बुुवा श्यामलाल कँडेल र आमा पूर्णिमा कँडेलको कोखबाट २०४२ सालको मंसिर १८ गते सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएका डा. रुपक कँडेल चिकित्सक हुन् । नेपालगञ्ज मेडिकल कलेज र लिओनिङ मेडिकल युनिभर्सिटी हुँदै चिकित्सक बनेका डा.कँडेलले आफ्नो पेशागत यात्रा काठमाडौंको सुविधा सम्पन्न अस्पतालमा होइन, कर्णालीको चुनौतीपूर्ण डाँडाकाँडा पार गरेर सुरु गरे ।
उनी वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रूपमा परिचित छन् । कर्णाली केयर इन्टरनेसनल हस्पिटलका अध्यक्ष समेत हुन् । उनी राष्ट्रिय हेल्थ अवार्ड २०७८ बाट सम्मानित पनि भएका छन् । वृद्धवृद्धा, अपाङ्ग बालबालिका र आर्थिक रूपमा कमजोर नागरिकका लागि निःशुल्क उपचार कार्यक्रमहरू सञ्चालन गर्दै आएका उनले कर्णालीमै गुणस्तरीय हाड–जोर्नी सेवा विस्तार गर्ने सपना देखेका छन् जुन सपना उनले आफैं खटिएर पूरा गरिरहेका छन् । उनकी जीवनसाथी डा. अनिता दाहाल पनि चिकित्सक हुन् । उनै वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. कँडेलसंग अंगराज परियारले गरेका संघर्ष र सफलताका कुरा :
बाल्यकाल विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल केही दुःख र सुखमा बित्यो । म २०४२ साल मङ्सिर १८ गते सुर्खेत जिल्लाको धुलाइबिट भन्ने रमणीय गाउँमा जन्मिएको हुँ । त्यहाँको प्राकृतिक सौन्दर्य, मेलमिलाप र सरल जीवनशैलीले मेरो बालमनमा गहिरो छाप पारेको थियो । गाउँकै खुल्ला आकाश, खेतबारी र आपसी सद्भावले मलाई सधैं प्रेरित ग¥यो । मेरो बाल्यकाल धुलाइबिट गाउँका खुल्ला खेत र नदि किनारमा बित्यो ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
त्यतिबेला म डाक्टर बन्ने सपना देख्थें । तर त्यहाँ ‘सेवक’ बन्ने अठोट पनि थियो गाउँलेको पीडा कम गर्ने, असहायलाई उर्जा दिने । पढ्दै जादै त्यो सपनाहरु पुरा भएका छन् ।
अर्थोपेडिक विषय किन रोज्नुभयो ?
गाउँमा सामान्य फ्र्याक्चरदेखि जटिल जोर्नी समस्या देख्दा मैले अनुभूति गरें स्थानीयले उपचार नपाएर धेरै दुख झेल्दै छन् । गति फिर्ता गराउने, चोखो हिँडडुल दिलाउने विषयले मलाई सबैभन्दा आकर्षित ग¥यो ।
तपाईंको मेडिकल अध्ययन कस्तो रह्यो ?
अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए । जीवविज्ञानका गह्रुँगा सिद्धान्तहरू बुझ्नुपथ्र्यो, लामो समय अध्ययन गर्नुपथ्र्यो, अनि थुप्रै प्रयोगात्मक अभ्यासहरू गर्नुपर्ने हुन्थ्यो । तर समयसँगै मैले सिक्ने तरिका सुधारेँ, अनुभव बढाएँ, अनि मेरा गुरुहरू र सहपाठीहरूको सहयोगले अघि बढेँ । क्लिनिकल प्राक्टिसको समय झन् रोमाञ्चक रह्यो । जब वास्तविक बिरामीहरूसँग संवाद गर्ने अवसर पाइयो, तब मैले किताबहरूमा मात्र पढेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने भएँ । बिरामीहरू निको हुँदा आएको खुसीले मलाई अझै राम्रो चिकित्सक बन्ने प्रेरणा दियो । मैले नेपालगञ्ज मेडिकल कलेजबाट आधारशिला सुदृढ बनाएँ र लिओनिङ मेडिकल विश्वविद्यालयबाट हाड–जोर्नीमा स्नातकोत्तर पूरा गरें । कडा क्लिनिकल रोटेशन, आकस्मिक सर्जरी, र अनुसन्धानले अनुशासन, सहनशीलता र सटीकता सिकायो ।
२०७२ मा मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सेवा सुरु गर्दा इमर्जेन्सीदेखि पोस्टमार्टमसम्म सबै काम सम्हालिनुपथ्र्यो । स्व. हरि सापकोटा सरसँग काम गर्दा मैले नेतृत्व, अनुशासन र समर्पणको वास्तविक अर्थ पाएँ ।
असहाय र अपांगता भएका बिरामीलाई उपचार गर्दा कस्तो लाग्छ ?
म उनीहरूलाई ‘रोगी’ होइन, ‘कथा’ र ‘संघर्ष’का वाहकका रूपमा हेर्छु । प्रत्येक विरामीसँग माया, धैर्यता र आत्मबल जगाउने दृष्टिले बोल्छु । उनको पीडा मात्र होइन, उनीहरूको यात्रा र आशा पनि सम्झन्छु । अन्य बिरामीको पनि उपचारपछि उनीहरूको अनुहारमा आउने आत्मविश्वासको चमक हेर्दा अतुलनीय सन्तुष्टि मिल्छ । आँसु दुखाइको होइन, राहत र कृतज्ञताको भए मैले आफ्नो जीवन–ध्येय पूरा भएको अनुभूति गर्छु ।
तपाईंले कस्ता चुनौतीहरू सामना गर्नुप¥यो ?
