
सुर्खेत: एक समय नेपाली समाजमा ज्ञान, संस्कार र धार्मिक शिक्षाको प्रमुख केन्द्र मानिने गुरुकुल शिक्षा अहिले आधुनिक शिक्षाको विस्तारसँगै संकटमा परेको छ । विद्यालय शिक्षाको मूलधारमा अंग्रेजी, विज्ञान, गणित र प्रविधिको प्रभाव बढ्दै जाँदा वेद, पुराण, गीता र संस्कृत शिक्षामा आधारित गुरुकुल विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएको छ । तर कर्णालीका केही धार्मिक संस्था र समुदाय भने आफ्नै स्रोतसाधन जुटाएर गुरुकुल शिक्षाको अस्तित्व जोगाउने प्रयासमा छन् ।
सुर्खेतको पश्चिमी क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका-५ स्थिति शिवधाम गुरुकुल विद्यालय यसको एउटा उदाहरण देखिन्छ । शिवधाम मन्दिर व्यवस्थापन समितिले गाउँघरबाट बाली उठाएर गुरुकुल विद्यालय सञ्चालन गर्दै आएको छ । सरकारले उपलब्ध गराउने सीमित अनुदानले विद्यालयको नियमित खर्च धान्न कठिन भएपछि समितिले स्थानीयस्तरमा परम्परागत रूपमा चलिआएको बालीघरे प्रणालीलाई विद्यालय सञ्चालनको आधार बनाएको हो ।
विद्यालय सञ्चालनका लागि पञ्चपुरी नगरपालिका–२, ३, ४, ५ र ६ का घरघरबाट अन्नबाली संकलन गरिन्छ । समितिले प्रतिपरिवार निश्चित परिमाणमा बाली उठाउने गरेको छ । संकलित धान, गहुँ, मकैलगायत खाद्यान्न विद्यार्थीको खानाका लागि प्रयोग हुने गरेको विद्यालयले जनाएको छ । मन्दिरमा भक्तजनले चढाउने चामल, पिठो तथा भेटीसमेत विद्यालय सञ्चालनमा प्रयोग हुने गरेको छ ।
शिवधाम मन्दिर व्यवस्थापन समितिले २०६३ सालमा गुरुकुल विद्यालय गठन गर्ने प्रक्रिया अघि बढाएको थियो । २०७२ वैशाख ८ गतेदेखि विद्यालयमा औपचारिक रूपमा अध्ययन–अध्यापन सुरु गरिएको हो । साविक जिल्ला शिक्षा कार्यालय सुर्खेतले २०७३ सालमा विद्यालय सञ्चालनको अनुमति दिएको थियो । सुरुमा दुई कक्षासम्म सञ्चालन गर्ने अनुमति पाएको विद्यालयमा अहिले कक्षा पाँचसम्म अध्ययन हुँदै आएको छ ।
विद्यालयका प्रधानाध्यापक सुमित्रा कुमारी क्षेत्रीका अनुसार गुरुकुलमा विद्यार्थीलाई अध्ययनसँगै आवास, भोजन र धार्मिक संस्कारसम्बन्धी शिक्षा प्रदान गरिन्छ । विद्यार्थीलाई धर्मकर्मका लागि आवश्यक पर्ने धोती, गम्छालगायत सामग्रीसमेत विद्यालयले उपलब्ध गराउँदै आएको छ ।
‘प्रत्येक वैशाखमा विद्यार्थी भर्ना लिन्छौँ । उनीहरूलाई बस्ने, खाने र पढ्ने व्यवस्था विद्यालयमै हुन्छ,’ प्रधानाध्यापक क्षेत्रीले भनिन् , ‘गुरुकुल चलाउन स्थानीय समुदायको सहयोग महत्वपूर्ण छ । त्यसैले परिवारबाट बाली उठाउने गरेका छौँ ।’
गुरुकुलमा धार्मिक शिक्षासँगै आधुनिक शिक्षालाई पनि समेटिएको छ । बिहानको समयमा वेद, पुराण, गीता लगायतका धार्मिक ग्रन्थ पढाइन्छ भने दिउँसो सरकारी विद्यालयमा पढाइ हुने अंग्रेजी, गणित, विज्ञानलगायत विषय अध्यापन गरिन्छ । विद्यालयमा गुरुकुल नेपाली, गुरुकुल सामाजिकसहित विभिन्न विषय पढाइ हुने गरेको प्रधानाध्यापक क्षेत्रीले बताइन्।
बिहान ८ देखि ९ बजेसम्म धार्मिक ग्रन्थको अध्ययन गराइन्छ । त्यसपछि नियमित कक्षा सञ्चालन हुन्छ । यसरी धार्मिक संस्कार र आधुनिक शिक्षालाई एकै ठाउँमा जोड्ने प्रयास विद्यालयले गरेको छ ।
