कर्मचारीलाई तलब खुवाउनै ऋण लिनुपर्ने अवस्था आइसक्यो : रक्षामन्त्री खड्का

सुर्खेत : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताएका छन्।
शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अब यो सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेगरि अघि बढ्ने बताए।
उनले अहिलेको सत्ता गठबन्धन प्राकृतिक भएको समेत उल्लेख गरे।

‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त हो,’ उनले भने,‘ हामी त्यही उद्देश्यसहित अघि बढ्ने छौं।’
खड्काले प्रधानमन्त्री प्रचण्डले पहिलो पटक विश्वासको मत लिंदै गर्दा एमाले अध्यक्ष केपी ओलीले संसद्मा जसरी संसद् विघटनबारे बोलेका थिए, त्यसले प्राकृतिक गठबन्धनमा फर्कन वातावरण बनेको र एमालेसँगको अप्राकृतिक गठबन्धन तोडिएको बताए।
खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने बताउँदै कर्णाली प्रदेश सरकारमा केही दिनमै कांग्रेस सहभागी हुने स्पष्ट पारे।
यो सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने बताए। उनले अब कर्णालीको विकासका लागि चुनावमा बोलेअनुसार केन्द्रबाट पर्याप्त बजेट समेत पठाउने उल्लेख गरे।