समृद्धि र विकासका लागि समयको महत्वलाई बुझ्न जरुरी : नेता शाही

सुर्खेत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले देशको विकास र समृद्धिका लागि समयको महत्व बुझेर त्यसको पालना गर्नुपर्ने कुरा महत्वपुर्ण रहेको बताएका छन् ।
उनले समयमै हिँड्न नसक्दा देशको विकास हुन नसकेको बताउँदै सबैले समयको पालना गर्न सिक्नु आवश्यक रहेको बताए ।
‘विदेशमा प्रत्येक सेकेण्डको महत्व हुन्छ, हामी नेपालीहरुले समयको महत्त्व बुझेकै छैनौं,’ बिहीबार वीरेन्द्रनगरमा नेपाल शिक्षक संघको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका शाहीले भने, ‘जबसम्म हामी समयसँगै हिँड्न सक्दैनौं, देशको विकास र समृद्धिले गति लिँदैन ।’
शाहीले शिक्षकहरु समयको महत्त्वका बारेमा बुझ्ने, बुझाउने र कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताए । ‘शिक्षक आफै समयमा हिँड्न सक्यो भने त्यसको सिको विद्यार्थीहरुले गर्छन्, अभिभावकहरूले गर्छन्,’ उनले भने, ‘जसरी परीक्षामा समय तोकेर परीक्षा लिइन्छ, त्यसैगरी समयलाई आफ्नो जीवन व्यवहारमा प्रयोग गर्नु आवश्यक छ ।’
उनले शिक्षकहरुको बोली र व्यवहारले समाज परिवर्तनमा ठुलो अर्थ राख्ने बताए । ‘समयसँगै शिक्षक हिँड्न सकेमा शिक्षाको गुणस्तर वृद्धिमा पनि सघाउ पु¥याउँछ,’ उनले भने, ‘विद्यार्थीले समयको महत्त्व सिके त्यसको प्रभाव देश निर्माणमा पनि पर्छ ।’
कांग्रेस केन्द्रीय सदस्य शाहीले शिक्षामा समय सापेक्षा परिवर्तनको आवश्यकता रहेको बताए । उनले नीति राम्रो भएर मात्रै नहुने बताउँदै नीति कार्यान्वयन गर्ने नेतृत्व पनि उत्तिकै प्रभावकारी हुनुपर्ने बताए ।


‘नीति राम्रो भएर मात्रै हुँदो रहेनछ भन्ने हामीसँग धेरै उदाहरणहरु छन्,’ उनले भने, ‘नीतिसँगै त्यसको कार्यान्वयन गर्ने नेतृत्व राम्रो हुनुपर्छ ।’ उनले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकहरूको क्षमता विकासमा ध्यान दिनु आवश्यक रहेको बताए ।
शाहीले कर्णाली पछाडि पर्नुको कारण पूर्वाधारको कमिलाई औंल्याए । ‘कर्णालीको भूगोल ठुलो छ, जनसंख्या कम हुँदा बजेट थोरै आउँछ,’ उनले भने, ‘त्यो बजेटले पूर्वाधार निर्माण गर्न कर्णालीमा सम्भव छैन ।’
उनले पूर्वाधार भए कर्णालीको विकास र समृद्धिले समग्र देशको समृद्धिलाई अघि बढाउने बताए । ‘कर्णालीमा अझै सदरमुकामसम्म पुग्ने सडक छैनन्, राम्रा सडक नहुँदा प्राकृतिक स्रोत–साधन र पर्यटकीय क्षेत्र भए पनि पर्यटकहरु आउँदैनन्,’ उनले भने, ‘पूर्वाधार भइदिए कर्णाली आफै समृद्धिको मार्गमा अघि बढ्छ ।’