुरु गर्याे अतिविपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम


सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेको छ । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले चार जना अतिविपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
नगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम गर्न बजेट विनियोजन गरेको थियो । मेयर ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पुर्‍याउन नगरपालिकाले उत्साहपूर्ण र महत्वकांक्षी योजनाका रूपमा बीमा कार्यक्रमको शुभारम्भ गरेको बताइन् ।
‘स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउँदै नेपालको संविधानले समाजवादको नीति लिए अनुरुप राज्यबाट प्रवाह हुने सेवा सुविधा हरेक नागरिकले सहज पाउनु पर्ने व्यवस्था अजुसार हामीले याे कार्यक्रमकाे सुरुवात गरेका हाैं,’ नगर प्रमुख ढकालले भनिन्, ‘नेपाल सरकारले तोकेको अतिविपन्न पहिचानको मापदण्डलाई अनुसरण गर्दै आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर यसकाे सुरुवात गरि नागरिकलाई चुलाेकाे सरकार भएकाे आभाष दिलाउन प्रयास गरेका छाैं ।’
स्वास्थ्य क्षेत्रका लागि स्थानीय सरकारले ल्याएको बीमा कार्यक्रमले लक्षित वर्गलाई लाभ पुग्ने विश्वास लिएको ढकालको भनाइ छ । स्वास्थ्य बीमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अतिविपन्न परिवारको पहिचान गरी बीमा कार्यक्रममा समावेश गरिने उनको भनाइ छ ।
उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बीमा गर्दा लाग्ने ३५०० बराबरको रकम तिरी दिनेछ । हालसम्म नगरपालिकामा करिब तीन सय जनाले बीमाका लागि निवेदन दिएका छन् ।