कर्णालीमा संसदीय दलको नेता बन्न हानथाप, कसको कति सम्भावना?


सुर्खेत: समाुनपातिक सांसदहरुको नाम टुङ्गिएसँगै कर्णाली प्रदेशमा दलको नेता बन्न प्रदेश सभामा सबैभन्दा ठुलो पार्टी कांग्रेस, माओवादी र एमालेका नेताहरुले ‘लविङ’ गर्न थालेका छन् ।
४० सदस्यीय रहेको कर्णाली प्रदेश सभामा १४ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस, १३ सिटसहित दोस्रो बनेको माओवादी र १० सिटसहित तेस्रो बनेको एमालेभित्र संसदीय दलको नेता बन्नका लागि नेताहरुको ‘लविङ’ सुरु हुन थालेको छ । राप्रपा र समाजवादीमा भने एक–एक सिट भएका कारण उनीहरु स्वतह दलको नेता हुने भएका छन् ।
कांग्रेसमा संस्थापन पक्षकै दुई नेताबीच रस्साकस्सी सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाह र बहालवाला मुख्यमन्त्री एवं कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जीवन बहादुर शाही संसदीय दलको नेताका मुख्य दाबेदार देखिएका छन् ।
मुख्यमन्त्री शाहीले केन्द्रका नेताहरुकै सल्लाहमा एक खालको सहमति भएर नै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशमा पुनः उम्मेदवार बताएका छन् । उनले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आफ्नो निरन्तरता हुने बताइरहँदा संस्थापन पक्षकै नेता शाहले पनि मुख्यमन्त्री बन्ने योजनासहित दलको नेता बन्ने तयारीमा जुटेका छन् ।
शाहले ठूलो नेतालाई प्रतिस्पर्धा गर्नका लागि संसदीय दलमा लड्न नखोजेको तर, नयाँ नेतृत्व र परिवर्तनको लागि आफु मैदानमा उत्रिएको बताएका छन् । शाहले एउटा भिजन बोकेर प्रदेशमा फर्किएको उनको भनाई छ ।
‘मैले ठुलो नेताहरुसित प्रतिस्पर्धा गर्न र अपमान गर्न खोजेको होइन्,अहिलेको आवश्यकता अनुसार नयाँ नेतृत्व आवश्यक छ,’शाहले भने, ‘केही निश्चित भिजन र उद्देश्य लिएर प्रदेशमा लडेको हुँ । समयको माग अनुसार संसदीय दलमा मेरो उम्मेदवारी रहने र कर्णालीको नेतृत्व लिने सोच छ ।’
शाहले यस पटक अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्न चाहेका थिए । तर जाजरकोट माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतलाई छोड्नुपर्ने भएपछि उनी प्रदेश झरेका हुन् । गठबन्धनका शीर्षस्त नेताहरुको भावी मुख्यमन्त्री बनाउने वचनले प्रदेश झरेको शाहले बताए ।
तर पार्टीको कार्यसम्पादन समिति सदस्य समेत रहेका जीवन शाही कर्णाली प्रदेश संसदीय दलको नेतामा आफ्नो विकल्प देख्दैनन् । २०७४ मा एक सिट प्रत्यक्ष जितेर भएपनि कर्णाली सरकारको नेतृत्व गरेर कांग्रेसको शिर उच्च बनाएको शाहीको दावी छ ।
कांग्रेसका १४ जना सांसद मध्ये बहुमतमा जीवन बहादुर शाही नै देखिन्छन् । उनीलाई संसदीय दलको नेतामा १० जनाले समर्थन गर्न सक्ने र बाँकी ४ जनाले मात्रै राजीवलाई सहयोग गर्न सक्ने नेपाली कांग्रेसका नेताहरुको दावी छ ।
यस्तै दोस्रो ठुलो दल बनेको नेकपा माओवादी केन्द्रमा पनि दलको नेता बन्नका लागि दौडधुप जारी छ । जनार्दन शर्मा निकटका रुकुमपश्चिमका राजकुमार शर्मा र शक्ति बस्नेत निकटका सुर्खेतका विन्दमान विष्टबीच दलको बन्ने होटबाजी चलिरहेको छ ।
शर्मा र विष्ट दुवै जना माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुन । शर्मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भइसकेका हुने भने विष्ट कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । यी दुई जनाबीच भइरहेको तीव्र लविङले केन्द्रमा शक्ति र जनार्दनको लडाईको रुपमा लिन थालिएको छ ।
‘हाम्रो पार्टीले दिएको निर्देशन हामी कार्यान्वयन गर्छौं ।’ माओवादी केन्द्रकी अध्यक्ष विमला केसीले भनिन्, ‘अन्य दलको जस्तो मतदान नै भइहाल्ने अवस्था सिर्जना नहोला तर सहमतिको प्रयास असफल भयो भने लोकतान्त्रिक परिपार्टी त छदैंछ ।’
यस्तै तेसा्रे दल बनेको एमाले एमालेमा पनि संसदीय दलको नेता को बन्ने भन्नेमा दौडधुप सुरु भएको छ ।
एमालेमा स्थायी कमिटि सदस्य यामलाल कँडेल र प्रदेश कमिटि अध्यक्ष विनोद कुमार शाहले दलको नेता बन्न तीव्र आकांक्षा गरिरहेका छन् । विनोद शाह एमालेका पुराना नेता हुन । उनलाई दैलेखमा एमालेको संगठन बलियो बनाउने नेताको रुपमा लिइन्छ । यस्तै, यामलाल पनि कुशल नेतृत्वमा पर्छन् । गएको पाँच वर्ष एमाले संसदीय दलको नेताको अनुभव सम्हालिसकेका नेता कँडेल कर्णाली प्रदेश इन्चार्ज समेत हुन ।
एमाले भित्र बढदै गएको तीव्र धुव्रिकरणले दलको नेता बन्न चुनाव हुने संकेत देखिएको छ यद्यपी एमाले नेताहरु भने सर्वसम्मत दलको नेता चयन गर्ने बताउँदै आइरहेका छन् । एमाले प्रमुख प्रतिपक्षमा बस्नु पर्ने भयो भने प्रदेश सभामा एमालेले प्रमुख विपक्ष दलको नेता, प्रमुख सचेतक र सार्वजनिक लेखा समितिको सभापति पाउने निश्चित छ ।
अध्यक्ष शाहले भने, ‘अहिले नै दलको नेता को बन्ने भन्नेमा हाम्रो बीचमा मतभेद नै छैन । हामीलाई पार्टीले दिएको निर्देशन अनुसार नै दलको नेता चयन गर्छौं ।’
यी हुन् प्रदेश सभाका सांसदहरूः
नेपाली कांग्रेस
प्रत्यक्ष निर्वाचित
हुम्ला (२) जीवनबहादुर शाही
जाजरकोट (२) राजिवविक्रम शाह
सुर्खेत (१) खड्ग पोखरेल
जाजरकोट (१) वेदराज सिंह
सल्यान (२) सुरेश अधिकारी
दैलेख–१ (१) पुर्णबहादुर खत्री
दैलेख–१ (२) कृष्ण विसी
दैलेख–२ (१) घनश्याम भण्डारी
कालीकोट (२) हिक्मतबहादुर विष्ट
समानुपातिक
सुर्खेत– बलिमाया बुढा
सुर्खेत – जानकी सिंह
हुम्ला– बिजया बुढा
दैलेख– इन्द्राकुमारी शाही
सल्यान– लक्ष्मी सुनार

