फागुनभित्र नेपाल एअरलायन्सले सुर्खेतमा परिक्षण उडान गर्ने

सुर्खेत: फागुन महिनाको पहिलो साताभित्र नेपाल एअरलायन्सले सुर्खेतमा परिक्षण उडान गर्ने भएको छ ।
आइतबार नेपाल एअरलायन्सको टीम अध्ययनका लागि सुर्खेत आएको थियो । उनीहरुले सुर्खेत स्थित विभिन्न संघ संगठन र निजी क्षेत्रसँग समेत भेटघाट तथा अन्तरक्रिया गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सो टीमलाई स्वागत गर्दै नेपाल एअरलायन्सको जहाज आउनुे विषयले कर्णालीलाई सकरात्मक सन्देश दिएको बताए ।
उनले केही निजी विमानको एकाधिकार र महँगीका कारण बाध्यतामा परेर सेवा लिनपर्ने अवस्था आएको बताए । दशौं राष्ट्रिय खेलकुदलाई समेत यसले सहज हुने अध्यक्ष शाहीले बताए ।
नेपाल एअरलायन्सका परियोजना निर्देशक महेश कुमार मरिताले सुर्खेतको रिपोर्ट लिएर केन्द्रमा बुझाए पश्चात परिक्षण उडान गर्ने बताए ।


‘हामीले यहाँबाट रिपोर्ट लिएर केन्द्रमा बुझाउँछौं । त्यसपछि काम अगाडी बढ्छ,’उनले भने, ‘सायद फागुन पहिलो साताभित्र नै परिक्षण उडान गर्ने छौं । त्यहि कारण हामीले निजी क्षेत्र र सरोकारवालहरुसँग छलफल र समन्वय गरिरहेका छौं ।’
एअरलायन्सले जहाज खरिद प्रकियामा अगाडी बढाएको उनको भनाई छ । सुर्खेत एअरलायन्स अप्रेसनका सदस्य सचिव देवेन्द्र पुनले नेपाल एअरलायन्सको उडान सुरु भएपछि कर्णालीले कर्णालीमै जोड्ने बताए । उनका अनुसार हुम्ला, डोल्पा मुगु र जुम्ला लक्षित गरेर एअरलायन्सले योजना बनाइरहेको छ । राजनीतिक, सामाजिक लगायतका विषयमा सहकार्य हुनुपर्ने उनको भनाई छ । सुर्खेत एअरपोर्ट नेपालगञ्जपछि बिजी हुने मध्येका दोस्रो एअरपोर्ट हो । नेपाल एअरलायन्सले छिटो उडानको सुरु गरि यहाँका नागरिकलाई सहज बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।