बाबियाचौर खानेपानी देशकै नमूना हो: मन्त्री विसी

सुर्खेत : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले बाबियाचौर खानेपानी आयोजना देशकै नमूना रहेको बताए । शनिबार बावियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १४ औं वार्षिक साधारण सभाको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।
‘अहिले देशका ठुला–ठुला आयोजनाको अवस्था दयनीय छ । त्यहाँ र यहाँको तुलना गर्दा यो देशकै नमूना आयोजना हो भन्न लोभ मान्नु हुँदैन,’मन्त्री विसीले भने, ‘यसको दिगोपना र नागरिकको परिपूर्तिका लागि आयोजनाले गरेका काहरु प्रशंसा योग्य छन् ।’
मन्त्री विसीले खाने नागरिकलाई संविधानले नै शुद्ध खानेपानीको अधिकारलाई सुनिश्चिता गरेको भन्दै त्यसको पालना बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरेको बताए ।
१४ सय ७० घरमा धारा जोडिएपनि आयोजनाको क्षमता तीन हजार धारा २४ सै घण्टा रहेको बाबियाचौर खानोपनी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जीवन ढंगानाले बताए ।
‘बढ्दो शहरीकरणसँगै खानेपानीको संकट हुन थालेपछि ०७२ सालमा साना सहरी खानेपानीको अवधारणाबाट हामीले आयोजना सम्पन्न गरेर नागरिकको घर–घरमा खानेपानी २४ सै घण्टा पुर्याएका छौं,’उनले भने, ‘आयोजनाको दिगोपनाका विषयमा हामीले काम गरिरहेका छौं ।’

साधारण सभामा आर्थिक वर्ष २०७९-०८० मा दुई करोड पाँच लाख ४१ हजार ७३१ रुपैयाँ ४६ पैसाको आयव्यय प्रस्तुत गरिएको छ । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालविर भण्डारीले नगरमा खानेपानीको अभावलाई समितिले पुरा गरेको भन्दै खुसी व्यक्त गरे ।
त्यस्तै नगरपालिकाका निवर्तमान नगरप्रमुख उपेन्द्रबहादुर थापाले खानेपानीमा समितिले उदाहरणीय काम गरेको बताए ।
नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतले अन्य ठाउँका आयोजनाले बाबियाचौर खानेपानी उपभोक्ता समुहको जस्तो काम गर्न सकेमात्रै पानीको अभावबाट छुटकरा पाउन सकिने बताए । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले बाबियाचाैर खानेपानी समितिले उदाहरणीय काम गरेकाे भन्दै यस्ताे कामकाे अभ्यास अन्य संघ संस्था र संगठनले अवलम्बन गर्नुपर्नेमा जाेड दिए । त्यस्तै नेकपा एमालेका नगर अध्यक्ष धनबहादुर थापाले आयोजनाले ग्राहकलाई डिजिटल सुविधा दिएकोप्रति खुसी व्यक्त गरे । कार्यक्रममा नेकपा समाजवादीका नेता दिपबहादुर नेपाली, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
२०३९ सालदेखि २०७१ सालसम्म केही सिमित मुहानबाट पानी ल्याएर गाउँमा धारा बाँडिएको थियो । पानीको अभावलाई मध्यनजर गर्दै २०७२ सालबाट साना सहरी खानेपानी ल्याइएको छ । जहाँ पानीको मुहान चिसो मेला, भ्यागुत्ते खोला क र ख गरी तीन मुहानबाट दुई सय, एक सय ६० र एक सय घनमिटरका ट्याङ्कीमा पानी खसालिएको छ ।