उपकरणको अभावः एक्स–रे, सिटी स्क्यान जस्ता आधारभूत उपकरण धेरै ठाउँमा थिएनन् । जनचेतनाको कमी प्रारम्भिक उपचार नहुँदा केस गम्भीर बन्छ । दुर्गमता र यातायात धेरै बिरामीलाई डोकोमा बोकेर घन्टा–घन्टा हिँडाएर ल्याउनु पर्छ । जनशक्ति अभाव अनुभवी टीम नहुँदा सबै जिम्मेवारी एक्लै सम्हालिनुपथ्र्यो । आर्थिक समस्या बिरामी आर्थिक रूपमा कमजोर हुँदा उपचार प्लेटफर्म सीमित हुन्थ्यो ।
कर्णालीमा हाड–जोर्नीसम्बन्धी समस्या र अवस्था कस्तो छ ?
घरेलु उपचारमा बृहत्तर फ्र्याक्चर र जटिलता हुन्छ । वृद्ध र असहाय ८० वर्षमाथिका वृद्धमा हिप फ्र्याक्चर र घुँडाको समस्या बढी रहेको छ । ढिला उपचार दुर्गम भूगोलले आकस्मिक केसमा ज्यान जोखिम बढाउँछ र बढाएको छ । उद्योगप्रधान जीवनशैली कृषि र ढुवानी कामले जोर्नी र मेरुदण्डमा दीर्घकालीन असर पार्छ । कर्णालीमा रहेका धेरै समस्याका कारणले डाक्टरहरु टिक्दैनन् र बस्न मान्दैनन् ।
कर्णालीमा धेरै डाक्टरले किन भविष्य देख्दैनन् ?
यो प्रश्नमा मेरो आफ्नै उत्तर छ । जुन ठाउँमा बस्ने हो, त्यही ठाउँमा भविष्य बनाउने हो भन्ने सोच धेरै डाक्टरको हुने भएकाले डाक्टरहरू कर्णालीमा आउन नसकेको मेरो बुझाइ छ । अरू जिल्लाको डाक्टर आएर जिन्दगी नै कर्णालीमा बिताउँछु भन्ने वातावरण तयार गर्न सक्यो भने मात्र डाक्टर यहाँ आउँछन् । नभए १-२ वर्षलाई बढुवाका लागि आउने जाने अवस्था मात्रै रहन्छ ।
कर्णालीमा हाड–जोर्नीको उपचारमा सुधार ल्याउन के–कस्ता प्रयास गर्नुभयो ?
कर्णाली क्षेत्र स्वास्थ्य सुविधाका हिसाबले अझै पनि पछाडि परेको क्षेत्र हो। यसलाई ध्यानमा राख्दै हामीले कर्णाली केयर इन्टरनेसनल अस्पतालमार्फत गुणस्तरीय हाड–जोर्नीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउने प्रयास गरेका छौं । अस्पतालमै अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरूको टोलीमार्फत सेवा विस्तार भइरहेको छ । त्यस्तै, ८० वर्षमाथिका वृद्धवृद्धा र अपाङ्ग बालबालिकालाई लक्षित गर्दै हामीले निःशुल्क ओपिडी तथा उपचार कार्यक्रम सञ्चालन गरिरहेका छौं। यो हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको पहल हो । साथै, दुर्गम गाउँहरूमा पुगेर मोबाइल मेडिकल क्याम्पमार्फत सेवा दिइरहेका छौं । जसले ग्रामीण भेगमा पनि विशेषज्ञ सेवा पु¥याउन मद्दत गरेको छ। जनचेतना अभिवृद्धिका लागि स्वास्थ्य शिक्षा कार्यक्रम चलाएका छौं । स्थानीय मेडिकल विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूलाई तालिम दिई दक्ष जनशक्ति विकासमा समेत योगदान दिइरहेका छौं ।
भावी कार्ययोजना के छन् ?
आगामी दिनमा हामी केही महत्वाकांक्षी योजनाहरू अगाडि बढाउने तयारीमा छौं। सबैभन्दा पहिला, हामी स्पाइनल इन्जुरी रिहाबिलिटेसन केन्द्र स्थापना गर्दैछौं । जसअन्तर्गत स्पाइनल इन्जुरी भएका बिरामीका लागि निःशुल्क सर्जरी र पुनस्र्थापना सेवा प्रदान गरिनेछ । त्यस्तै, ८० वर्षभन्दा माथिका वृद्ध व्यक्तिहरूका लागि हिप फ्र्याक्चरको सर्जरी सेवा पूर्ण रूपमा निःशुल्क बनाउने योजना छ । अर्को महत्त्वपूर्ण योजना भनेको विशेष अपाङ्ग बालबालिका अस्पताल स्थापना गर्नु हो । यस अस्पतालमा समावेशी र पूर्ण निःशुल्क उपचार तथा पुनस्र्थापना सेवा उपलब्ध गराइनेछ । यी सबै प्रयासहरू कर्णालीमा आधुनिक र समावेशी हाड–जोर्नी उपचारको पहुँच बढाउने दिशामा केन्द्रित छन् ।
खुलानजर । १० बैशाख २०८२, बुधबार ०९:२३