
सुर्खेत: खडेरीको सिजन लागेसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी संकट हुँदै गएको छ । वीरेन्द्रनगर उपत्यकामा खानेपानीको व्यवस्थापन सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले गर्दै आएको छ । तर, खडेरीको सिजनमा चार दिनमा मात्रै पानी वितरण गर्न सकिने भन्दै खानेपानी संस्थाले सुचना जारी गरेको छ । यहि चैत २० गते संस्थाले लामो समयको सुख्खा खडेरीका कारण पानीक स्रोतहरुमा ह्रास आएको भन्दै चार दिन (९६ घण्टा) पछि मात्रै खानेपानी वितरण गर्न सकिने तालिका नै सार्वजनिक गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार वीरेन्द्रनगर नगरपालिकाको कुल जनसंख्या एक लाख ५३ हजार ८६३ छ । ३८ हजार ३७७ घरधुरी छन् । प्रदेश राजधानी भएसँगै १० जिल्लाका नागरिकहरुको चाप छ । त्यहि कारण पनि यहाँको जनसंख्या तीन लाखको हाराहारीमा छ ।
वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्न दैनिक ३८८ लिटर प्रति सेकेन्ड आवश्यक पर्छ । वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमताअनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, इत्राम खोलाबाट २७, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रति सेकेन्ड गरी जम्मा १५८ लिटर प्रति सेकेण्ड खानेपानी उपलब्ध हुन्थ्यो । त्यसले उपत्यको खानेपानीमा केही सहज बनाएको थियो । अहिले खडेरी लागेपछिे झुप्रा खोलाबाट ५०, खरीबोरी खोलाबाट २०, इत्राम खोलाबाट १०, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट ५ लिटर प्रति सेकेण्ड १५८ लिटर मात्रै पानी आपूर्ति भएकोले ९६ घण्टापछि मात्रै पानी वितरण गर्न सकिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले बताए । ‘वीरेन्द्रनगरमा बढ्दो शहरीकरणका कारणले हरेक वर्ष खानेपानीको अभाव हुने गरेको छ । सुख्खा सिजनका कारण खानेपानीका मुहान सुकेका छन्,’उनले भने, ‘वैकल्पिक उपाय नभएसम्म यो समस्या हरेक वर्ष आइरहन्छ ।’ उनका अनुसार संस्थाले हाल २० हजार उपभोक्तालाई खानेपानी वितरण गरिएपनि मागअनुसारको आपूर्ति गर्न सकिएको छैन ।
पुरानो डिजाइनमा संरचना बनाउँदा माग अनुसारको सन्तुलन हुन नसकेको खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए ।
‘अहिलेको डिजाइनिङ भनेको २०६२ देखि ०७७ सम्म मात्रै हो । त्यसको म्याद सकिएको छ । उपत्यकामा बढ्दो शहरीकरणसँगै मागअनुसार आपूर्तिमा सन्तुलन कायम हुन सकेको छैन,’ उनले भने, ‘२०५९ सालमा वीरेन्द्रनगरमा प्रयोगमा आएका खानेपानीका स्रोतहरूको प्राविधिक अध्ययन अनुसार चार खोलाबाट १०४ लिटर प्रतिसेकेण्ड खानेपानीको डिजाइन थियो । जसले साढे ५२ हजार जनालाई पुग्थ्यो ।’
एक दशक अघिबाटै वीरेन्द्रनगरमा खानेपानीको अभाव हुँदै आएको छ । त्यसको विकल्प भेरी पम्पिङ आयोजना निर्माणाधीन अवस्थामा छ । ०८१ भदौ १३ मा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालय सुर्खेत र निर्माण व्यवसायीबीच निर्माण सम्झौता भएको थियो । उक्त सम्झौतामा आयोजना इकाइ कार्यालयका प्रमुख सञ्जीवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिञ्ज्याङ टर्मस इन्टरनेसनल इकोनोमी एन्ड टेक्निकल को–अपरेसन कम्पनी लिमिटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठबीच हस्ताक्षर भएको थियो । तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड ८ लाख रुपैयाँको लागतमा सम्झौता भई काम अघि बढेको थियो । ग्लोबल टेन्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको थियो । सोही अनुसार आयोजना कार्यान्वयन भइरहेको छ । निर्माणको काम दुई चरणमा गरेर तीन वर्षमा सक्ने लक्ष्य कम्पनीले लिएको छ । पहिलो चरणमा मुहानदेखि इन्टेकसम्मको काम निर्माण कम्पनीले गनेछ । नदी छेउमा इन्टेक निर्माण, मोटर जडानका लागि संरचना निर्माण र त्यहाँसम्मको पाइपलाई विस्तार, ६.८ किलोमिटर पाइपलाइन विस्तार, अमृत डाँडामा ३ हजार घनमिटरका तीन वटा इन्टेक निर्माण लगायतका काम गर्नुपर्नेछ । दोस्रो चरणमा वितरण लाइन विस्तारका लागि ठेक्का खोलिनेछ ।
पाइपलाइन मार्फत ५६० लिटर प्रतिसेकेण्ड पानी अमृत डाँडासम्म पुग्नेछ । अमृतडाँडामा निर्माण गरिएका इन्टेकमा जम्मा गरिएको पानी वितरण गरिने आयोजनाले जनाएको छ ।
जगतदल । २५ चैत्र २०८१, मंगलवार २०:२२