जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेत: जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाकाे सहयाेग तथा समाज रुपान्तरणका लागि महिला अभियान केन्द्र वडा नम्बर १० काे आयाेजनामा कार्यक्रम सम्पन्न गरिएको हाे । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्काेटाले यस्ता कार्यक्रमका लागि पहिले नै बजेट माग गर्नुपर्ने बताए । उनले यस्ता कार्यक्रमकाे माग भए नगरपालिकाले समेट्ने प्रतिवद्दता व्यक्त गरे । उपप्रमुख निलकण्ठ खनालले आफु दलितमैत्री भएको भन्दै अन्य कार्यक्रममा सहयाेग गर्ने बताए ।
केन्द्रकी अध्यक्ष लक्ष्मी विकले समाजमा रुढीबादी परम्पराकाे अन्त्य सचेतनाका माध्यमबाट गर्न आवश्यक रहेकाे बताइन् । उनले छुवाछूतको अन्त्य गरी विभेदमुक्त समाजकाे निर्माण गर्नुपर्ने बताइन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय खड्काले जातिय छुवाछूतको हदम्याद तथा कानुनी व्यवस्था सम्बन्धी प्रस्तुिकरण गरेका थिए । अधिवक्ता नवराज चाैलागाईले कानुनी व्यवस्था र दण्डफसजायकाे विषयमा जानकारी गराएका थिए ।


कर्णाली प्रदेश सभाकी पुर्व सांसद राजु नेपालीले विभेदकाे स्वरुप फेरिएको भन्दै जनप्रतिनिधिले समेत विभेद भाेग्दै आएकाे बताइन् । कार्यक्रममा दलित र गैरदलित समुदायका ८६ जनाकाे सहभागीता रहेकाे थियाे ।
२०७९ मा दर्ता भएको संस्थाले जातीय विभेद र छुवाछूत न्यूनीकरण सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएकाे छ ।