सुर्खेत : लम्की “महिलामैत्री शहर : नेपालमा समावेशी र जलवायु उत्थानशील शहरीकरण” परियोजना अन्तरगत लम्कीचुहा नगरपालिकामा क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यशालामा नगरपालिकाको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत जलवायु उत्थानशील र समावेशी शहर निर्माण प्रक्रियाको सवलीकरणबारे प्रस्तुतिकरण र समूहगत छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी उप-प्रमुख जुना चौधरीले महिलामैत्री समावेशी शहर बनाउने अवधारणा कार्यान्वयनमा नगरपालिका प्रतिवद्ध रहेको बताइन्। शहरलाई समावेशी बनाउनुको विकल्प नरहेको भन्दै उहाँले त्यसका लागि नगरपालिकाले संरचनाहरु निर्माण गर्दा समावेशीतालाई मध्यनजर गर्ने प्रतिबद्धता व्यक्त गरिन्। लम्कीचुहा नगरपालिकाका स्थानीय जनप्रतिनिधि, कर्मचारीसँगै विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम, नगरपालिकाका उप-उप्रमुख जुना चौधरीको प्रमुख आतिथ्यता एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत माधव कुमार जैशीको सभापतित्वमा सम्पन्न भएको थियो। अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग निकाय (युएसएड) र युरोपेली संघ (युरोपियन युनियन) को संयुक्त वित्तीय सहयोग, युएनह्याबिट्याट, युएनओपिएस र सिटी अलायन्सको सहकार्यमा र सुन्दर नेपाल सस्था सुर्खेतको साझेदारीमा सञ्चालित महिलामैत्री शहर परियोजना कैलालीको लम्कीचुहा नगरपालिकामा सञ्चालित छ। परियोजनाले नगरपालिकाहरूमा जलवायु उत्थानशील शहरी विकास योजना तर्जुमा, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, लैङ्गिक मूलप्रवाहीकरण र समावेशीता, समावेशी शहरी खुला क्षेत्र निर्माण तथा व्यवस्थापनसँगै जलवायु परिवर्तनमैत्री सार्वजनिक स्थलहरूको माग बढाउने र शहरीकरण योजना निर्माण क्षमताको अभिवृद्धी गर्ने लक्ष्य राखेको छ।
खुलानजर । ९ भाद्र २०८१, आईतवार २२:२७