सुर्खेत: नेपाल कम्युनिस्ट पार्टी एमाले सुर्खेतकाे ९५ सदस्यीय जिल्ला सल्लाहकार परिषद् गठन गरिएको छ ।
सुर्खेतका ९ वटै पालिकाबाट प्रतिनिधित्व हुनेगरी कृष्णदेव गिरीकाे संयाेजकत्वमा सल्लाहकार परिषद् गठन गरिएको हाे । आइतबार स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परिषदका सदस्यहरुलाई पद तथा गाेपनियताकाे शपथ खुवाएका हुन् । उनले पार्टीको विधानमा भएको व्यवस्था अनुसार सल्लाहकार परिषद् गठन भएको भन्दै सल्लाहकार समितिकाे भूमिका महत्त्वपूर्ण रहने बताए । मुख्यमन्त्री कँडेलले कमिटीकाे गतिविधि र निर्णयमा समेत सल्लाह दिन सकिने भएकोले गतिशील भएर काम गर्न सुझाव दिए ।
एमालेका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्लाका इन्चार्ज नवराज रावतले सल्लाहकार परिषद् एउटा सम्मानसँगै वडादेखि क्षेत्रसम्मका समितिलाई चलायमान बनाउनुपर्नेमा जाेड दिए । उनले पद सानाे नहुने भन्दै पार्टीमा अधिकांश व्यक्ति सानै पदबाट आएकाेले सम्मानलाई क्रियाशीलतामा ढाल्नुपर्ने बताए ।
एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले एउटै कमिटीमा अटाउन सक्ने अवस्था नभएपछि पार्टीले विधानमा नै याेगदान गरेकाेहरुकाे सम्मान र पार्टीलाई थप चलायमान बनाउन परिषद्ले याेगदान गर्ने बताए । अध्यक्ष देवकोटाले वार्षिक कार्ययाेजनामा थप सहज हुने भन्दै आजकाे आवश्यकतालाई संगठित रुपमा अगाडि बढाउन पार्टीकाे मुख्य उद्देश्य रहेकाे बताए ।
एमाले सुर्खेतका उपाध्यक्ष माेहन बडुवालले परिषद् गठन भएसँगै पार्टीले महत्त्वपूर्ण अपेक्षा राखेकाे बताए । सल्लाहकार परिषदका संयाेजक कृष्णदेव गिरीले परिषद्लाई चलायमान बनाउनेगरि याेजना बनाएकाे र पार्टीलाई थप उचाइमा पुर्याउने प्रतिवद्दता व्यक्त गरे ।
खुलानजर । २३ मंसिर २०८१, आईतवार २०:३७