सुर्खेत : आगामी असार २ र ३ गते नवाैं राष्ट्रिय हाप्किडाे प्रतियोगिता सुर्खेतमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद र कर्णाली प्रदेश खेलकुद विकास परिषदको स्वीकृति तथा नेपाल हाप्किडो संघको आयोजनामा प्रतियोगिता हुनेछ।
संघको वार्षिक नियमित कार्यक्रम अनुसार प्रदेशहरुमा चक्रिय प्रणालीमा खेलाडीलाई निरन्तर चलायमान गर्न, खेलाडीको क्षमता विकासको लागि, खेलाडीलाई पर्याप्त अनुभव र अवसर प्रदान गर्न, स्थानीयस्तरदेखि कार्यक्रमहरू व्यापक रूपमा आयोजनागरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न, हाप्किडो खेल विकास र प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्नका लागि राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने
नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगले बताए ।
उनका अनुसार प्राविधिक, खेलाडी व्यवस्थापन र खेल व्यवस्थापन लगायत सम्पुर्ण तयारी भइसकेको छ । सातै प्रदेशका विभिन्न ५२ जिल्लाबाट महिला, पुरुष गरि करिब चार सय जना खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा क्युरोगी, होशिन्सुल, हाई फल, लङ फल र विपन टेक्निकको फरक-फरक तौलमा प्रतिष्पर्धा हुनेछ । शीर्ष तीन स्थान पाउने टोली, उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक, रेफ्री, अनुशासित खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ । उत्कृष्ट जिल्ला र उत्कृष्ट स्कुल डोजाङलाई पनि सम्मानित गरिनेछ । प्रतियोगिताको उद्घाटन असार २ गते बिहान ८ बजे कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री बीरबहादुर शाहीले गर्ने भएका छन् ।
खुलानजर । ३० जेष्ठ २०८१, बुधबार १७:५८