नेकपा माओवादी केन्द्र
प्रत्यक्ष निर्वाचित
रूकुम पश्चिम (२) राजकुमार शर्मा
सुर्खेत–२ (२) विन्दमान विष्ट
हुम्ला (१) रणसिंह परियार
डोल्पा (२) वीरबहादुर शाही
कालीकोट (१) दुर्गाबहादुर रावत
सल्यान (१) भीमप्रकाश शर्मा
रूकुम पश्चिम (१) महेन्द्र केसी
सुर्खेत–१ (२) कृष्ण जिसी
मुगु (२) मंगलबहादुर शाही
समानुपातिक
हुम्ला– जुम्कित लामा काकी
कालीकोट– यशोदा न्यौपाने
रुकुम पश्चिम– मिलन खड्का रोका
डोल्पा– उर्मिला विक

नेकपा एमाले
प्रत्यक्ष
सुर्खेत–२ (१) यामलाल कँडेल
दैलेख–२ (२) विनोदकुमार शाह
जुम्ला (२) टेकराज पछाई
डोल्पा (१) शेरबहादुर बुढा
मुगु (१) जीतबहादुर मल्ल
समाुनपातिक
कालिकोट– दक्षिणा शाही
रुकुम पश्चिम– तुलसा मल्ल
हुम्ला– कलबहादुर हमाल
दैलेख– गमता विक
सुर्खेत– नन्दा गुरुङ
एकीकृत समाजवादी
प्रत्यक्ष –०
समानुपातिक
रुकुम पश्चिम– कल्याणी खड्का
राप्रपा
प्रत्यक्ष–०
समानुपातिक
सुर्खेत– सन्तोषी शाही
स्वतन्त्र व्यक्ति प्रत्यक्ष
जुम्ला (१) देवेन्द्रबहादुर शाही