तर गुरुकुलमा विद्यार्थी संख्या भने न्यून छ । केही वर्षअघिसम्म बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने गरे पनि अहिले संख्या सीमित छ । विद्यालयमा सुर्खेतसहित दैलेख, अछाम र कैलालीबाट आएका विद्यार्थी अध्ययनरत छन् । कर्णालीका दैलेख, सुर्खेत र जाजरकोटका केही धार्मिक संस्था तथा गुठीमा गुरुकुल शिक्षाको अभ्यास अझै कायम रहेको बताइन्छ ।
प्रधानाध्यापक क्षेत्रीका अनुसार गुरुकुल शिक्षा पूरा गरेपछि शास्त्री, आचार्य लगायतका उपाधि हासिल गर्ने अवसर हुन्छ । त्यस्ता शिक्षाले ज्योतिष, आयुर्वेद तथा धार्मिक क्षेत्रमा काम गर्ने बाटो खोल्नुका साथै लोकसेवाका विभिन्न अवसरमा समेत उपयोगी हुने उनको भनाइ छ ।
तर समाजमा गुरुकुल शिक्षाप्रतिको आकर्षण घट्दै जाँदा यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ । विद्यालयमा दलित, जनजाति तथा पिछडिएका समुदायका बालबालिकालाई समेत अध्ययन गर्ने अवसर खुला राखिएको छ । तर अहिलेसम्म मुख्यतः ब्राह्मण, क्षेत्री र जनजाति समुदायका बालबालिका मात्रै अध्ययनका लागि आउने गरेका छन् ।
‘विद्यालयमा कुनै जातीय विभेद छैन । सबै समुदायका बालबालिकाका लागि ढोका खुला छ,’ क्षेत्रीले भनिन्, ‘तर अन्य समुदायबाट शास्त्रीय शिक्षा लिन आउने विद्यार्थी छैनन् । प्रचारप्रसारको कमीले पनि गुरुकुल ओझेलमा परेको छ ।’
।
यश विद्यालयमा १० जना विद्यार्थी अध्ययनरत छन् भने पाँच जना शिक्षक कार्यरत छन् । विद्यालयमा आमाबुवा गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई समेत अध्ययनको अवसर दिइएको छ ।
विद्यालयकी प्रधानाध्यापक सुमित्रा कुमारी क्षेत्रीका अनुसार विद्यालयमा १६ जना विद्यार्थी भर्ना भएका छन् । तर बर्खे बिदाका कारण केही विद्यार्थी घर गएकाले अहिले विद्यालयमा उपस्थित विद्यार्थीको संख्या १० जनामात्रै रहेको छ ।
आर्थिक रूपमा कमजोर तथा अभिभावकविहीन बालबालिकाका लागि गुरुकुल विद्यालय आश्रय र शिक्षाको माध्यमसमेत बनेको छ । तर यस्ता विद्यालयलाई राज्यको नियमित र पर्याप्त सहयोग नहुँदा दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।
अनुदानभन्दा ठूलो समुदायको भर
गुरुकुल विद्यालयले सरकारी अनुदानसमेत पाउँदै आएको छ । विद्यालयकाे भाैतिक संरचनाका लागि सरकारले एक केही रकम अनुदान उपलब्ध गराएपनि विद्यालयको नियमित खर्चका लागि उक्त रकम पर्याप्त छैन ।
विद्यालयमा पाँच जना शिक्षक, एक कार्यालय सहयोगी र एक जना भान्सेसहित सात जना कर्मचारी कार्यरत छन् । सीमित जनशक्ति र न्यून आर्थिक स्रोतका कारण विद्यालय सञ्चालनमा कठिनाइ हुने गरेको प्रधानाध्यापक क्षेत्रीले बताइन् ।
विद्यालयको भौतिक अवस्था पनि कमजोर छ । मन्दिर व्यवस्थापन समितिले वृद्धाश्रमका लागि निर्माण गरेको भवन र अन्य भवनमा अहिले कक्षा सञ्चालन भइरहेको छ । पर्याप्त फर्निचर, शैक्षिक सामग्री तथा प्रविधिको अभाव विद्यालयले झेलिरहेको छ ।
