कर्णालीमा पहिलो पटक वितरण गरियो `फोर्टिफाइड´चामल

सुर्खेत: कर्णाली प्रदेशमा पहिलो पटक सुपथ मूल्यमा स्तरोन्ती गरिएको (फोर्टिफाइड) चामल विक्रि वितरण गरिएको छ । बिहिबारबाट मुगुको खत्याड गाउँपालिका–११ रातापानीबाट विक्रि सुरु गरिएको हो ।
स्तरोन्नती गरिएको उक्त चामल आम सर्वसाधारणको पहुँचमा पुग्ने गरि विक्रि वितरण गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए । उनका अनुसार वडा नम्बर ११ को रातापानी स्थित महिला उत्थान तथा कृषि सहकारी संस्थानबाट सुपथ मूल्यमा फोर्टिफाइड चामल विक्रि वितरण गरिनेछ । बिहिबार मात्रै दुइ सय क्विइन्टल चामल विक्रि भएको छ ।
‘फोर्टिफाइड चामल पोषणयुक्त मानिन्छ । अहिले मगुबाट कर्णालीमै पहिलोपल्ट यो चामल वितरण सुरु गरेका हौं,’प्रमुख मिश्रले भने, ‘आगामी वर्षमा कर्णालीको मुगु, कालिकोट, जुम्ला, हुम्ला र डोल्पामा ७४ हजार क्विइन्टल विक्रि गर्ने योजना छ । यसका लागि प्रादेशिक कार्यालय र जिल्ला शाखा कार्यालयका डिपोहरुले समन्वय गर्नेछन् ।’
प्रमुख मिश्रले स्तरोन्नति गरिएको (फोर्टिफाइड) चामलको महत्व र यसको उपयोगिताको विषयमा जानकारी दिँदै सदुपयोगको लागि स्थानीय जनप्रतिनिधि र उपभोक्तालाई ध्यान दिन अनुरोध गरेका थिए ।
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र विश्व खाद्य कार्यक्रम (डब्लू एफपी) को सन् २०१९ मा स्तरोन्नती गरिएको चामललाई वितरणमा ल्याउने सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप वितरण सुरु गरिएको विश्व खाद्य कार्यक्रमका कार्यक्रम सहायक रञ्जन कपाली बताए ।


‘तराई क्षेत्रका किसानसँग अरुवा मोटा र अरुवा मकवानपुरे धान सरकारको न्यूनतम समर्थनमा खरिद गरेर बर्दियाको राजापुर स्थित खाद्य तथा व्यापार संस्थाको मिलबाट फोर्टिफाइड गरी नागरिलाई विक्रि वितरण गरिएको छ,’कपालीले भने, ‘ फोर्टिफाइड चामलमा भिटामिन र मिनीरल थपिन्छ । सरकारले तोकेअनुसार प्रतिकिलो ५७ रुपैयाँका दरले विक्रि गरिएको छ ।’
नागरिकको स्वास्थ्य सुधारका लागि सुपथ मूल्यमा फोर्टिफाइड चामल विक्रि वितरण गरिएको उनको भनाई छ ।
कार्यक्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगु र जुम्लाका प्रमुख तथा डिपो कार्यालय श्रीकोट मुगुका प्रमुख, वडाका अध्यक्ष तथा अन्य प्रतिनिधिहरु र स्वयमसेविका लगायतको सहभागिता रहेको थियो ।