तोकिएको समयमा निर्वाचन भए मुलुकले निकास पाउँछ : कांग्रेस नेता थानी

सुर्खेत: नेपाली कांग्रेसका नेता तथा निवर्तमान प्रतिनिधि सभाका सांसद हृदयराम थानीले देशमा देखिएको राजनीतिक अनिश्चितता र जटिल अवस्थाबाट निकास पाउन तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग अनौपचारिक कुराकानी गर्दै उनले विशेष परिस्थिति उत्पन्न भएको कारण देखाएर निर्वाचन लम्ब्याउन खोज्ने प्रयास देशको हितमा नहुने बताए ।
नेता थानीका अनुसार, निर्धारित मिति फागुन २१ गतेका लागि तोकिएको निर्वाचन नै देशलाई स्थायित्वतर्फ लैजाने उपाय हो । उनले भने, ‘तोकिएको समयमा नै निर्वाचन हुनुपर्छ भन्ने मेरो मान्यता छ । निर्वाचन नै अहिलेको निकास हो, नभए फेरि अर्को संकट सिर्जना हुन सक्छ ।’ उनका अनुसार, देशमा सुशासन र स्थायित्वका लागि राजनीतिक दलहरू एकजुट भएर संविधानले तोकेको समयसीमा र प्रक्रियालाई मान्नु जरुरी छ ।
उनले संसद् पुनःस्थापनाको विपक्षमा आफू रहेको बताउँदै भने, ‘अहिले संसद् पुनःस्थापना गरेर फेरि राजनीतिक द्वन्द्व बढाउने भन्दा निर्धारित समयमा निर्वाचनमा जानु नै देश र जनताको हितमा हुन्छ । अहिले पार्टीले जितोस् वा हारोस् त्यो मुख्य कुरा होइन, तर देशले जित्न जरुरी छ ।’
थानीले देशमा हाल उत्पन्न जटिल अवस्थाको जड सुशासनको अभाव रहेको उल्लेख गरे । उनका अनुसार, सरकारले सुरुवातमै जेनजी आन्दोलनको संकेतलाई गम्भीर रूपमा नलिएर अहिलेको अवस्थासम्म ल्याएको हो । उनले भने, ‘मैले संसद र विषयगत समितिहरूमा नै देशको परिस्थिति ठीक छैन भनेर सुझाव दिएको थिएँ । गृहमन्त्री र प्रधानमन्त्रीलाई पनि सुशासन कायम गर्न आग्रह गरेको थिएँ । तर, त्यो चेतावनीलाई सरकारले वेवास्ता गर्दा जेनजी आन्दोलन जस्तो अवस्था सिर्जना भयो ।’
उनका अनुसार, वर्तमान परिस्थितिमा संसद विघटन हुनु देशको राजनीतिक प्रक्रिया र जनमतको नैसर्गिक नतिजा हो । ‘यो बिषेश परिस्थिति हो, संसद विघटन अस्वाभाविक होइन । अब संविधानको मार्गदर्शनमा अघि बढ्नुपर्छ,’ उनले भने, ‘अहिलेको सरकारले राम्रो या नराम्रो के गर्यो त्यो म बोल्ने पक्षमा छैन । तर, समयमा नै चुनाव गराउने म्याण्डेट ल्याएर आएको सरकारले त्यो जिम्मेवारी पुरा गर्नैपर्छ ।’
कांग्रेसभित्र देखिएको विवादबारे उनले स्पष्ट पार्दै नेता थानीले भने, ‘पार्टी फुट्ने हल्ला बाहिर फैलाइएको मात्र हो । वास्तविकतामा कांग्रेसभित्र मतभिन्नता भए पनि त्यसले संगठनात्मक फुट ल्याउँदैन ।’ उनका अनुसार, पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेको छ र आन्तरिक छलफलमा बहुमत नेताहरू विशेष महाधिवेशनको पक्षमा छन् । ‘५३ प्रतिशत साथीहरू विशेष महाधिवेशनको पक्षमा हुनुहुन्छ । तर, पार्टी फुट्दैन, बरु अहिलेको अवस्थामा कांग्रेस अझै एकजुट भएर अघि बढ्छ,’ उनले भने।

थानीले संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा राख्दै संविधान संशोधन नभएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा नहुने भन्दै देशलाई अप्ठारोमा पार्नुभन्दा पनि देशको निकास हुृनेगरी अगाडी बढ्नुपर्ने बताए ।
‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था अहिले संविधान संशोधन नगरी सम्भव छैन । त्यसैले अहिलेको संवैधानिक ढाँचा र लोकतान्त्रिक मूल्यमा रहेर देशलाई निकास दिनेगरी अघि बढ्नुपर्छ,’ उनले थपे, ‘संविधान संशोधनका कुरा गरेर देशलाई थप अप्ठ्यारोमा पार्नु हुँदैन ।’
फरक प्रसंगमा नेता थानीले पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको पश्चिमी खण्डमा काम ढिलो भइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले पाल्पाघाटदेखि बेनीघाटसम्मको सडक खण्डमा समयमै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘चौकुने गाउँपालिका अध्यक्षसहितको प्रतिनिधि टोलीसँग आवश्यक समन्वय गरेर अघि बढ्ने तयारी भएको थियो । तर देशमा देखिएको अस्थिर अवस्थाले केही काममा ढिलाइ भएको छ,’उनले भने, ‘म त्यो क्षेत्रको पूर्व जनप्रतिनिधिका हिसाबले पनि हरबखत सहयोग र समन्वय गर्न तयार छु ।’
नेता थानीले विकास र सुशासन एकअर्कासँग जोडिएका विषय भएका कारण जबसम्म राजनीतिक स्थायित्व कायम हुँदैन, तबसम्म विकासका कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसक्ने स्पष्ट पारे । ‘देशमा स्थायित्व ल्याउने पहिलो कदम भनेकै तोकिएको समयमा निष्पक्ष र विश्वसनीय निर्वाचन हो,’ उनले भने ।