‘विद्यालयका लागि आवश्यक भवन र शैक्षिक सामग्री छैनन् । विद्यालयमा प्रयाेगात्मक कम्प्युटरसमेत छैन,’ क्षेत्रीले भनिन्, ‘विभिन्न अभावका बीच गुरुकुल शिक्षालाई निरन्तरता दिइरहेका छौँ ।’
पञ्चपुरी नगरपालिकाले पनि समग्र शिक्षा क्षेत्रको सुधारका लागि बजेट विनियोजन गर्दै आ एको छ । तर गुरुकुल शिक्षाका लागि छुट्टै बजेट भने विनियोजन गरिएको छैन । नगरपालिकाका प्रमुख लालबिर भण्डारीले भने गुरुकुल विद्यालयको संरक्षणका लागि सहयाेग गर्दै आएको बताए।
‘ओझेलमा परेको गुरुकुल विद्यालयलाई नगरपालिकाले संरक्षण गर्छ,’ उनले भने, ‘आवश्यकताअनुसार भवन निर्माणमा पनि सहयोग गरिएकाे छ ।’
कर्णालीका गुरुकुल शिक्षाको अवस्था पञ्चपुरीमा मात्रै सीमित छैन । यहाँका केही धार्मिक तथा सामुदायिक संस्थाले सीमित स्रोतमा यस्ता विद्यालय सञ्चालन गरिरहेका छन् । तर अधिकांशमा विद्यार्थी संख्या न्यून, आर्थिक स्रोत कमजोर र भौतिक पूर्वाधार अभाव साझा समस्या बनेको छ
कर्णालीमा गुरुकुल शिक्षा धार्मिक परम्परासँग मात्रै जोडिएको विषय होइन । यो संस्कृत, वेद, दर्शन, नैतिक शिक्षा र मौलिक ज्ञानको एउटा स्रोत पनि हो । आधुनिक शिक्षाको विस्तार आवश्यक भए पनि परम्परागत ज्ञान र संस्कृतिको संरक्षणका लागि यस्ता विद्यालयको भूमिका महत्वपूर्ण हुने शिक्षासम्बन्धी जानकारहरूको भनाइ छ ।
गुरुकुल शिक्षालाई आधुनिक शिक्षासँग जोडेर अघि बढाउन सके यसको सान्दर्भिकता अझ बढाउन सकिन्छ । पञ्चपुरीको गुरुकुलले धार्मिक ग्रन्थसँगै अंग्रेजी, गणित र विज्ञान पढाएर यसको सुरुआत गरिसकेको छ । तर यस्तो अभ्यासलाई संस्थागत गर्न सरकारको नीति, पर्याप्त बजेट, योग्य शिक्षक, भौतिक पूर्वाधार र प्रविधिको आवश्यकता देखिन्छ ।
अहिले कर्णालीमा गुरुकुल शिक्षाको अवस्था हेर्दा राज्यको प्राथमिकताभन्दा समुदायको प्रयासमा यसको अस्तित्व धानिएको देखिन्छ । कतै घरघरबाट बाली उठाएर विद्यार्थीको भोजन जुटाइएको छ भने कतै मन्दिरमा चढाइएको अन्न र भक्तजनको भेटीबाट विद्यालय सञ्चालन भइरहेको छ ।
आधुनिक विद्यालयमा करोडौँ रुपैयाँ लगानी भइरहँदा गुरुकुल विद्यालय भने न्यून सरकारी अनुदान र समुदायको सहयोगमा निर्भर छन् । यसले राज्यको शिक्षा नीतिमा परम्परागत तथा वैकल्पिक शिक्षाको स्थानबारे पनि प्रश्न उठाएको छ । गुरुकुललाई केवल धार्मिक शिक्षाको केन्द्रका रूपमा हेर्नेभन्दा संस्कृत, दर्शन, नैतिकता, संस्कृति र आधुनिक विषयको समन्वित शिक्षाको केन्द्रका रूपमा विकास गर्न सके विद्यार्थीको आकर्षण बढाउन सकिने विद्यालय सञ्चालकहरूको अपेक्षा छ ।
बाली उठाएर भए पनि गुरुकुल चलाइरहेका समुदायको प्रयासले एउटा महत्वपूर्ण सन्देश दिएको छ-परम्परागत शिक्षा आफैँ हराउँदै गएको होइन, त्यसलाई जोगाउने संस्थागत प्रयास कमजोर हुँदै गएको हो । समयमै राज्यले संरक्षण, स्रोत र आधुनिक व्यवस्थापनसँग जोड्न सके कर्णालीका गुरुकुल विद्यालयले मौलिक ज्ञान र आधुनिक शिक्षाबीचको पुलको काम गर्न सक्छन् । अन्यथा गाउँघरका केही परिवारले उठाएको बालीसँगै कर्णालीको गुरुकुल परम्परा पनि विस्तारै हराउँदै जाने जोखिम छ ।

खुलानजर । २५ भाद्र २०८३, बिहीबार ०९:०८