साहित्यकार शाहीद्वारा लिखित ‘समय सकस’ को लोकार्पण


सुर्खेत: साहित्यकार बसन्ती शाहीद्वारा लिखित पुस्तक ‘समय सकस’को लोकार्पण गरिएको छ । गैरआख्यान समय सकसको फ्युचर नेपालद्वारा शनिबार वीरेन्द्रनगरमा एक कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको हो ।
पुस्तकमा २०७६ साल चैत ११ गतेबाट सुुरु भएको कोरोना संक्रमणका कारण देशभर लागू भएको बन्दाबन्दीको अवस्थालाई चित्रण गरिएको छ । तत्कालीन समयमा जसरी आम जनमानसले सकस भोग्नुुपरेको थियो सो कुरालाई स्पष्ट रुपमा उतार्ने कार्य साहित्यकार शाहीले पुस्तकमार्फत गरेकी छन् । उक्त समयमा देशमा ५३ दिन बन्दाबन्दी भएको कुरा पुस्तकमा समेटिएको छ । त्यो अवधिमा नेपालीले झेल्नुपरेको त्रास, भय, दुःख, उपचारको अवस्थालाई स्पष्टसँग उल्लेख गरिएको छ । पुस्तकमा विश्वभरि कोरोना संक्रमितको संख्या र मृतक संख्या पनि उल्लेख गरिएको छ ।

त्यसैगरी विभिन्न स्रोतलाई उल्लेख गर्दै नेपालमा संक्रमित र मृत्यु भएको संख्यालाई पनि खुलाइएको छ । नेपाल सरकार, निजी संस्था र व्यक्तिगत रूपमा कोरोना रोकथामका लागि चालिएका कदमलाई पनि पुस्तकमार्फत समेटिएको छ । त्यसैगरी समय सकसमा कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि चालेको कदम र प्रतिपक्ष दलबाट निभाएको भूमिकालाई पनि स्पष्ट उल्लेख गरिएको छ ।
पुस्तकमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कोरोना संक्रमणबाट संक्रमित भएर जति जना संघीय राजधानी काठमाडौंका अस्पतालमा गएर उपचार गरेका भए पनि उनीहरूमध्ये एक जना मात्र जीवित सुर्खेत फर्केको र बाँकी सबैको काठमाडौंका अस्पतालमा उपचारका क्रममा मृत्युु भएको उल्लेख छ ।

फिनिस बुक्सले प्रकाशन गरेको पुस्तक ४०२ पृष्ठको रहेको छ भने पाँच सयप्रति पुस्तक प्रकाशन गरिएको छ । पुस्तकको मूल्य ७७७ रुपैयाँ तोकिएको छ । पुस्तकको लोकार्पण कोरोना संक्रमित भएर सुर्खेतबाट काठमाडौंको अस्पतालमा हवाई उद्धार गरी उपचारपछि बाँच्न सफल लोकसेवा आयोगका सदस्य भक्तबहादुुर खड्का, कर्णाली प्रदेश सभा विपक्ष दलका नेता जीवनबहादुुर शाही, डा.महेन्द्र मल्ल, नवराज केसी, देवकी तिमिल्सिनालगायतले संयुक्त रूपमा गरेका थिए ।

डाक्टरद्वयले पुस्तकमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा प्रतिपक्ष दलका नेता शाहीले पुस्तकले कोरोना अवधिमा भएको वास्तविकता र यथार्थ चित्रण गरेको बताएका थिए । कार्यक्रममा कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही पनि अतिथिका रूपमा सहभागी भएका थिए।  साहित्यकार शाहीले कर्णालीकी बुहारी निबन्ध संग्रह पनि प्रकाशन गरिसकेकी छन् ।