सुर्खेत: कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनाका दिएका छन् । एमालेबाट कर्णाली सरकारमा सहभागी मन्त्रीहरूले आइतबार राजीनामा दिएका हुन् । एमालेबाट कर्णाली सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएसँगै नेपाली कांग्रेस सरकारमा जाने भएको छ । शनिबार मात्रै नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले केही दिनमा कांग्रेस कर्णाली सरकारमा जाने संकेत गरेका थिए । त्यस्तै केही दिन अगाडी माओवादीका उपमहासचिव जनार्दन शर्माले पनि माओवादी–कांग्रेस गठबन्धनको सरकार बन्ने बताएक थिए ।
केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । एक सिट भएको राप्रपाले पहिला सरकालाई विस्वासको मत दिएके थियो भने पछि फिर्ता लिएको थियो । मुख्यमन्त्री शर्माले एमालेका तीन मन्त्रीलाई बर्खास्त गर्न ससेका थिएनन् । दुई महिनामै उनीहरुले राजीनामा दिएपछि नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ । ४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सिटको आवश्यकता पर्दछ । कांग्रेससँका १४ र माओवादीका १३ जोडे मात्रै २७ पुग्छ । समाजवादीलाई पनि सहभागी गराए २८ पुग्छ । यसरी प्रदेश सभाको सबैभन्दा ठुलो दलका हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व अगाडी गर्नुपर्ने माग राखेको छ भने, एमालेसँग भएको साढे दुई–दुई वर्षको सहमति नै कांग्रेसमा लागू गर्ने अडानमा माओवादी छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चुनावताका माओवादी अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीका लागि आफुलाई नै निरन्तरता दिने वचन दिएकाले नेतृत्वमा आफ्नो दाबी रहने बताउँदै आएका छन् । शुक्रबार बिहान माओवादी उपमहासचिव जनार्दनसँग शाहीले भेट गरेका थिए । शर्माले वर्तमान मुख्यमन्त्री नै कायम रहने र साढे दुई वर्षपछि शाहीले नेतृत्व गर्ने गरी समीकरण अघि बढ्नेगरी अगाडी बढेको गठबन्धनका नेताहरु बताउँछन् । शर्मा–शाहीबीचको भेटमा प्रारम्भिक सहमति भइसकेको भनिएपछि त्यस्तो लिखित कुनै सहमति भने भएको छैन । कांग्रेस नेता शाहीले भने यसबारे केन्द्रले नै टुङ्गो लगाउने र सोही अनुसार प्रदेशमा लागू हुने बताउँदै आएका छन् ।
यद्यपी वर्तमान मुख्यमन्त्रीकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने भएपछि को बन्लान् मन्त्री भन्ने विषयमा पनि अड्कलबाजी आउन थालेका छन् । माओवादीकै नेतृत्वमा सरकारमा जाने स्थिति र तीन मन्त्रालय नै पाउने भए जाजरकोटबाट राजीवविक्रम शाह र बेदराज सिंह, दैलेखबाट घनश्याम भण्डारी र कृष्ण विसी, सुर्खेतबाट खड्क पोखरेल र जानकी सिंह मध्येबाट तीन जनालाई दलले पठाउन सक्ने आँकलन गरिएको छ । यदी पहिलो दलको हैसियतमा भागबण्डा मिले कांग्रेसले एक राज्यमन्त्री थप पाउने सम्भावना पनि उत्तिकै छ ।
सरकार अलमलकै कारण विगत तीन महिनादेखि कर्णाली प्रदेश सभा विजनेशविहिन भएको थियो । त्यस्तै मिनी संसदका रुपमा रहेको विषयगत समितिहरु समेत नेतृत्वविहिन अवस्थामा छन् । अहिले माओवादीले एक मुख्यमन्त्री, एक राज्यमन्त्री र तीन मन्त्रालयको जिम्मेवारी लिएको छ ।
खुलानजर । २७ चैत्र २०७९, सोमबार ०२:२९