सुर्खेत: २०६१ जेठ १९ गतेको लेखिएको चिठी, असार २१ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१० ममता नगालाको हातमा पुग्योे । हुलाकबाट आएको त्यो चिठी कुनै सामान्य चिठी थिएन । सशस्त्र द्वन्द्वले देश लपेटिरहेको बेला त्यो चिठी उनका श्रीमान् कमल नगालले दाङको भालुवाङबाट लेखेका थिए । २३ वर्षीय कमल सशस्त्र प्रहरी बल त्रिपुरा गण दाङमा कार्यरत थिए । चिठीले ममताको मनमा गम्भीर हलचल मच्चायो । त्यसभन्दा पहिले नै ०६१ असार ५ गते कमलको माओवादीले दाङको धानखोलामा थापेको विद्युतीय धराप (एम्बुस) मा परेर मृत्यू भइसकेको थियो । असार ४ गते ममता ९ महिने छोरालाई काखमा च्यापेर दाङ गइन् । लास बोकेर सुर्खेत आई दाहसंस्कार गरिसकेकी थिइन् । घटना हुनुअघि पठाइएको चिठी पछि पाउँदा उनलाई पीडामाथि पीडा भयो । विवाह गरेको चार वर्षमा नै एकल हुनुको पीडा ममतालाई थियो नै तर, मृत्यु अघि लेखिएको चिठी पछि पाएपछि उनी भावविहिल भइन् । जागिर खाएको दुई वर्षमा नै कमलको मृत्यूपछि ममतामाथि पारिवारिक जिम्मेवारी बढ्यो । जागिर अवधिमा एक पटक मात्रै कमल घर आएका थिए । आठ कक्षामा पढ्दै गरेकी ममतालाई नाबालक छोराको पालनपोषणको जिम्मेवारी थपियो । कमलले चिठीमा लेखेका थिए, ‘बाध्यता र विवसताले जागिरमा छु । घरको सम्झना भैरहन्छ । छोराको हेरचाह राम्रोसँग ख्याल गर्नु । म छिट्ुटै घर फर्किने आशामा छु ।’ तर त्यो आशा चुँडिसकेको थियो । त्यो चिठी ममतालाई कमलसँगको अन्तिम संवाद जस्तै बनायो । ‘चिठी पाएपछि दाहसंस्कार गरिसकेको व्यक्ति फेरि कतैबाट आउँछ की जस्तो लाग्यो । उहाँसँग कुरा भएको थिएन । त्यो चिठीले प्रत्यक्ष कुरा गरेजस्तो लाग्यो,’ ममताले भनिन्, ‘अहिले पनि त्यो चिठी हेर्दा कमलको आवाज सुनिए जस्तै लाग्छ । चिठी हेर्दा अझै पनि छाती भक्कानिन्छ । उनले लेखेका शब्दहरू मेरो हृदयमा गडेर बसेका छन् ।’
सशस्त्र द्वन्द्वले ममता जस्ता हजारौं महिला र परिवारहरुको खुसी लुटिएको छ ।
समाजिक क्षेत्रमा अग्रसरता
कमल नगालको मृत्यु सँगै ममताको जीवनमा अध्याँरो पस्यो । घरको जिम्मेवारी, छोराको भविष्य, र भावनात्मक पीडाले उनी दिनरात थिचिइन् । राज्यको तर्फबाट केही आर्थिक राहत आयो, तर श्रीमानको अनुपस्थितिले क्षतिपूर्ति कहिल्यै पुरा हुन सकेन । जीवनमा एकल हुनुको पीडा त छँदै छ । त्यसमा पनि ममताले हार खाइनन् । उनी सामाजिक क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आइरहेकी छन् । उनले २०६३ सालमा वडा नागरिक मञ्चको संयोजक, सामुदायिक मेलमिलापकर्ता, न्यायाका लागि द्वन्द्वपीडित समाज, सशस्त्र प्रहरी परिवार संघको केन्द्रीय सचिवसम्म बनेर काम गरिन् । ममता अहिले मानव अधिकारका लागि महिला एकल