सत्ता र शक्तिको दुरुपयोग विभिन्नरूपमा प्रकट हुन्छ । सत्ताका आडमा गरिने राज्यको दोहन गर्ने प्रवृत्ति पनि दुरुपयोगको एउटा प्रवृत्ति हो । नेपालका प्रायः सबै राजनीतिक दलमा सत्ताको दुरुपयोग गरेर राज्यको दोहन गर्नेहरूको पहुँच र प्रभावमात्र होइन प्रभुत्वसमेत रहेको अनेकौं दृष्टान्त देखिएका छन् ।
नेपालको राजनीतिक वृत्तमा तस्कर र ठगहरूको जत्तिकै प्रभाव र उपस्थिति ‘कामचोर ठेकेदार’हरूको पनि देखिन्छ । संघ, प्रदेश र स्थानीय तहका पदाधिकारीमध्ये कति जना निर्माण व्यवसायमा पनि छन् भन्ने भरपर्दो तथ्याङ्क त कतै नहोला तर सुशासनका लागि यो प्रवृत्ति महारोग नै बन्न पुगेको छ । कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिकाका केही सडक प्रतिनिधि सभा सदस्यहरूले ठेक्का लिएकै कारण विगत केही वर्षदेखि अलपत्र हुँदा पनि नियामक निकाय मूकदर्शक भएका छन् । निर्माण कार्य सम्पन्न गराउन अवलम्बन गर्न सकिने विभिन्न कानुनी उपाय भए पनि ठेकेदारको राजनीतिक शक्तिका कसैले पनि कारबाही गरेको छैन ।
शासनमा ‘स्वार्थको बझान’लाई उपेक्षा गरिएपछि हुने यस्तै सत्ताको दुरुपयोग नै हो । चुनाव जित्नैका लागि राजनीतिक दलका नेताहरूले बाहुबली र नवकुवेरहरूलाई उमेदवार बनाउन थालेपछि यस्तो विकृति बढ्ने नै भयो । हेक्का रहोस् । चुनाव जित्नका यस्तै ‘अराजनीतिक’ उपाय अपनाउन थाल्ने हो भने छिटै नै राजनीतिक नेताहरू स्वयं विस्थापित हुनेछन् ।
शासकहरूले सम्पत्तिको लोभ गरे भने सत्ताको दुरुपयोग सुरु हुन्छ । पूर्वका चाणक्य वा पश्चिमका प्लेटोजस्ता राजनीतिक चिन्तकहरूले शासक सम्पत्तिका मामिलामा ‘जोगी’ हुनुपर्छ भनेका थिए । अहिले त्यसो भन्नु त अव्यावहारिक होला तर राजनीतिकर्मीले व्यवसाय गर्ने हो भने पदको दुरुपयोग गर्नु हुँदैन ।
देशमा अहिले देखिएको बेथिति, अराजकता र भ्रष्टाचार हेर्दा स्थितिमा तत्काल परिवर्तन नहुने हो भने देश निकै कठिन अवस्थामा पुग्ने लक्षण देखिएको छ । देशलाई यस दुरवस्थाबाट मुक्त गर्ने दायित्व राजनीतिक नेतृत्वकै हो । सामर्थ्य पनि उनीहरूसँगै छ । यसैले राजनीतिमा देखिएको अपसंस्कार अन्त्य गर्ने दायित्व बोध शीर्ष नेताहरूले गरून् ।
जगतदल । ८ आश्विन २०८१, मंगलवार १७:३७