सुर्खेत: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धात्मक र सूचना प्रविधिको युगमा शिक्षा युगस्तरीय र गुणस्तरीय हुन नसके समग्र मुलुक नै पछि पर्ने बताएका छन् । शुक्रबार सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका हुन् । ‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन । र, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ,’उनले भने ।
मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अबौँ पुँजी विदेश पलायन हुनु चिन्ताजनक रहेको बताए । उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा पुगेका देशका कर्णधारको व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तिलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले मुलुकमा रहेका विश्वविद्यालयले समयानुकूल विषय र कार्यक्रमका माध्यमबाट शिक्षा लिनैका लागि विदेसिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । ऐन, नियम र कार्यव्यवस्था प्रणालीअन्तर्गत रही आफ्नो शैक्षिक, प्राज्ञिक स्वतन्त्रताको बुद्धिमत्तापूर्ण उपयोग गर्दै सरकारसँग सहयोग लिने र आवश्यकताका आधारमा निजी प्रतिष्ठानहरूलाई उच्च शिक्षा प्रदानको गतिलो साझेदार बनाएर जान सकेमा उच्च शिक्षामा सरकारले राखेको अपेक्षा र विश्वविद्यालय स्थापनाको उद्देश्य पूरा हुन्छ,’ ओलीले भने ।
शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग रहेको उनले बताए । दीक्षित भएका विद्यार्थीलाई ओलीले आफ्नै देशमा नवीनतम् काम गर्नुपर्ने बताए ।
खुलानजर । २३ फाल्गुन २०८१, शुक्रबार १५:३९