कर्णालीका चार नेताको केन्द्रीय यात्रामा तीव्र प्रतिस्पर्धा


सुर्खेत: नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही पुस २६–२८ गते हुँदैछ । मिति नजिकिँदै जाँदा कर्णाली प्रदेशका नेताहरू केन्द्रीय नेतृत्वमा प्रवेश गर्ने सम्भावनाका बारेमा चासो बढेको छ । स्थानीय तहदेखि प्रदेश नेतृत्वसम्म सक्रिय कर्णालीका नेताहरू आगामी केन्द्रिय टोलीमा कति प्रभाव पार्न सक्छन् भन्ने प्रश्न अहिले प्रदेशभित्रको मुख्य राजनीतिक बहस बनेको छ ।
महाधिवेशनले देउवा–शेखरबीचको द्वन्द्व पुनः तीव्र हुने अनुमान गरिँदैछ । देउवा विद्यानत दोस्रो कार्यकाल सभापति उठ्न नपाउने भएपछि उनले शेखरको विपक्षमा कसलाई अघि सार्छन् भन्ने विषय चासो बनेको छ । यही समीकरण कर्णालीमा पनि जस्ताको त्यस्तै भएको छ । सुर्खेतका दुई अनुभवी नेतापूर्णबहादुर खड्का र हृदयराम थानी नेतृत्व दौडमा केन्द्रमा समेत चासोको विषय बनेका छन् भने युवा पुस्ताबाट भूपेन्द्रजंग शाहीको उछालले प्रतिस्पर्धा थप रोचक बनेको छ । जीवनबहादुर शाही पनि समावेशी कोटाबाट बलियो दाबीदार मानिँदै आएका छन् ।
कर्णालीमा कांग्रेसको संस्थापन पक्षका निर्विवाद नेता पूर्णबहादुर खड्कौ सभापतिको मुख्य दौडमा छन् । देउवा समूहले प्रत्यक्ष रूपमा उनलाई उत्तराधिकारीका रूपमा अघि सारिरहेको बताइन्छ । लामो राजनीतिक अनुभव, संगठनगत पकड र मन्त्री–महामन्त्रीदेखि सहमहामन्त्रीसम्मको यात्रा खड्कालाई केन्द्रमा बलियो बनाउने तत्व मानिन्छ । विगतमा पटक–पटक पार्टीको कठिन समय सम्हालेका खड्का कर्णालीमा मात्र होइन, केन्द्रमा पनि ‘भरोसाका नेता’ मानिन्छन् । यतिबेला सुर्खेत–१ बाट सिफारिस भइसकेर उनी महाधिवेशन प्रतिनिधि छनोटमै एकल उम्मेदवार बन्ने निश्चित जस्तै देखिन्छ । कर्णालीका बहुसंख्यक नेताहरूको धारणा पनि यही छ—यो पटक सभापति कर्णालीकै हातमा जाने सम्भावना बलियो छ ।
कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाही पनि यस पटक केन्द्रिय पदाधिकारीमा दाबी गरिरहेका छन् । १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा पराजित भए पनि प्रदेशको लोकप्रियता, पहिचान र समावेशी कोटामा उनको बलियो उपस्थितिले यस पटक पदाधिकारीमा उनकै नाम अगाडि रहेको छ ।
उनका निकटतम नेताहरू भन्छन्—‘कर्णालीबाट पदाधिकारीमा जाने उचाइका नेता जीवनबहादुर नै हुन्, उनी कांग्रेसको समावेशी संरचना बलियो बनाउन सक्षम छन् ।’ शाही सभापति बाहेकका पदमा लड्ने तयारीमा छन्, र खड्का–शाहीको समीकरण मिल्यो भने कर्णालीबाट दुबै नेताको पदाधिकारी प्रवेश सम्भावित देखिन्छ । शेखर कोइराला समूहबाट कर्णालीमा सबभन्दा सक्रिय नेता पूर्वमन्त्री हृदयराम थानी नै हुन् । १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए पनि उनको संगठनगत पकड, इमानदार छवि र ‘स्ट्रेट–फर्वार्ड’ प्रवृत्तिले थानीलाई इतर पक्षको प्रमुख नेतृत्वमा राखेको छ ।
थानी आफू पनि पदाधिकारीमा जाने संकेत गरिसकेका छन् । प्रतिनिधि छनोटपछि पद टुङ्ग्याउने उनको रणनीतिलाई इतर समूहले समर्थन गरिरहेको छ । दैलेखका कांग्रेस नेता नारायण रेग्मी भन्छन्—‘शेखर पक्ष कर्णालीमा बलियो छ । प्रतिनिधि छनोटमा पनि ठोस उपस्थित रहनेछ । थानी दाइलाई उचित पद दिनुपर्छ भन्ने हाम्रो धारणा छ ।’ शेखर कोइराला सुर्खेत आएका बेला देखिएको शक्ति प्रदर्शन पनि यही समूहको शक्तिको संकेत मानिएको छ ।
त्यस्तै युवा पुस्ताबाट महामन्त्रीमा नै दाबी गर्ने तयारीमा कालिकोटका भूपेन्द्रजंग शाही छन् । तरुण दल, नेविसंघ हुँदै केन्द्रमा लोकप्रियता कमाएका उनी निरन्तर संगठन निर्माण, संवाद र कार्यक्रममार्फत देशभर चहचहाट बनाएका युवा नेता हुन् । भूपेन्द्रजंगले हालै ‘कांग्रेस रूपान्तरण अभियान’ र ‘संगठन सुदृढ यात्रा’ मार्फत मेचीदेखि महाकाली र सल्यानदेखि हुम्लासम्म पैदल अभियान गरेका थिए । उनी सांगठनिक सक्रियता, स्पष्ट वक्तृत्व र युवामैत्री धारणा राख्ने नेताका रूपमा परिचित छन् । ‘दाबी महामन्त्रीसम्म छ, आवश्यक परे सहमहामन्त्रीसम्म पनि लड्छु,’उनले भने ।
कर्णालीका विभिन्न गाउँबस्तीमा भइरहेको उनको सक्रियता इतर पक्षलाई ऊर्जा दिएको देखिन्छ ।

कर्णालीको सम्भावना के ?

यस पटक कर्णाली प्रदेश कांग्रेसले केन्द्रमा कम्तिमा दुई पदाधिकारी लैजाने विश्वास धेरैको छ । सभापतिमा खड्काको सम्भावना सबल छन् । समावेशी कोटामा जीवनबहादुरको दाबी मजबूत नै छ । इतर पक्षबाट थानी वा भूपेन्द्रमध्ये एकजना पदाधिकारीमा अट्न सक्छन् सम्भवनालाई पनि नकार्न सकिदैन ।
महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वको उभार, अन्तर–पक्षीय प्रतिस्पर्धा र सम्भावित गठबन्धनले कर्णालीलाई यस पटक काठमाडौंको राजनीतिक केन्द्रमा महत्वपूर्ण शक्ति बनाइदिएको छ । कर्णालीका नेता, कार्यकर्ता र प्रतिनिधिहरूका लागि यो महाधिवेशन भविष्यको दिशानिर्देशक अवसर बन्ने विशेषज्ञहरूको आकलन छ ।