महिला सुर्खेतको अध्यक्ष, द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालको सुर्खेतकी संयोजक छन् । हिंसापीडित महिला, बालबालिका, एकल महिला र असहायका क्षेत्रमा उनले लामो समयदेखि काम गर्दै आएकी छन् । उनकै नेतृत्वमा सुर्खेतमा एकल महिला छहारी स्थापना भयो । जहाँ हिंसापीडित महिला, बालबालिका र विपद्बाट पीडितले आश्रय लिन्छन् । भर्खरै मात्रै ममताकै नेतृत्वमा कर्णालीको पहिलो सुर्खेत पिस ग्यालरी तथा स्मारिक निर्माण गरिएको छ । जहाँ द्वन्द्वका समयमा भएका घटनाहरु र तयससँग सम्न्धीत तस्बिरहरुको विस्तृत विश्लेषण गरिएको छ । उक्त ग्यालरीलाई अध्ययन केन्द्रका रुपमा अगाडी बढाइएको छ । जहाँ द्वन्द्वसँग सम्बन्धीत १०७ वटा फोटो, समाचार, अनुभव र दस्तावेजहरु छन् । क्रमस यसमा वृद्धि गरिने उनले बताइन् । अध्ययन केन्द्रमा विश्वविद्यालय, विभिन्न विद्यालय र अनुसन्धानकर्ताहरुले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।
उनले द्वन्द्वपीडत त्यसमा पनि महिलाको क्षेत्रमा कार्यक्रम, न्यायाको लागि सांकेतिक आन्दोलन र उनीहरुको अधिकारका लागि सरकारसँगे संवाद समेत गर्दै आइरहेकी छन् ।
‘मेरो श्रीमान द्वन्द्वकालमा शहीद हुनुभयो । त्यसपछि न मैंले सत्य निरुपण तथा मेलमिलाप आयोगबाट न्याय पाएँ नत, सरकारले वाचा गरेजस्ता राहत र पुनःस्थापनाका कार्यक्रमहरू भए,’ ममताले भनिन्, ‘राज्यले हामीलाई कागजमा मात्र चिनेको छ । मैले राज्यबाट जवाफ पनि पाएका छैनौं ।’
सरकार, आयोग र राजनीति गर्नेहरू बदलिएपनि श्रीमानले पठाएको त्यो चिठी यथावत् रहेको उनको भनाई छ । ममताले छोरालाई स्नात्तकसम्मको अध्ययन गराइरहेकी छन् । उनी आफैपनि स्नात्तक अध्ययन गरिरहेकी छन् ।
देशभर ६३ हजार ७१८ घटना दर्ता
सत्य निरुपण तथा मेलमिलाप आयोगको वार्षिक प्रतिवेदन २०८०-०८१ का अनुसार देशभर ६३ हजार ७१८ घटना दर्ता भएका छन् । जसमध्ये कर्णाली प्रदेशबाट सबैभन्दा बढी १६ हजार २०९ घटनाहरु दर्ता भएका छन् ।
मानव अधिकारको क्षेत्रमा काम गरिरहेको अनौपचारिक क्षेत्र सेवा (इन्सेक) कर्णाली प्रदेशका अनुसार कर्णालीबाट तत्कालीन राज्य र विद्रोही पक्षबाट अपांगता, बेपत्ता र हत्या गरिएका ३ हजार २३६ जनाका परिवार र पीडितहरू राज्यसँग न्याय, सत्य, तथ्य र परिपुरणको माग गरिरहेका छन् । जसअनुसार सल्यानमा २८१ जना, रूकुमपश्चिममा ५ हजार ६५ जना, सुर्खेतमा ३६६ जना, जाजरकोटमा ४५० जना, दैलेखमा ३०९ जना, डोल्पामा ५८ जना, जुम्लामा २९८ जना, कालिकोटमा ६९० जना, मुगुमा ८८ जना र हुम्लामा १३१ गरी ३ हजार २३६ जना द्वन्द्वपीडित छन्। त्यसमध्ये ४३२ जना अपांगता, ९९ जना बेपत्ता र २ हजार ७०५ जनाको दुवै पक्षबाट हत्या गरिएको छ । यता, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ कर्णाली प्रदेशका १० जिल्लाबाट २३८ वटा उजुरी छन् । सरकारले बेपत्ता परिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ ल्याई पदाधिकारी छनौट प्रक्रिया अगाडि बढाइसकेको हुँदा न्याय पाउने आशामा द्वन्द्वपीडित छन् । उनीहरूले सरकारसँग मुख्यतः न्याय, पुर्नस्थापना र जीविकोपार्जनको अवसरको माग गर्दै आएका छन् ।
कमलले चिठीमा यस्तो लेखेका थिए
२०६१।२।१९
‘प्राण प्रिय प्यारी श्रमिती ज्यू,
मुटुभरीको माया अनि मिठो सम्झना प्रिय जीवन साथी, म यहाँ आरामै छु । तिमी र छोरा पनि आरामै छौं भन्ने आशा लिएको छु । देशको अवस्था अनी मेरो बाध्यता चिठी लेख्नुको खासै कारण त केही थिएन । तर, आमाछोराको सम्झनाले हरपल हरक्षण सताइरहन्छ । सुनेको थिएँ गाउँतिरबाट घरमा निकै ठुलो समस्या छ । भनेर सायद, आज म त्यहाँ भएको भए । तिमीलाई त्यसरी बस्नुपर्ने थिएन होला । रहर भनौं या बाध्यता समय सधैं एकैनास नहुने रहेछ । सपना हजारौं महल, जीवनका हजारौं सपना चाहाना पुरा गर्नका लागि तिमीलाई र छोरालाई सहज बनाउन म आज यहाँ छु । माया मैैले कुनै चाहाना पुरा गर्न सकेको छैन । तरपनि कुनै दिन समय आउँछ भन्ने आशा पनि गरेको छु । कहिल्यै दुःख नदिने अठोट पनि राखेको छु । सबै कुरा सोचेको जस्तै हुँदैन । कहिलेकाहिँ लाग्छ मेरा पनि बुझ्ने बा र आमा भइदिएको भए मेरो घर परिवार कस्तो हुन्थ्यो होला । म मन नपर्दा नपर्दै पनि तिमीले आफ्नो परिवार, बाआमाको इज्जतका लागि सबै चाहानाहरु तिलाञ्जली दिएकी छौ । थाहा छ मायाँ सासु ससुरा सबैलाई सम्झना सुनाइदिनु । भगवानरुपी मेरा ससुरा मेरो कारण दुःख पाएका मेरा छोरा श्रीमतीलाई जसरी सहयोग गर्नुभएको छ । कुनै दिन म असल ज्वाईं बनेर देखाउने छु । प्यारी माया तिमीले केही चिन्ता नलिनु आफु र बच्चाको ख्याल गर्नु, हुन त म भन्दा धेरै बुझ्ने मेरी माया छौं । म तालिममा आइसकें मैले आउँदा चिठी लेखेको थिएँ । त्यसको जवाफ पठाएनौं । अर्को महिना मेरो तालिम सकिएपछि तिमीहरुलाई पनि बोलाउने सोचेको छु । नौबस्ताबाट तिमीलाई घर पठाउने मनै थिएन । तिमी हतार गरेर घर समाज भनेर गयौ । आखिर जानासाथ के भयो, कसरी तिमीलाई छुट्टै पारे सबै लेखेर पठाउनु । अनि छोरालाई पनि सन्चो थिएन रे, डाक्टर अंकलले औषधी गरेर सञ्चो बनाउनुभयो भन्ने सुनें । मलाई पनि बाध्यता थियो पैसा सबै बुवालाई पठाएको थिएँ । तिमीलाई पठाउन सकिन सबै कुरा अब मिलाउँछु । म यहाँ बोलाउन खोजेको छु । वहाना बनाउन पाउने छैनौं । गाउँघर तिर सबैलाई सम्झेको छ भनिदिनु । बाहिर कतै जाँदा ख्याल गर्नु । बाईबाई अर्को भेटमा उही तिम्रो मनमुटु कमल’
जगतदल । २३ बैशाख २०८२, मंगलवार ०७:१९