मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वयन विषयक छलफल

सुर्खेत: इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय समिति, सुर्खेत र भेरीगंगा नपासँगको समन्वयमा भेरीगंगा नगरपालिकामा मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
छलफल कार्यक्रमबाट भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालको संयोजकत्वमा मानव अधिकारसम्बन्धी स्थानीय तह समन्वय समिति गठन भएको छ । समितिका अन्य सदस्यमा नगर उप्रमुख, सबै वडाअध्यक्ष, सुरक्षा निकायका प्रमुख, सम्बन्धीत विषय हेर्ने शाखा अधिकृत रहेका छन् । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल रहेकोे इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले जानकारी दिए ।
समितिमा मनोनयन गर्नुपर्ने एक जना महिलासहित तीन जना नागरिक समाजका प्रतिनिधि समितिको आगामी बैठकले मनोनित गर्ने नगर प्रमुख ढकालले प्रतिवद्धता जनाए ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनारले मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको सोच र उद्देश्य अनुसार स्थानीय तहले कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
यस कार्ययोजना कार्यान्वयन गर्ने सवालमा संघ, प्रदेश र स्थानीय तीनै तहबाट सम्पन्न गरिने विकासका कार्यहरू अधिकारमा आधारित अवधारणा अनुरुप कार्यान्वयन गनुपर्ने समन्वय प्रमुख सुनारले सुझाव दिए ।
स्थानीय समितिले आवाधिक बैठक बसेर जिल्ला समन्वयलाई कम्तिमा ६ महिनामा एक पटक गतिविधिका विषयमा प्रतिवेदन बुझाउन समन्वय प्रमुख सुनारले अनुरोध गरे ।
मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना स्थानीय तह समन्वय समितिका संयोजक एवम् नगर प्रमुख यज्ञप्रसाद ढाकालले मानव अधिकारको रक्षा गर्न स्थानीय समिति प्रतिवद्ध रहेको र मानव अधिकारका क्षेत्रमा संवेदनशीलताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्ययोजना अनुसार काम गर्न नगरपालिकाले कार्यविधिको मस्यौदा बनाई प्रक्रिया अगाडी बढाउने र काममा दत्तचित्त भएर लाग्ने प्रमुख ढकालले आश्वासन दिए ।
नगर उपप्रमुख धनसरा बोहराले मानव अधिकारको हकहितमा काम गर्न समितिले चासो दिने बताउँदै समिति प्रति अपनत्व लिएर मानव अधिकार उल्लङ्घनका पीडितलाई उचित राहत र न्याय प्रदान गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरिन् ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पाँचौं राष्ट्रिय कार्ययोजनाको पृष्ठभूमि, दिर्घकालीन सोच, प्रमुख उद्देश्य, रणनीति, कार्ययोजनाले समेटिएका विषय, कार्ययोजना कार्यान्वयन, समन्वय र अनुगमन, कार्ययोजना कार्यन्वयनमा सम्बद्ध निकायको भूमिका, जिम्मेवार निकाय, कार्ययोजना समन्वय संयन्त्र, अपेक्षित उपलब्धि लगायतका विषयमा प्रकाश पारेका थिए ।
उक्त छलफल कार्यक्रममा कर्णाली प्रदेशका पूर्व सांसद अमृता शाही, जिल्ला समन्वय समिति सुर्खेतका समन्वय अधिकारी पीताम्बर पाण्डे, मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पीताम्बर ढकाल, मानव अधिकारका लागि महिला एकल महिला समूहका जिल्ला अध्यक्ष ममता नगाल, नागरिक समाजका प्रतिनिधि र नगरपालिकाको सम्बन्धीत शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।