नेतृत्व र राज्यबाट उपेक्षामा परेको ‘छाप्रे’

टिकाराम बुढा
प्रकृतिको काखमुनी फुटेको मेरो गाउँ ।
लुटेराले भित्रभित्रै लुटेको मेरो गाउँ ।।
जति जोगी आएपनि कानै चिरिएका ।
अवसरमा हरेक पटक छुटेको मेरो गाउँ ।।
माथि भनिएजस्तै संघीयता पश्चात विकास र समृद्धिको सपना देखेको मेरो गाउँ ‘छाप्रे’ आज आफैँ नेतृत्व र राज्यबाट ठगिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट करिब १६ कोष पश्चिममा एक रमणीय र अग्लो डाँडामाथि अवस्थित मेरो गाउँ छाप्रे हाल पञ्चपुरी नगरपालिका–७ मा पर्दछ । संघियता पश्चात ‘गाउँ–गाउँमा सिंहदरबारको अधिकार आउँछ’ भन्ने नारा सुन्दै आएको थिएँ । तर यो संघीयता मेरो गाउँको निमित्त ‘कागलाई बेल पाक्यो हर्ष न, बिस्मात’ भन्दा फरक पर्दैन । यहाँ करिब ६६५ घरधुरी र ३१७० जनसंख्या भएको छाप्रे भौगोलिक विकटता, अशिक्षा, बेरोजगारी, अस्वस्थकर जीवनशैली जस्ता समस्या यहाँका जनताको विकासका लागि बाधक बनेका छन् । अर्कोतिर राज्यले जनताका लागि दिनुपर्ने आधारभूत पक्षमा समेत ध्यान नदिँदा यहाँ जनताको अवस्था झन् कष्टकर र दयनीय बनिरहेको देखिन्छ । अहिलेको विज्ञानको युगमा शिक्षा, स्वास्थ्य, यातायात, बिजुली, खानेपानी जस्ता कुरा एउटा राज्यले हरेक नागरिकका घरदैलोसम्म पुर्याउनु उसको कर्तव्य हो । तर मेरो छाप्रेमा जम्मा १२ ओटा सरकारी विद्यालय छन् । केहीको भवन पक्की बनेपनि धेरै जसोमा उही पुरानै विद्यालय भवन, इमेल इन्टरनेटको अवाभ र  असुरक्षित कक्षाकोठा हुँदाहुँदै पनि विद्यार्थीलाई पढाउनुपर्ने बाध्यात्मक परिस्थिति छ भने यहाँको स्वास्थ्य अवस्था झन् जर्जर देखिन्छ । एक स्वास्थ्य चौकी र दुई स्वास्थ्य इकाई त छन् तर आवश्यकता अनुसार औषधी, स्वास्थ्यकर्मी र यातायातको सहज पहुँच नहुँदा डोको र स्टेचरमा बिरामी बोक्नुपर्ने बाध्यता छ । त्यसमा पनि मनभरी बिरामीको चिन्ता बोक्दै घन्टौँ लगाएर राम्रो स्वास्थ्य संस्था लैजानुपर्ने कहालीलाग्दो अवस्था यहाँका जनताका लागि अझै जीवित देखिन्छ । यहाँका जनताको जीवनशैली हेर्ने हो भने म एउटा नगरपालिकाको बासिन्दा हुँ भन्न पनि लजाउनु पर्ने अवस्था छ, किनकी हिमाली जिल्लाका धेरै ठाउँसम्म बिजुलीको पहुँच पुगिसक्दा पनि मेरो छाप्रे कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको एक गाउँ अझै अन्धकारमा बस्नु परिरहेको छ ।

बिडम्बना साच्चिकै कारुणिक छ भने खानेपानी अवस्था हेर्ने हो भने एक गाग्री पानीको भरमा आफ्ना दैनिक सरसफाइका कार्य गर्नुपर्ने अवस्था यहाँका नागरिकका लागि जीवनकै एक हिस्सा बनेको छ । यहाँ नागरिकको आयस्रोत हेर्ने हो भने पशुपालन, फलफुल र कृषि नै प्रमुख हो । तथापी यहि आयस्रोतको भरमा आफ्नो परिवारको जीविका चलाउन नसक्दा भारतका विभिन्न सहरमा रोजगारीका लागि युवाहरु आफ्नो परिवारको गरिबीको पिडा मनभरी बोक्दै परदेशिनु पर्दा आज गाउँघर रित्तो हुने अवस्थामा छन् । कोहि मान्छे मर्दा समेत मलामीसम्म नपाउने दुःखदायी पिडा छाप्रेली नागरिकको देखिन्छ । पञ्चपुरी नगरपालिकाको प्रमुख धार्मिक स्थल पञ्चपुरी माई मन्दिर यसै छाप्रेमा पर्दछ जसको नामबाट नै पञ्चपुरी नगरपालिकाको नामकरण गरिएको हो । यो एउटा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकासमा प्रदेश, केन्द्र र स्थानीय सरकारले ध्यान दिनसके छाप्रेको मात्र नभई पञ्चपुरीको मुहार बदल्न सहजै सकिनेछ ।


चुनावका बेला नेताहरु गाउसम्म आइपुग्छन् । रंगिन नाराहरु घन्काउँछन्, सडक, अस्पताल, विद्यालय, खानेपानी, बिजुली जस्ता कुरा बनाउने र समृद्धि ल्याउने गाउँको मुहार बदलिदिने कुरा भाषणमा वाचा गर्छन । अनि तिनै नेतालाई संघीयता पश्चात पनि दुई–दुई पटक भोट दिइ सांसद र मन्त्रीसम्म यहाँका जनताले पुर्याएका छन् । तर बिडम्बना जनतालाई आफु माथि पुग्ने सिढी मात्र बनाइरहे आफ्ना दिनचर्या भने बदले जनतालाई उही धुलो मैलोमै छोडे र चुनाव सकिए लगत्तै तिनका आवाजहरु पनि हराए त्यसपछि बाँकी रहे यहाँका गरिब, राज्यबाट उपेक्षित र राज्यबाट ठगिएका नागरिक मात्र के राज्यका नीति निर्माता र विकासका अगुवाहरुलाई यो कहालीलाग्दो अवस्थाले केहि असर गर्दैन ? या समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराहरु कागज र भाषणमै सिमित हुने नियति भएका हुन् ? जबसम्म राज्य र स्थानीय सरकारले विकट समुदायका मुद्दालाई विकासका योजनामा केन्द्रबिन्दु बनाउन सक्दैन तबसम्म मेरो गाउँ र छाप्रेका जनताका लागि समृद्धिको सपना केवल सपनामै सिमित हुने देखिन्छ ।

समय आएको छ राज्य र सबै तहका सरकारले गफ र नाराको राजनीति छोडेर वास्तविक विकासका कामहरु अगाडी बढाओस् । जबसम्म भौगोलिक अवस्थाले पिछडिएको गाउँका नागरिकका आँशु र पीडाहरु बुझ्ने नीति आउँदैन तबसम्म जनताको जीवनस्तर र राज्य गरिबी, अभावको जन्जिरबाट कहिल्यै मुक्त पाउँदैन ।
लेखक मालिका माध्यामिक विद्यालय पैसरा छाप्रेका शिक्षक हुन् ।