कर्णालीमा घट्दै औलो रोगका विरामी

सुर्खेत : कर्णाली प्रदेशमा औलो रोगका विरामी घट्दै गएका छन् । पछिल्लो ५ वर्षको तथ्यांकले प्रदेशमा औलो रोगका विरामी घट्दै गएको देखाएको हो ।
आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशभर २०८ जना औलो रोगका विरामी रहेकोमा आर्थिक वर्ष ०७३÷०७७ मा घटेर ५१ जनामा झारिएको थियो । तर आर्थिक वर्ष २०७७÷०७८ मा ३४ जनाबाट औलो रोगका विरामी रहेकोमा बढेर ४८ जना पुगेको थियो । चालू आर्थिक वर्ष २०७९÷८० मा पनि २३ जनामा औलो देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा कर्णालीका हुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा औलो रोगका विरामीहरू भेटिएका हुन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् १३ जनामा रोग देखिएको हो ।
त्यस्तै हुम्लामा ७ जना, कालिकोटमा २ र दैलेखमा एक जनामा औलो रोगका विरामी भेटिएको प्रदेश स्वास्थ सेवा कार्यालयका श्याम आचार्यले जानकारी दिए ।
चालू आर्थिक वर्षमा कर्णालीका अन्य ६ जिल्लामा औलो रोगका विरामी देखिएका छैनन् । चालू आर्थिक वर्षमा सल्यान, रूकुमपश्चिम, जाजरकोट, डोल्पा, जुम्ला र मुगुमा औलोका विरामी नभेटिएका हुन् ।
नेपाललाई सन् २०२५ भित्र औलो रोग मुक्त पार्ने लक्ष्य राखिएको छ । तर औलो रोगीका विरामीलाई शुन्यमा झार्न सकिएको छैन ।
कर्णाली प्रदेशमा औलो रोग सम्बन्धि तालिम प्राप्त जनशक्ति नहुनु, औलो रोग उन्मुलनका लागि प्रर्याप्त बजेटको अभाव, माग अनुसार किट्नाशकयुक्त झुल र विषादी व्यवस्थापन कठिनाइ र हिमाली जिल्लामा औलोका विरामी भेटिदा नियन्त्रणमा चुनौति देखिएको प्रदेश स्वास्थ सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए ।
यस्तैबीच मंगलबार विश्व औलो रोग दिवस मनाइने छ । यश वर्ष शून्य औलो अबको थाली, नवीनतम् कार्य, कार्यान्वयनमा लगानीू भन्ने मुल नारासहित औलो रोग दिवस मनाउन थालिएको छ । यस्तै औलो रोग दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य सेवा नर्देशनालय सुर्खेतले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख एलएन तिवारीले औलो रोग उन्मुलनका लागि सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताए ।