
सुर्खेत: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)काे २९ औं साधारणसभाले विजयराज गौतमको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । कात्तिक २८ गते सम्पन्न साधारणसभाले सदस्यहरुमा गीता बराल, लता प्याकुरेल, केशव सिग्देल, विकास आचार्य, डा. विद्या चापागाई र दुर्गा कार्की चयन गरेकाे हाे। साधारण सभाले पाँच बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ । केही दिनपछि हुने नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ । यसैगरी, साधारणसभाले ५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
यस्ता छन् प्रस्तावहरू
१. गत भदौ २३ र २४ गते नव युवापुस्ताले गरेको प्रदर्शनका क्रममा भएको मानवीय क्षति प्रति यो साधारण सभा दुःख व्यक्त गर्दछ । प्रदर्शनका क्रममा शहादत प्राप्त गर्नु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछौं । प्रर्दशनका क्रममा भएको मानवीय क्षति तथा आगजनी तथा लुटपाटका घटनाको निष्पक्ष छानविन गरी संलग्नहरू कानुनी दायराभन्दा बाहिर नहुने सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दछौं । भदौ २३ र २४ गतेको घटनापछि सरकारले गठन गरेको छानविन आयोगले गरिरहेका कार्यहरुले यसको निष्पक्षतामाथि प्रश्न उठेकाले पूर्वाग्रहविना कार्य सम्पादनका लागि साधारणसभा माग गर्दछ ।
२. अन्तरिम सरकारले २०८२ फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन भयरिहत वातावरणमा सम्पन्न गर्ने अवस्था सृजना गर्न नेपाल सरकारसँग यो साधारण सभा आग्रह गर्दछ । घोषित निर्वाचन सफलतापूर्वक सम्पन्न हुनसके मात्रै हालको संवैधानिक संकटबाट देशले मुक्ति पाउने र नवयुवा पुस्ताले उठाएका सुशासनका माग पूरा हुनसक्ने भएकाले निर्वाचनतर्फ ध्यान केन्द्रित गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछौँ ।
३.भदौ २४ गते नेपालका कारागारबाट फरार भएका करिब पाँचहजार कैदी बन्दी तथा लुटिएका हतियारले सामाजिक अमन चयन तथा आगामी निर्वाचनका लागि खतरा उत्पन्न हुने भएकाले कैदी बन्दी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न र लुटिएका हतियार फिर्ता ल्याउन आवश्यक संयन्त्र परिचालन गर्न नेपाल सरकारसँग माग गर्दछौँ ।
४.सशस्त्र द्वन्द्वपीडितको न्याय परिपूरणका सवाल विगत १९ वर्षदेखि समाधान हुन सकेको छैन । पीडितको सहमति, संवाद र सहकार्यमा सङ्क्रमणकालीन न्यायको सवाललाई टुङ्गो लगाउन आवश्यक पहलकदमी लिन यो साधारण सभा नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
५. लोकतन्त्रमा नागरिक संवादको मुख्य आधार नागरिक संस्था हुन् । नेपालका नागरिक संस्था तथा तिनका गतिविधिप्रति बढेको आक्रमणको साधारणसभा गम्भीर सरोकार व्यक्त गर्दछ । नागरिक समाज र नागरिक संस्थाको गतिविधि कमजोर हुँदा लोकतन्त्रलाई संस्थागत गर्न कठिनाइ हुने कुरालाई ध्यानमा राख्न साधारण सभा सरोकारवाला सबैको ध्यानाकर्षण गर्दछ ।

खुलानजर । २९ कार्तिक २०८२, शुक्रबार १०:०८